धितोपत्र बोर्डका अध्यक्ष कार्कीले १३ दिनकाे मृत्यु संस्कार ५ दिनमै सिध्याए

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 28, 2018 | 04:46:56 PM मा प्रकाशित

laxmi  sunrise bank

परम्परादेखि १३ दिनसम्म गरिँदै आएको मृत्युसंस्कार ५ दिनमा सिध्याउने क्रम बढ्न थालेको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले फागुन ११ गते शुक्रबार ८७ वर्षीय आमा राधादेवी कार्कीको निधन भएपछि ५ दिनमै काजक्रिया सकेका हुन। 

ओखलढुंगाको माम्खाली गाउँका मुडुला कार्की समाजको सचिवसमेत रहेका अध्यक्ष कार्की र ८८ वर्षीय पिता पनि ५ दिनमै क्रिया सक्न सहमत भएकाले काजक्रिया छोट्याउन सहज भएको हो। ५ दिनमा काम सक्न तीनै जना दाजुभाइसमेत राजी भएका थिए ।

मानिसको आयु बढेर क्रिया बस्नेको उमेर पनि धेरै हुने भएकाले बढी उमेरका मानिसलाई क्रिया बस्न गाह्रो हुने भएकाले धर्मको मर्म नमासिने गरी संस्कारलाई सुधार गर्दै लैजानु अध्यक्ष कार्कीको भनाइ छ ।   

कार्की सचिव रहेको कार्की समाजले सदस्यका बीच एक वर्ष छलफल गराई संस्थागत रुपमा ५ दिनमा मृत्यु संस्कार सक्ने निर्णय गरेको हो। कोही बन्धुले १३ दिन नै लगाएर गर्न चाहेमा गर्न सक्ने गरी व्यवस्था गरिएको कार्कीले बताए। एक वर्षसम्म सेतो पहिरन पनि स्वेच्छिक गर्ने कार्की समाजको निर्णय छ ।

५ दिनमा क्रिया सक्ने पुरोहित लेखनाथ दाहाल पनि सहमत भई १३ दिनका सबै कर्म ५ दिनमा सकिएको हो । पुरोहित दाहाल यसअघि आफूले पूर्वमन्त्री तेजबहादुर थापाको काजक्रिया पनि ५ दिनमै सकेको बताउँछन् ।

'मैले १४ वर्षदेखि पुरोहितको काम गर्दै आएको हुँ । आजसम्म धेरैको काजक्रिया १३ दिनमै गरेँ । ५ दिनमा ६ जनाको क्रिया कर्म सकेँ । मैले ११ हुँदा १२ महिना लगाएर क्रिया गरेको पनि देखेको थिएँ । समयसँगै मृत्युसंस्कार पनि परिवर्तन हुनुपर्छ' उनले भने ।

यसअघि गोरखाका देवकोटा समाजले पनि मृत्युसंस्कार ५ दिनमा सक्ने संस्थागत निर्णय गरिसकेको छ । देवकोटा समाजले निर्णय गरेपछि पूर्वमन्त्री राजेश्वर देवकोटाको मृत्युसंस्कार पनि ५ दिनमा सकिएको थियो ।

वि.सं. २०७२ मा संस्कार सुधार समाज स्थापना भई ५ दिनमा काजक्रिया सक्ने अन्त्य पद्धतिसमेत प्रकाशन भएको छ । समाजका अध्यक्ष शंकरप्रसाद पोखरेल १३ दिनमा गरिने कर्म केही पनि नघटाई ५ दिनमा काजक्रिया सक्ने गरी शास्त्रसम्मत रुपमा पुस्तक प्रकाशन गरिएको दाबी गर्छन् ।

५ दिनमा क्रियाकर्म सक्ने पद्धति प्रकाशन भएको दुई वर्षपछि नेपाल प्रज्ञा प्रतिष्ठानले ३ दिनमै सिध्याउने गरी छलफल शुरु गरेको छ । एक वर्ष अघि प्रतिष्ठान र राष्ट्रिय जनसांस्कृतिक प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको गोष्ठीमा कार्यपत्रसमेत प्रस्तुत भएको सदस्य सचिव जीवेन्द्रदेव गिरीले जानकारी दिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved