साझाको सेमी लो फ्लोर बस अस्पतालको रुट भएर रातको ११ बजेसम्म चल्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2018 | 03:57:57 PM मा प्रकाशित

laxmi  sunrise bank

 काठमाडौं । साझा यातायातले ल्याएको सेमि लो फ्लो बस वुधबारबाट सञ्चालनमा आएको छ । साझा यातायात सहकारीको प्राङ्गणमा आयोजित एक औपचारिक कार्यक्रमपछि काठमाडौं र ललितपुर महानगरका प्रमुखहरु विद्यासुन्दर शाक्य र चिरीबाबु महर्जनले रिवन काटेर सेवा सञ्चालन सुरुवात गरेका छन् ।

त्यसअघि आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा दुवै महानगरका प्रमुखको साझा भनाइ थियो — सहरी यातायातको चाप व्यवस्थापन गर्न अव, साना गाडी र मोटरसाइकल चढ्ने यात्रुलाई बस चढ्ने वातावरण तयार गर्नुपर्छ । यसका लागि आवश्यक पर्ने नीति तर्जुमामा आफ्नो ध्यान छ ।

 समारोहमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक निजी सहकारी साझेदारिताबाट नागरिकलाई सेवा विस्तार गरिने बताए ।

ललितपुर मानगरका प्रमुख चिरीबाबु महर्जनले  काठमाडौं महानगरका प्रमुख हिँडेको सकारात्मक बाटोलाई आफूले पनि पछ््याएको धारणा राखे ।

सहरी यातायात प्रणालीमा सुधार गरी सहज आवागमनका लागि यस प्रकारको वस ल्याइएको साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेको भनाइ छ । भारतको राजस्थानमा निर्माण गरिएको यस बसलाई काठमाडौंसम्म ट्रेलरमा ल्याइएको हो । ग्लोवल टेण्डरमार्फत माग गरिएको बसको मूल्य भारतीय बजारमा मूल्य १ करोड रुपैयाँ छ । उत्पादक कम्पनीले सहुलियत दरमा उपलबध गराएकोले करीव ३५ लाख रुपैयाँमा बस आएको हो ।


दुई वटा ढोका भएको यस बसको पछाडिको ढोका बसको वीच भागमा छ । यो अगाडिकोभन्दा फराकिलो छ । फोल्डिङ् र्याम्प भएको यस बसमा बालबालिका, जेष्ठ नागरिक र व्हिल चेयर प्रयोगकर्ताले सजिलै प्रयोग गर्न सक्छन् । बसमा ४० जना यात्रु र १ जना चालक बस्ने सिट छ । यसबाहेक ३५ वटा ट्राप ह्याङ्गर छन् । १२ मिटर लामो यस बसमा एक पटकमा बसेर र उभिएर १०० जना यात्रुले यात्रा गर्न सक्छन् ।

यातायात प्रणाली सुधार गर्न महानगरले साझाबाट खरिद गरेको १० करोड रुपैयाँको सेयरबाट खरिद गरिएका ३० गटा बसहरु गएको बर्ष मंसिर १२ गतेदेखि सञ्चालनमा छन् । यससँगै अर्को पटक काठमाडौं महानगरले खरिद गरेको ५ करोड र ललितपुर महानगरले खरिद गरेको १ करोड रुपैयाँको शेयरबाट थप बस खरिद गर्ने प्रक्रिया अन्तिम चरण पुगेकोे छ । यसरी आउने बस र अहिले सञ्चालनमा भएका बस जोड्दा साझासँग ७५ वटा बस हुन्छन् ।

 

यस अघिका बस

सहरी मापदण्डका आधुनिक सुविधा सम्पन्न साझाका बस अपाङ्गमैत्री छन् । त्यसका लागि पछाडिको ढोका ठूलो र ह्विलचेयर सहजै छिराउन मिल्ने सुविधा छ । हरेक बसभित्र दुई वटा ह्विलचेयर अट्ने ठाउँ छ । बसमा सिसिटिभी जडान गरिएका छन् भने मनोरञ्जनका लागि एलइडी टिभी, मोवाइल चार्जरको व्यवस्था पनि छ । यी विशेषता दोश्रो चरणमा ल्याएैका बसका हुन् । त्यस अघि अर्थात् पहिलो चरणमा ल्याइएका १६ वटा बसमा बसमा एकातर्फ २ र अर्को तर्फ दिनवटा सिट रहेका छन् भने थपिएका ३० वटा बसमा दुबै तर्फ २ —२ वटा सिट छन् । यस्तै ४० वटा समाउने ‘स्ट्राप ह्याङ्गर’ छन् ।

साझाको इतिहास

वि.सं २०१८ सालमा पहिलो पटक साझाले सेवा सुरु गरेको थियो । विभिन्न राजनीति हस्तक्षेप लगायत आन्तरिक समस्याले २०५८ सालमा साझाको सेवा बन्द भएको थियो । २०७० साल बैशाख १ गतेबाट सेवा पुनः सुरु भएको हो । त्यसयता साझाले निरन्तर रुपमा सेवा सञ्चालन गरिरहेको छ । यसले उपत्यकासँगै उपत्यकावाहिरका चार गन्तव्य गोरखा, बागलुङ, वीरगन्ज र लुम्बिनी, भैरहवामा आठवटा बसमार्फत सेवा दिइरहेकोमा अहिले २ वटा बसबाट काठमाडौं बाग्लुङ् रुटमा सेवा दिइरहेको छ । यसलाई निरन्तरता दिन थप ४ वटा डिलक्स वस ल्याउँदैछौं । त्यसपछि छुटेका ठाउँमा पनि फेरि सेवा जोडिन्छ, कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए ।

अहिले सञ्चालनमा आएको सेमी लो फ्लोर बस पाटन अस्पतालदेखि थापाथली, बीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ् हुँदै नारायण गोपाल चोकसम्म गुड्नेछ । यसको प्रभाव हरेर नयाँ यस्तै प्रकार र अन्य विद्युतीय बस सञ्चालन तयारी गरिरहेको साझाले अस्पताल केन्द्रीत गरेर गुडाउने बसबाट रातको ११ बजेसम्म सेवा दिनेछ । यस प्रकारको (सेमी लो फ्लोर) बस सेवा नेपालमा पहिलो पटक साझाले दिन थालेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved