कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु, देउवा र प्रकाशमान चुनावी मैदानमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2018 | 08:45:14 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाली काँग्रेस संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने प्रयास असफल भएपछि दलको नेता चयनका लागि मतदान सुरु भएको छ । बिहान १० बजेबाट मतदान सुरु भएको हो  ।  


कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको उम्मेदवारीलाई नेता विजयकुमार गच्छदारले प्रस्ताव र नेता मानबहादुर विकले समर्थन गरेका थिए  । 

त्यस्तै पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सिंहको उम्मेदवारीलाई कोषाध्यक्ष सीतादेवी यादवले प्रस्ताव र नेता सञ्जयकुमार गौतमले समर्थन गरेको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए   । 

सभापति देउवाले पार्टीको संस्थापन पक्षबाट र नेता सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट उम्मेदवारी दिएको बताइएको छ । निर्वाचनमा विजयी हुने दुवै पक्षका आ–आफ्नै तर्क छन् । सभापति देउवा पक्षले आफ्ना बहुमत सांसद भएकाले सहजै विजयी हासिल गर्ने दाबी गरेको छ भने नेता सिंहले निर्वाचनपछि पार्टीमा नयाँ नेतृत्वको खाँचो देखिएकाले बहुमत सांसदले आफूलाई मतदान गर्ने तर्क गरेका छन्  । 

संसदीय दलको नेताको उम्मेदवारका लागि आइतबार अपराह्न ६ देखि साँझ ७ः३० बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । निर्वाचन तालिकाअनुसार आज बिहान ८ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको संसदीय निर्वाचन समितिका सदस्यसचिव केशव रिजालले जानकारी दिए   । 

काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा दिउँसो १ बजेसम्म मतदान गर्न सकिने निर्वाचन समितिले जानकारी दिएको छ । मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने छ। कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । 


पार्टीको संसदीय दलको परिमार्जित विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताको निर्वाचनपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुने सचिव रिजालले बताए  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved