नेपाली कांग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल भएको बताएका छन् ।
‘अहिलेसम्म कुनैपनि प्रधानमन्त्रीको भारत भ्रमण असफल भएको छैन, उहाँको भ्रमणपनि सद्भावपूर्ण भ्रमण थियो, सफल भएको छ, दुई देशबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ, भ्रमण फलदायी र उपलब्धिमूलक भएको कांग्रेसको निश्कर्ष छ, तर ऐतिहाँसिक हुनुपर्ने केही कारण छैन’ उनले भने । प्रधानमन्त्री ओलीलाई बरिष्ठ मन्त्रीले स्वागत गर्नु, पन्त नगरमा विद्यावारीधिको उपाधि दिनु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वान–टु–वान’ भेटवार्ता हुनु नै भ्रमण सफलको पक्ष भएको उनको भनाई छ ।
‘रेल आउने कुरा राम्रो हो, तर भाषण गरेरमात्रै हुँदैन नि, यसको लागि लगानी कति लाग्छ, रेल ल्याउँदा अनुदानमा बनाउने हो कि ऋणमा बनाउने हो, यी कुराको बारेमा टुँगो त लगाउनुपर्छ, रेल ल्याउनेबारे विस्तृत अध्ययन बाँकी नै छ ।’ जलमार्ग बनाउने कुरा पनि आजभन्दा करिब ४० वर्षदेखि छलफल भैरहेको बताउँदै महतले नेपाल र भारतबीच झण्डै ५÷६ खर्बको व्यापार घाटा रहेको बताए । ‘हाम्रो निर्यात कम छ, व्यापार घाटा डरलाग्दो छ, नेपालका उत्पादनहरु जस्तो अदुवा लगायतका वस्तुहरु निर्यात गर्न धेरै बन्धनहरु छन्, यसबारेमा कुरा गर्नुपर्दथ्यो, बाणिज्य सन्धि र हवाई रुट भएको भए राम्रो हुन्थ्यो ।’
वर्तमान सरकारले ल्याएको श्वेतपत्रले निराशा ल्याएको उनको आरोप थियो । उनले भने,‘श्वेतपत्रमा अर्थतन्त्रलाई अन्धकार देखाईएको छ, तर अहिले ढुकुटी रित्तिएको अवस्था छैन नि, ढुकुटी रिक्तियो भन्नु गलत हो, पछिल्लो वर्ष यता देशमा ६२ प्रतिशतले राजश्व बृद्धि भएको छ, सार्क मुलुकमै नेपालजति राजश्व उठाउने अरु कुनै देश छैन् ।’ उनले भने, ‘अब सरकारले फजुल खर्च नियन्त्रण गर्नुपर्छ, अनुत्पादक खर्च गर्नुहुँदैन्, प्रतिफल दिने कुरामामात्रै लगानी गर्नुपर्छ ।’