आज संघीय सांसदको सपथग्रहण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 04, 2018 | 07:00:12 AM मा प्रकाशित

laxmi  sunrise bank

रमेश लम्साल, काठमाडौँ । संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो बैठक आइतबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्न लागेको हो ।

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न १६ः०० बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण १७ : ०० बजेका लागि तय भएको छ ।

दोस्रो संविधानसभाबाट निर्मित नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि बस्न लागेको दुवै सदनको प्रथम अधिवेशनअन्तर्गत पहिलो अलग अलग बैठक यसअघि संविधानसभा बैठकस्थल रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्ने गरी सम्पूर्ण तयारी गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यही फागुन ८ गते नेपालको संविधानको धारा ९३ (१०) बमोजिम गरेकाे आह्वानअनुसार आइतबार दुवै सदनको बैठक बस्न लागेको हो ।

राष्ट्रपति निवासमा ज्येष्ठ सदस्यको शपथ

दुवै सदनका सदस्यको शपथ र पहिलो बैठकको तयारी पूरा भएको जानकारी दिँदै प्रवक्ता डा गौतमले आइतबार १३ः०० बजे राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महेन्द्रराय यादव र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको छ ।

राष्ट्रपति कार्यालयले ज्येष्ठ सदस्यको शपथ ग्रहणको तयारी सकिएको जानकारी दिएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा ज्येष्ठ सदस्यले शपथ लिएपछि उनीहरुले नै प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई शपथ गराउनेछन् ।

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाको अध्यक्षको निर्वाचन नभएसम्म उनीहरूले नै बैठकको अध्यक्षता गर्ने गरी व्यवस्था मिलाइएको छ ।

प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीका सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय महेन्द्रराय यादव र राष्ट्रियसभामा नेपाली काँग्रेसका ६९ वर्षीया तारादेवी भट्ट ज्येष्ठ सदस्य छन् । राष्ट्रियसभामा मनोनीत सदस्य डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेललाई तत्कालका लागि शपथ रोक्न सर्वाेच्च अदालतले फागुन १३ गते अन्तरिम आदेश दिएकाले उनीहरूको शपथ नहुने भएको छ ।

अघिल्लो सरकारले मनोनयन गरेकालाई फिर्ता गरी नयाँ सरकारको सिफारिशमा नयाँ सदस्य मनोनयन भएका विषयमा सर्वाेच्चमा रिट निवेदन परेको थियो ।

फौज्दारी मुद्दा लागेका प्रतिनिधिसभा सदस्य रेशम चौधरी र किर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवालबारे कुनै निकायबाट लिखित केही जानकारी नआएकाले उनीहरूले आएमा शपथ लिन सक्ने संघीय संसद् सचिवालयका प्रवक्ता गौतमले बताए । सिलवाल आज आयोजित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको दुवै सदनका सदस्यलाई आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य छन् । दुवै सदनको संयुक्तरूपलाई संघीय संसद् भनिन्छ । प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० सदस्य रहेको प्रतिनिधिसभा संघीय संसद्को तल्लो सदन मानिन्छ । गत मंसिर १० र २१ मा प्रतिनिधि सभा र गत माघ २४ मा राष्ट्रियसभा सदस्यको निर्वाचन भएको थियो ।

प्रतिनिधिसभामा ३८ जनाले मातृभाषामा शपथ लिने

संवैधानिक व्यवस्थानुसार आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यको संख्या ४४ पुगेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डा गौतमका अनुसार प्रतिनिधिसभामा ३८ जनाले आफ्नो मातृभाषामा शपथ लिने जानकारी गराउनुभएको छ ।

भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दी भाषामा शपथ लिन चाहेको भन्दै प्रतिनिधिसभामा निर्वाचित सांसदले सचिवालयलाई जानकारी गराउनुभएको छ । यस्तै राष्ट्रियसभाका छ सदस्यले मातृभाषामा शपथ लिन चाहेको सूचना प्राप्त भएको छ । सचिवालयले एक सूचनामार्फत मातृभाषामा शपथ लिन चाहे त्यसको जानकारी गराउन आग्रह गरेको छ ।

कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको अनुवादको प्रतिसहित तीन दिनअगावै संघीय संसद्को महासचिवलाई उपलब्ध गराउनुपर्ने कानूनी प्रावधान छ ।

कार्यसूचीका लागि १० बजे छलफल

प्रवक्ता डा गौतमका अनुसार आइतबार बिहान १०ः०० बजे आगामी कार्यसूची तयारीका लागि सदनमा प्रतिनिधित्व गर्ने पाँच दलका नेतासँग परामर्श हुनेछ । कार्य सञ्चालन नियमावली नबनुञ्जेलका लागि अन्तरिम कार्यविधि पारित गर्नुपर्ने भएकाले सचिवालयले त्यसको मस्यौदा तयार गरेको छ ।

मस्यौदालगायत अन्य कार्यसूचीबारे दलसँग छलफलपछि कार्यसूची बन्नेछ । एकै दिन एकै समयमा दुवै सदनको बैठक आह्वान भए पनि ती सदनको बैठक अलगअलग रूपमा सम्बन्धित सदनको कक्षमा बस्नेछ । सो छलफलमा सभामुख, राष्ट्रियसभाको अध्यक्ष चयनको प्रक्रियाका बारेमा समेत छलफल हुनेछ ।

संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्ष फरक दल र फरक लिङ्गको व्यक्ति हुनुपर्ने प्रावधान छ ।

दुई दलको समर्थनमा प्रधानमन्त्रीको नियुक्ति भएकाले नियुक्तिको ३० दिनभित्र अर्थात् आगामी चैत ३ गतेभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसका लागि सचिवालयले आवश्यक तयारी गरेको प्रवक्ता डा गौतमले बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved