भारतको अमुल डेरी नेपाल आउने चर्चा : व्यवसायी त्रसित, संस्थान भन्छ, ‘डराउदैनौ’

निरोज कुमार थापा

निरोज कुमार थापा

May 15, 2018 | 05:00:03 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले भारतमा सहकारी मोडलबाट सञ्चालित अमुल डेरी नेपालमा आउने चर्चा चुलिएको छ । उक्त डेरीलाई नेपाल आउन नदिन नेपालका डेरी व्यवसायीहरुले सरकारलाई अनुरोध पनि गरेका छन् । उनीहरुले आत्मनिर्भर हुँदै गरेको डेरी क्षेत्रमा विदेशी कम्पनी आउँदा नेपाली व्यावसायीले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै आफूहरुको लगानी खेर जाने दुखेसो गरेका छन् । 

के भन्छन व्यबसायी ?

नेपाल दुधमा आत्मनिर्भर हुनै लागेको समयमा अमुल डेरी आउँदा फाईदा बेफाईदा दुवै हुने बताउँछन् नेपाल डेरी प्रा.ली.का प्रोडक्सन म्यानेजर दिपेन्द्र थापा । उनी भन्छन्, “अमुल आउँदा नेपालमा दुग्ध व्यबसाय गरिरहेका कम्पनी तथा संस्थानहरुबीच गुणस्तरमा प्रतिस्पर्धा हुन्छ र गुणस्तरको मात्रा बढ्छ, यो राम्रो पक्ष भयो । अमुल विश्वको एउटा ब्राण्ड पनि उसको प्रविधि आधुनिक छ, हामीसँग त्यो छैन । आधुनिक प्रविधि सहित उ आउँदा उसले एकलौटी बजार लिईदिने सम्भावना हुन्छ ।” 

डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडिया पनि नेपाली उद्योगले अमुलसँग प्रतिस्पर्धा गर्न नसक्ने बताउँछन् । ८० प्रतिशत दुध अहिले नेपाली बजारले मात्रै धानेकोले मुलुक दुधमा आत्मनिर्भर हुने बाटोमा रहेकोले विदेशी उद्योग ल्याउन नहुने उनको भनाइ छ । 

के भन्छ दुग्ध विकास संस्थान ?

सरकारी निकाय दुग्ध विकास संस्थान भने आधिकारीक रुपमा कुरा आइनसकेको बताउँछ । संस्थानका आयोजना प्रमुख इश्वरी न्यौपाने अमुल आउने कुरा औपचारीक रुपमा नआएपनि केही सचेत भने हुनुपर्ने तर्क गर्छन् । “आफूहरुले देशभर नेटवर्क विस्तार गरेर गाउँबाट किसानको घरघरमा पुगेर दुध ल्याएर सेवा दिएका छौँ, नाफा भन्दापनि सेवा हेर्नुपर्छ । अमुल आएपछि दुध कहाँबाट ल्याउने हो, नपाल सरकारसँग कस्तो सहमति हुने हो यसमा सचेत भने हुनुपर्छ” उनले भने । केही व्यबसायीले भनेजस्तो प्रतिस्पर्धा नै गर्न नसक्ने कुरा चाँही गलत भएको उनको भनाई छ । “प्रतिस्पर्धा गर्नै सक्दैनौ भन्ने होईन, प्रतिस्पर्धामा हामी डराएका होईनौ । अहिले पनि मेची महाकालीबाट किसानका घरघरमा पुगेर २/४ लिटर दुध संकल गरेर ल्याएका छौँ, अमुल आएर भारतबाट दुध ल्याएर नेपालको बजार धान्दियो भने हाम्रा कृषकले उत्पादन गरेका दुध के गर्ने ?” उनले प्रश्न गरे । 

के भन्छ दुग्ध विकास बोर्ड ?

वि.सं २०४९ साल बैशाख १७ गते स्थापना भएको राष्ट्रिय दुग्ध विकास बोर्ड सरकारी निर्णय विपरीत अमुल आउनु हुने वा नहुनेमा धारणा राख्न नसक्ने बताउँछ । बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्त आफूले पनि सञ्चार माध्यम मार्फत नै यो कुरा थाहा पाएको भन्दै आधिकारीक भईनसकेको बताउँछन । उद्योग विभाग पनि अमुल आउने कुरा सरकारी स्तरमा औपचारिक रुपबाट कुनै पनि प्रस्ताव नआएको जनाउँछ । 

गतसाल सरकारले २ वर्षभित्र दुधमा आत्मनिर्भर बन्ने बताएको थियो । १ वर्ष वितिसक्दा यसको समिक्षा त भएको छैन, तर दुग्ध उत्पादन गरिरहेका संस्था भने उत्पादन बढिरहेको दाबी गर्छन् । बजार मागको ८० प्रतिशत दुध नेपाली उत्पादनले धानिरहेको उनीहरुको भनाई छ । 

नेपाल अहिले दुग्ध उत्पादनमा आत्मनिर्भर हुने प्रक्रियामा छ । गाउँगाउँमा दुग्धजन्य उत्पादनमा वृद्धि गर्न भन्दै सरकारले कृषि ऋणको व्यबस्था गरेको छ । यसबाट नागरिकहरु पशुपालमा आकर्षीत भएका छन् । विदेश गएर फर्केका युवाहरु गाउँमै पशुपाल गरी आयआर्जन गरिरहेका छन् । तरपनि स्वदेशी उत्पादनले नधानेपछि भारतबाट दुधजन्य उत्पादनहरु धेरै आयात हुँदै आएको छ । 

भारतमा दैनिक २५ लाख लिटर दुध संकलन गरिरहेको अमुलसँग ६ लाख ९४ हजार दुध उत्पादकहरु छन् । यदि संस्थान र बोर्डले भनेजस्तो समग्र देशको दुध उत्पादन बढिरहेको हो भने २० प्रतिशत माग धान्नको लागी अमुल ल्याउनुको औचित्य के हो सरकारले प्रष्ट पार्न सक्नु पर्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved