खाडी मुलुकमा कामदार पठाउने काम एक सातादेखि अवरुद्ध

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 06, 2018 | 02:37:38 PM मा प्रकाशित

laxmi  sunrise bank

खाडी देशहरूको समूहले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणको प्रक्रिया परिवर्तन गरेपछि तीनवटा मुलुकमा कामदार पठाउने काम एक सातादेखि अवरुद्ध भएको छ। गल्फ कोअपरेशन काउन्सिल (जीसीसी)ले साउदी अरेबिया, ओमान र बहराइन जान चाहनेले विदेशी मुद्राको खाता खोली १० डलर तिरेर मात्र अनलाइनमार्फत् स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधान लागू गरेको छ।

जीसीसीले साउदी अरेबिया, ओमान र बहराइन जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणको व्यवस्था गर्दै आएको संस्थाको अनुमति खारेज गरी फागुन १७ गतेदेखि अनलाइनमा नै समय र सिट सुरक्षित गर्ने व्यवस्था लागू गर्‍यो।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ विदेशी मुद्रामा शुल्क तिर्ने भनी गरिएको व्यवस्थाका कारण समस्या आएको बताउँछन्।

उनले भने, "स्वास्थ्य परीक्षण गर्न अनलाइनमार्फत् दर्ता गर्ने र क्रेडिट कार्डबाट १० डलर शुल्क तिर्नु पर्ने नयाँ नियम जीसीसीले ल्याएको छ। तर ती मुलुकमा जाने नेपाली श्रमिकको नाममा डलर खाता पनि छैन र राष्ट्र ब्याङ्कको अनुमतिविना डलर विदेश पठाउन मिल्दैन।"

संघका अनुसार दिनहुँ जसो कैयौँ नेपाली कामदार यी मुलुकका लागि जाने गरेका छन्।

अनलाइनमा उपलब्ध करिब एक दर्जनमध्ये कुनै पनि स्वास्थ्य संस्था रोज्न सकिने व्यवस्था गरिएको बताइएको छ।

स्वास्थ्य परीक्षण गरेबापत हाल तिरिरहेको ५५ सय रुपियाँ शुल्क नयाँ व्यवस्थामा समेत कायम रहनेछ।

सरकारले भने जीसीसीले जारी गरेको नयाँ नियम आफूलाई जानकारी नभएको बताएको छ।

श्रम तथा रोजगार मन्त्रालयको विशेष समिति सदस्य सचिव अर्जुनप्रसाद खनालले भने, "हामीकहाँ बाट त्यस्तो निर्णय भएको अथवा हामीसँग सम्झौता भएर त्यस्तो निर्णय भएको होइन। श्रम मन्त्रालय र स्वास्थ्य मन्त्रालयले स्वास्थ्य परीक्षण शुल्कसम्बन्धी गरेको निर्णयभन्दा बढि शुल्क लिन पाइँदैन।"

गत वर्ष पनि स्वास्थ्य परिक्षण गर्दा १० डलर तिर्ने नियम लागू गर्न खोजिएको थियो तर नेपालीले विदेशी मुद्राको खाता खोल्न पाउने व्यवस्था नरहेको भन्दै श्रम मन्त्रालयले सो विषय सुल्झाएको अधिकारीहरू बताउँछन्।

नयाँ नियमले आफूहरूलाई अतिरिक्त आर्थिक भार पर्ने भन्दै वैदेशिक रोजगारीमा जान खोज्ने कतिपय कामदारले त्यसको आलोचना गरेका छन्।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved