ओली सरकारले आर्थिक कुटनीतिलाई बढावा दिने, सन २०१८ नेपालको लागि महत्वपूर्ण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 17, 2018 | 05:02:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नवनियुक्त परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सन २०१८ मा नेपालमा उच्चस्तरीय अन्तर्राष्ट्रिय भ्रमण हुने बताएका छन। रिपोर्टस क्लबको विशेष साक्षात्कारमा बोल्दै मन्त्री ज्ञवालीले २०१८ मा भारतीय प्रधानमन्त्री र चीनीयाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने बताएका हुन। 

सन् २०१८ मा मित्रराष्ट्र भारत र चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने र नेपालबाट पनि राष्ट्रपति र प्रधानमन्त्रीले उच्चस्तरीय भ्रमण गर्ने बताउदै  ज्ञवालीले भने,‘सन् २०१८ मा द्धिपक्षीय उच्चस्तरीय भ्रमणहरु हुन्छन्, यो हिसावले पनि सन् २०१८ नेपालको लागि महत्वपूर्ण हुनेछ।’ 

उनले भने,‘हामी अहिले द्धिपक्षीय उच्चस्तरीय भ्रमणको तयारीमा जुटेका छौं, गृहकार्यहरु भैरहेका छन्, दुवै मित्रराष्ट्रबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन्छ।’ 

हालै नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिईएको र चिनियाँ राष्ट्रपति जिनपिङ सन् २०१६ मै नेपाल आउने तयारी गरेकोले २०१८ मा दुवै जना नेपाल आउने उनको भनाई थियो । 

त्यसैगरि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विदेश भ्रमण चाँडै गर्ने सुनाए । उनले भने,‘प्रधानमन्त्री ओलीको विदेश भ्रमणको गृहकार्यमा हामी जुटिसकेका छौं।’

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाटै सुरु हुन लागेको हो भन्ने प्रश्नमा उनले भने,‘पहिला कुन देश जाने भन्नेबारे अहिले एकिन भैसकेको छैन, भारतबाट पनि हुनसक्छ, यसबारेमा हामीले छलफल सुरु गरेका छौं, चीनबाट पनि हुनसक्छ, जहाँबाट पनि हुनसक्छ, प्रधानमन्त्री र राष्ट्रपति दुवै जना विदेश भ्रमणमा जानुहुन्छ, तर अहिले भ्रमण तालिका निश्चित भएको छैन्।’ उनले भारत र चीन लगायत अमेरिका, बेलायत र जापानबाट पनि नेपालमा उच्चस्तरीय भ्रमण हुने विश्वास दिलाए । 

भारतले नेपालसँग नयाँ ढंगले सम्बन्ध विकास गर्न खोजेको सन्देश दिईसकेकोले आफूहरु त्यसप्रति पूर्ण सकारात्मक रहेको ज्ञवालीको भनाई थियो । उनले भने,‘त्यही कुरामा टेकेर हामी पनि सम्बन्ध नयाँ उचाईमा पुर्याउँछौं, यो बीचमा द्धिपक्षीय उच्चस्तरीय भ्रमणहरु हुन्छन्, हामी गृहकार्यमा जुटिसकेका छौं।’ 

मन्त्री ज्ञवालीले नेपाल अहिले महत्वपूर्ण मोडमा उभिएको उल्लेख गदै आगामी दिनमा मुलुकको राष्ट्रिय नीतिलाई बल पुग्नेगरि विदेश नीति अघि बढ्ने बताए । उनले भने,‘राष्ट्रियताको रक्षा एवम् प्रर्वद्धन, राष्ट्रिय एकता, सार्वभौमकिता, अखण्डतालाई एकताबद्ध गर्ने हाम्रो मुल नीति हो, यो सँगै मुलुकलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउने हो, हामी सोही अनुसार काम गर्छौं, मुलुकमा समृद्धि हाँसिल गर्ने उद्देश्य अनुकुल नै अन्र्तराष्ट्रिय वातावरण निर्माणमा परराष्ट्र नीतिको सार हुनेछ।’

