सबै खालको ‘सिन्डिकेट’ अन्त्य हुन्छ : प्रम ओली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 06, 2018 | 06:22:16 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले देश र पार्टीको हितविपरीत नजान सांसदहरुलाई निर्देशन दिनुभएको छ । 

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बसेको नेकपा (एमाले) संसदीय दलको बैठकमा उहाँले जनताको सर्वोच्च निकाय स्थानमा रहेका जनप्रतिनिधिले उत्तेजनामा नआइकन संयमित भएर पार्टीको हितमा काम गर्न निर्देशन दिनुभएको हो । एमाले अध्यक्ष ओलीले भन्नुभयो, “जनताको सर्वोच्चता जनाउने स्थानमा रहेका जनप्रतिनिधिले आवेश, उत्तेजनामा नचाहिँदो काम गर्न र बोल्न हुँदैन, पार्टी र राष्ट्रको हितमा काम गर्नुपर्छ ।” उहाँले सम्पूर्ण सांसदहरुलाई एक ढिक्का भएर पार्टीको निर्देशनमा काम गर्न आग्रह गर्नुभयो । 

प्रधानमन्त्री ओलीले जनताको म्यान्डेट जनप्रतिनिधिलाई भएको भन्दै सबै खालको सुधारका, प्रजातन्त्र र प्रशासनिक सुधारका लागि सबै खालको ‘सिन्डिकेट’ अन्त्य हुने बताउनुभयो । उहाँले आजदेखि बजेट अधिवेशन शुरु भएको हुँदा देश र जनताको हितप्रति निष्ठाका साथ आफ्नो कर्तव्यबाट पछाडि नहटी काम गर्न निर्देशन दिँदै सबै सांसदलाई रचनात्मक, सकारात्मक र समुचित ढंगले संसदमा प्रस्तुत भई भूमिका खेल्न निर्देशन दिनुभयो । 

बजेट निर्माण गर्दा सबै पक्षहरुसँग छलफल गर्न बजेट अधिवेशन तय गरेको र आफूले दिनुपर्ने सुझावहरु छोटो र लिखितरुपमा पेश गर्न उहाँले बैठकमा सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका चरणमा पर्याप्त मात्रामा कानून निर्माण र संशोधन गर्नुपर्ने उल्लेख गर्दै कानूनको अभावबाट संविधान, सरकार, विकास निर्माणका काम नरोकिकन काम गर्न कानून निर्माण गर्ने काम भइरहेको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले सरकार मुलुकमा परिवर्तन ल्याउन आएको स्पष्ट पार्दै सो अभियानमा सबै एक ढिक्का भएर सामेल हुन निर्देशनसमेत दिनुभयो । एमाले संसदीय दलका नेता ओलीले सरकारले छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउँदै लैजाने र सबै राष्ट्रहरुसँग समुचित ढंगले सम्बन्ध अगाडि बढाइने पनि उल्लेख गर्नुभयो । -रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved