काठमाडौं जिल्लाको १० हजार रोपनी जग्गाको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) बनाउनका लागि ५ वटा कम्पनी योग्य देखिएका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौंको १० हजार रोपनी जग्गामा बनाउन खोजेको नयाँ शहरको डीपीआर बनाउनका लागि ५ वटा कम्पनी योग्य देखिएका हुन् ।
प्राधिकरणले डीपीआर बनाउनका लागि आव्हान गरेको एक्सप्रेस अफ इन्ट्रेस (इओआई) बाट ५ वटा योग्य कम्पनी छनोट गरेको हो । इओआईका लागि प्रस्ताव पेश गरेका ५ वटै कम्पनी डीपीआर बनाउनका लागि योग्य देखिएका हुन् । डीपीआर बनाउन योग्य देखिएका ५ वटै कम्पनी नेपालका हुन् ।
डीपीआरका लागि योग्य देखिएका ५ वटै कम्पनीलाई प्राधिकरणले रिक्वेस्ट फर प्रपोजल (आरएफपी) पठाएको छ ।
कम्पनीले प्राधिकरणमा बुझाउने आरएफपीका आधारमा काठमाडौं जिल्लाको १० हजार रोपनी जग्गामा बन्ने नयाँ शहरको डीपीआर बनाउने कम्पनी छनोट हुने प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।
‘नयाँ शहरका लागि ५ वटा कम्पनीले इओआई बुझाएका थिए, ती ५ वटै कम्पनी नयाँ शहरको डीपीआर बनाउका लागि योग्य देखिएका छन्, तिवारीले भने, ‘एक साता अघि हामीले ५ वटै कम्पनीलाई आरएफी पठाएका छौं, आरएफीको आधारमा डीपीआर बनाउने कम्पनी छनोट गर्ने छौं ।’
प्राधिकरणले काठमाडौं उपत्यकामा बढ्दै गएको अव्यवस्थित शहरीकरणलाई व्यवस्थित बनाउनका लागि भन्दै उपत्कका ४ दिशाका १ लाख ३ हजार रोपनी जग्गामा ४ वटा नयाँ शहर बनाउन लागेको हो । यस अघि ३ स्थानको १ लाख २० हजार रोपनी जग्गामा बन्ने नयाँ शहरको डीपीआर बनाउने कम्पनी छनोट भइसकेका छन् । ती कम्पनीले डीपीआरको काम अगाडि बढाइसकेको प्राधिकरणले जानकारी दिएको छ ।
नयाँ शहर बन्ने स्थान
प्राधिकरणले उत्तर काठमाडौं नामाकरण गरेको स्थानको डीपीआरका लागि कम्पनी छनोट गर्न लागिएको हो । सामाकोसी, टोखा रोड हुँदै बाइपास, काभ्रेस्थली बाइपास जाने मुल सडक, उत्तरः सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थली, ग्रीनल्याण्ड चोकदेखि मनोरथ हुँदै महादेव खोला काभ्रेस्थलीको मुल सडक पुलसम्म करिब १० हजार रोपनी क्षेत्रफलमा नयाँ शहर बन्नेछ ।