त्यस्तै उनले नयाँ सरकारले छिमेकीहरुसँग असल सम्बन्ध कायम गर्दै आर्थिक कुटनीतिलाई बढावा दिने विश्वास दिलाए । राजदुतहरुसँगको भेटलाई व्यवस्थित् गर्ने र परराष्ट्रमन्त्रालयलाई जीवन्त संस्थाको रुपमा स्थापित् गर्न आफूले सशक्त भूमिका खेल्ने उनको भनाई थियो । 

उनले दुवै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लगिने र नेपालको भूमि कसैको विरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारे । ज्ञवालीले भने,‘‘नेपाल छिमेकीको कुभलो चिताउँदैन, छिमेकीसित अझ सुदृढ सम्बन्ध राख्छ ।’’

उनले थपे,‘भारत र चीन दुवैसँग हामी प्रगाढ सम्बन्ध कायम गर्छौं, नेपाल कुनैपनि छिमेकीको अहितमा छैन, कसैको विरुद्धमा नेपाली भूमि प्रयोग हुन दिँदैनौं।’

भारत र चीन दुवै मित्रराष्ट्रले तिव्र आर्थिक विकास हाँसिल गरेकोले उनीहरुसँग नेपाल जोडिनु खुशीको कुार भएको टिप्पणी गरे । उनले भने,‘त्यसबाट अलग रहन सकिँदैन्, चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो, भारत उदयीमान अर्थतन्त्र हो, दुवै देशसँग हामी सुमधुर र सन्तुलित सम्बन्ध राख्छौं।’ नेपालको विदेश नीति अब आर्थिक कुटनीति र सम्बन्धका आधारमा अघि बढ्ने मन्त्री ज्ञवालीको भनाई थियो । 

ज्ञवालीले भारत र चीनसँगै नेपाललाई संयुक्त राज्य अमेरिका, बेलायत, जापान लगायत अन्य राष्ट्रहरुको सहयोग रहँदै आएकोले आगामी दिनमा सम्बन्धलाई नयाँ उचाईमा उठाउने विश्वास दिलाए । त्यस्तै उनले संयुक्त राष्ट्रसंघजस्तो फोरममा साना राष्ट्रहरुको बोल्ने थलो बनाउनको लागि आवाज उठाउने, सार्कलाई सही ढंगले अघि बढाउँदा यो क्षेत्रको विकास हुने भएकोले त्यतातिर ध्यान दिने बताए ।

उनले भने,‘परराष्ट्रमन्त्रीको हैसियतले र नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकोले यसलाई सक्रिय बनाउन भूमिका खेल्छु, त्यस्तै विमस्टेक लगायतका क्षेत्रिय संगठनहरुमा नेपालको तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्छु।’ त्यस्तै उनले यु.एन. शान्ति मिशनमा सबैभन्दा सेना पठाउने राष्ट्रहरुमा नेपाल ६ औं राष्ट्रमा पर्ने भएपनि नेपालको पहुँच कमजोर रहेकोले त्यसमा पनि ध्यान दिने बताए । 

फरक प्रसँगमा उनले हालै भएको पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण सद्भाव भ्रमण भएकोले यसलाई अन्य रुपमा टिप्पणी गर्न नहुने धारणा राखे । उनले भने,‘उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन आउनुभएको हो, भेटघाटमा स्थगित रहेको सार्क सम्मेलनलाई तत्काल गराउन पहल गरिने विषयमा कुरा भयो, त्यस्तै द्धिपक्षीय सम्बन्धको बारेमा पनि कुरा भएको हो ।’

सिरियामा भएको मानवीय संकटमा पनि आफूहरुको चासो रहेको ज्ञवालीले सुनाए । उनले भने,‘संयुक्त राष्ट्रसंघले युद्धविराम आह्वान गरिसकेको छ, मानवीय दृष्टिकोणले सकेसम्म युद्ध अन्त्य गर्नुपर्छ, नभए युद्धविराम गर्नुपर्छ, शक्तिराष्ट्रहरुको स्वार्थको कारण सिरियामा मानवीय संकट भएको हो।’



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved