नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने बामपन्थी सरकारले मनी लाउण्डरिङ (सम्पत्ति शुद्धीकरण) सम्बन्धी नीतिमा परिर्वतन गर्न सक्ने संकेत गरेका छन।
ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा हाल नेपाल सरकारले लिइरहेको नीतिमा कमजोरी रहेको उदाहारण प्रस्तुत गर्दै अण्डरग्राउण्ड मनी बाहिर ल्याउन राज्यले सहयोगी भूमिका निभाउनु पर्नेमा जोड दिएका छन।
हाल सम्मको सरकारले लिएको नीति 'मुसा निस्कने दुलोमा पाँसो थापे जस्तो' मात्रै भएको प्रतिक्रिया दिंदै ओलीले यसबाट लुकाएर राखेको कालो धन बाहिर नआउने बताए।
नेपाल चेम्बर अफ कमर्सका नवनिर्वाचित पदाधिकारीहरुलाई सोमबार पार्टी कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै ओलीले सम्पति शुद्धीकरण प्रक्रियामा अहिलेसम्मको सरकारले लिएको नीति ठिक छ कि छैन भनेर प्रश्न समेत गरेका छन।
भावी प्रधानमन्त्रीका रुपमा समेत हेरिएका ओलीले अब बन्ने सरकारले ब्यवसायी तथा उद्योगीहरुको माग अनुसार एकपटकका लागि स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने संकेत गरेका छन। ओलीले अण्डरग्राउण्ड मनीलाईलाई कर तिराएर शुद्धीकरण गर्न सकिने प्रस्ताब समेत राखेका छन।
‘मनी लाउन्डरिङ भनेको जसले पैसा निकाल्छ, त्यसलाई समाउने मात्रै होइन, यो लाउन्डरिङ नै भएन ।’ ओलीले भने, ‘लुकेको पैसा इन्भेस्टमेन्टमा लाग्न सकोस् । आइडल बसेकाले रोजगारी सिर्जना गर्न सकोस् । यसमा अलिकति सोच्नु पर्ला कि ?’
सरकारले कर लिएर एउटा कट अफ प्वाइन्टलाई आधार मानेर अण्डरग्राण्ड मनीलाई शुद्धीकरण हुन दिनु पर्नेमा जोड दिंदै ओलीले यस्तो नगरीए यो पैसा क्यासिनो जस्ता ठाउँमा प्रयोग हुनेमा सचेत गराए। 'देश विकासलाई ध्यानमा राखेर अण्डरग्राण्डको पैसा सर्फेसमा आउन दिनु पर्छ, कर लिएर कालोधनलाई 'लेगलाइज्ड' गरि विकासमा लगाउन तर्फ सोच्ने कि' ओलीले भने।