एनसेलको डाटा खपत र ग्राहक संख्यामा उल्लेख्य वृद्धि हुँदा पनि आम्दानिमा गिरावट किन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 06, 2018 | 08:30:01 AM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलको वार्षिक डाटा खपत १३० प्रतिशतले बढेको छ। कम्पनीको प्रमुख लगानीकर्ता आजियाटाले २०१७ मा ग्राहक संख्या र डाटा खपतमा उल्लेख्य प्रगति भएको वित्तीय विवरण सार्वजनिक गरेको हो। 

गत बर्ष अर्थात २०१७ मा एनसेलका ग्राहकले दुई करोड ७७ लाख जिबी डाटा प्रयोग गरेका छन। जुन अघिल्लो बर्षको तुलनामा करिब १३० प्रतिशतले बढी हो।  सन् २०१६ मा कुल डाटा खपत १ करोड २० लाख जिबी थियो । त्यसैगरी, एनसेलको २०१५ को डाटा खपत ५३ लाख जिबी मात्र छ। 

एनसेलले २०१७ जुनमा चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा सुरुवात गरेपछि डाटा खपतमा वृद्धि भएको हो। कम्पनीको तथ्यांक अनुसार २०१६ को तुलनामा २०१७ मा एनसेलको डाटा सेवाको आय १७.९ प्रतिशतले बढेको छ । कम्पनीको कुल आम्दानीमा डाटाको योगदान १९ प्रतिशत र कुल ग्राहक संख्यामा झन्डै ४४ प्रतिशतले डाटा सेवा लिएका छन्।

एनसेलका अनुसार बर्ष दिनमा नै १५ लाख १६ हजार ग्राहक थपिएका छन। गत बर्ष जनवरीदेखि डिसेम्बरसम्ममा मात्रै एनसेलको १५ लाख १६ हजार नयाँ ग्राहक थपिएका हुन।  

एनसेलका ग्राहक संख्या १ करोड ६४ लाख ३३ हजार पुगेका छन। जसमा १ करोड ६० लाख २८ हजार प्रिपेड र ४ लाख ५ हजार पोस्टपेड ग्राहक रहेका छन् । 

ग्राहक संख्या र डाटा खपतमा वृद्धि भएपनि अघिल्लो बर्षको तुलनामा भने एनसेलको कुल आम्दानि घटेको छ। अघिल्लो बर्ष ५८ अर्ब ६५ करोड २० लाख आम्दानी गरेको एनसेलले गत बर्ष अर्थात २०१७ मा ५८ अर्ब ५४ लाख मात्र आम्दानि गरेको छ।     

अन्तर्राष्ट्रिय लामो दुरीको कलबाट हुने आम्दनीमा गिरावट आउँदा समग्र आम्दानीमा असर गरेको एनसेलको भनाई छ। अन्तर्राष्ट्रिय लामो दुरीको कलबाट हुने आम्दानी १९.६ प्रतिशतले घट्दा समग्र आम्दानी नै प्रभावित बनेको छ। 

विदेशबाट नेपाल फोन गर्न र नेपालबाट विदेशमा फोन गर्न इन्टरनेट सेवाका माध्यमबाट विभिन्न एपहरु प्रयोग हुन थालेका छन। ह्वाट्सएप, भाइबर, इमो, स्काइप जस्ता एप्सहरुको प्रयोगले पछिल्लो समय टेलिकम कम्पनीहरुको अन्तर्राष्ट्रिय लामो दुरीको कलबाट हुने आयमा गिरावट आइरहेको छ।  

टेलिकम कम्पनिहरुको कुल आम्दानिको ४० प्रतिशत हिस्सा ओगटेको अन्तर्राष्ट्रिय लामो दुरीको कलबाट हुने आम्दानिमा नै गिरावट आएपछी पछिल्लो समय टेलिकम कम्पनीहरुको कमाई समेत घटेको हो। अन्तर्राष्ट्रिय लामो दुरीको कलको प्रयोग ४० बाट ३० प्रतिशतमा झरेको टेलिकम कम्पनिहरुको भनाइ छ।  आम्दानीमा गिरावट आउनुको अर्को कारणमा बढ्दो प्रतिस्पर्धा र संचालन खर्च बढ्नु पनि हो। 

एनसेलका कुल ग्राहक मध्ये ५२ प्रतिशतले स्मार्टफोनको प्रयोग गर्छन। एनसेलका जम्मा थ्रिजी बिटिएस टावर २ हजार ४ सय ३१ वटा रहेका छन् भने फोरजीको लागि ८ सय ९२ बिटिएस टावर रहेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved