काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंहबीच प्रतिष्पर्धा हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2018 | 02:38:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेस संसदीय दलको नेताका लागि निर्वाचन भएमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने देखिएको छ । 

काँग्रेसले यही फागुन २१ गते संसदीय दलको नेता निर्वाचन गर्न तालिका सार्वजनिक गरेको छ । पार्टी महामन्त्री डा शशांक कोइरालाले फागुन १६ गते टोखास्थित आफ्नो निवासमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदका लागि आयोजना गरेको दिवा खाना कार्यक्रममा सभापति देउवा र नेता सिंहले दलको नेतामा उम्मेदवारी दिने बताएका थिए । 

काँग्रेसमा यतिखेर दलको नेताका लागि सभापति देउवाले संस्थापन पक्षबाट र नेता सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबाट उम्मेदवारी दिने चर्चा शुरु भएको छ । यद्यपि पार्टीका मध्यमार्गी नेताहरु भने निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको परिणाम नआई कमजोर भएको परिस्थितिमा सर्वसम्मत रुपमा नेता चयन गर्नुपर्ने कसरतमा जुटेका छन् । 

महामन्त्री डा कोइरालाले संसदीय दलको नेता सर्वसम्मत हुनुपर्ने धारणा व्यक्त गर्दै आएका छन्  र उनले सर्वसम्मत भएमात्र आफू दलको नेताका लागि अघि बढ्ने स्पष्ट पारे । काँग्रेस वरिष्ठ नेता पौडेल प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए  । 

जम्मा २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । संस्थापन पक्षका बहुमत सांसद भएकाले संसदीय दलको नेताको निर्वाचन भएमा सभापति देउवा सहजै निर्वाचित हुने अनुमान गरिएको छ । नेपालको संविधान जारी भएपछि प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो । 

निर्वाचन कार्यक्रम सार्वजनिक 

काँग्रेस संसदीय दल निर्वाचन समितिले फागुन २१ गते संसदीय दलको नेता निर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ । 

निर्वाचन तालिकाअनुसार फागुन २० गते अपराह्न ४ः३० बजे मतदाता नामावली प्रकाशन, फागुन २० गते अपराह्न ६ देखि साँझ ७ः३० बजेसम्म उम्मेदवारका लागि दरखास्त आह्वान र उम्मेदवारको अन्तिम नामावली प्रकाशन फागुन २१ गते बिहान ८ः३० बजे हुनेछ । 

उम्मेदवारीको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ४१ हजार तोकिएको छ । फागुन २१ गते बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुने र मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने समिति सदस्य सचिव केशव रिजालले   जानकारी दिए  । 

पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । फागुन २१ गते संसदीय दलको नेताका लागि निर्वाचन हुने र त्यसपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुने सचिव रिजालले बताए   । 

राष्ट्रियसभामा भने दलको नेता प्रतिनिधिसभाको संसदीय दलको नेताले नै तोक्ने काँग्रेस संसदीय दलको विधानमा छ । त्यस्तै राष्ट्रियसभाको प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था रहेको सांसद बद्री पाण्डेले बताए   । 

उनन्साठी सदस्यीय राष्ट्रियसभामा काँग्रेसका १३ जना सांसद छन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved