एमाले माओवादी एकता, कसले के भने ?

निरोज कुमार थापा

निरोज कुमार थापा

May 18, 2018 | 03:29:53 PM मा प्रकाशित

laxmi  sunrise bank

साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएका छन् । स्वर्गीय पुष्पलाल श्रेष्ठ (तत्कालिन नेकपाका संस्थापक महासचिव) ले २००६ सालमा स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी स्थापनाको पछिल्लो वर्षबाटै विभाजनको संघारमा पुग्यो । यसलाई कम्युनिष्टका विश्लेषकहरुले वाम आन्दोलन २ धारमा विभाजन भएको भनी टिप्पणी गरे, विश्लेषण गरे । 

२००८ सालमै पार्टीभित्र वर्ग संघर्षको बहस सुरु भयो । फलस्वस्प २०१९ सालबाट कम्युनिष्ट आन्दोलन २ धारमा विभाजित भयो । त्यसपछि टुटफुट श्रृङ्खला चलिरह्यो । एकता केन्द्र, माले, मसाल, एमाले, माओवादी, एमाओवादी, माओवादी वैद्य समूह, नेकपा (विप्लव), माओवादी केन्द्र आदि आदि । नेपालमा कम्युनिष्ट पार्टी धेरै भईरहेको र पुष्पलालले स्थापना गरेको एउटा कम्युनिष्ट पार्टी अहिले दर्जन बढी भईरहेको र यो अनावश्यक हो भन्ने तर्क भइरहँदा नेपालका दुई ठूला कम्युनिष्ट पार्टी (साविकको एमाले र माओवादी) अकल्पनीय रुपमा एक भए । यो नेपाली जनता र नेपालमा स्थिर सरकार चाहाने विकास प्रेमीका लागी खुशीको कुरा हो । हिजो को कुन ठाउँमा थिए भन्ने भन्दा पनि अबको बाटो एकै हो भन्नेमा नव गठित नेपाल कम्युनिष्ट पार्टीले बुझ्नुपर्छ । हिजो साविकको माओवादी संसदको सबैभन्दा ठूलो दल थियो, अहिले साविकको एमाले संसदको ठूलो छ । तर अब एक भएपछि नेकपा सँग ५२ प्रतिशत जनमत भएको छ । यो ईतिहाँसमै नेपालमा कम्युनिष्टले प्राप्त गरेको सबैभन्दा ठूलो जनमत हो । 

पार्टी एक भएपछि नेता व्यबस्थापनमा ठूलो चुनौती साविकका दुवै दलमा देखिएको छ । पार्टीको हाइकमाण्डमा ९ सदस्य मध्ये ६ जना साविकको एमालले ६ र माओवादीले ३ सिट पाएका छन् । पार्टीको निर्णायक भूमिका रहने कमिटीमा युवालाई प्रतिनिधित्व गराउनुपर्छ भन्ने आवाज सुनिरहँदा यसमा युवा वर्गको प्रतिनिधित्व गर्दै पूर्व अर्थमन्त्री विष्णु पौडेल महासचिव भए । सालिन नेताका छवि बनाएका र वाम एकताका सूत्रधार नारायणकाजी श्रेष्ठ प्रवक्ता तोकिए । 

अझै धेरै भागबण्डा मिलाउन बाँकी रहेको भन्दै एमाले पार्टी कार्यालयका सचिव कृष्ण गोपाल श्रेष्ठ प्रमुख सचेतक चाँडै टुङ्गो लगाउनुपर्ने बताउँछन् । “संसदमा प्रतिपक्षले सत्ता पक्षहरु एक भए, उनीहरुको पार्टीको प्रमुख सचेतक को हो भनेर सोधे भने के जवाफ दिने ? त्यसैले चाँडै टुङ्गो लगाउनुपर्छ” उनले भने । केपी ओलीले आफ्नो कार्यकालमा इतिहासमा कहिल्यै नमेटिने काम गरेको भन्दै मुक्त कण्ठले प्रशंसा गरे । “उहाँ (केपी ओली) पार्टी अध्यक्ष हुँदा स्थानीय तहमा पार्टी पहिलो भयो, साविकको माओवादीसँग चुनावी तालमेल गरेर ६ वटा प्रदेशमा सरकार बनायौँ, अहिले त झन एउटै कम्युनिष्ट पार्टी बनायौ । यस अभियानमा हामीले उहाँलाई पूर्ण सहयोग गरेका छौँ, उहाँको कार्यकालमा इतिहासमा स्वर्ण अक्षरले लेखिने काम भए यसमा हामी गौरव गर्छौँ” उनले थपे ।

एकतालाई कसले के भने ? 

संविधान सभाबाट संविधान जारी भएको भोलिपल्टै तत्कालिन माओवादी केन्द्र परित्याग गरी नयाँ शक्ति पार्टी घोषणा गरेका डा. बाबुराम भट्टराईले प्रचण्डले जबजको विरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै मदनपथ अंगीकार गरेको स्वीकारोक्ति हो कि भन्ने लागेको भन्दै स्पष्ट पार्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल टुईटरमा मदन भण्डारी र जीवरात आश्रितको २५ औँ स्मृति दिवसको प्रशंग जोड्दै लेखेका छन् ः “नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५ औं स्मृतिदिवसमा हार्दिक श्रद्धासुमन ! आजैका दिन एमाले–माके विलयको घोषणाको कुनै संकेतिक अर्थ? प्रचण्डले जबजको विरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै ’मदनपथ’ अंगीकार गरेको स्वीकारोक्ति हो ? प्रष्ट पारियोस् !” भट्टराईले एकताको लागी बधाई दिँदै यस्तोसम्म लेखेका छन् : “एमाले–माके एकता अन्ततः सम्पन्न हुन लागेकोमा दुवैलाई वधाइ र शुभकामना ! तर केही अनुत्तरित प्रश्न : के वानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ?गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुइ हुन्छ समाइनस एकको मूल्य धेरै कि माइनस दुइको ? सर्वहारा अधिनायकत्व छोडेपछि कम्युनिष्ट नाममा मोह किन ?” 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एकताको निम्ती ओली प्रचण्डलाई बधाई दिएका छन् । उनले लेखेका छन् : “नेकपा (एमाले) र नेकपा (माओवादी)का बिचमा एकता भएकोमा खुसी लागेको छ । केपी ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’लाई बधाई तथा शुभकामना” 

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले र माओवादीको एकता सैद्धान्तिक एकता नभएको बताउँछन् । उनी एमाले र माओवादी भागबण्डाका आधारमा मिलेको भन्दै भागबण्डाको एकता छिट्टै फुटमा पुग्ने दाबी गर्छन । ‘एकता सैद्धान्तिक भन्दा पनि भागबण्डाका आधारमा गरिएको छ, यो एक वर्षभित्रै फुट्छ’ उनले भने । 

गतवर्ष मात्रै पत्रकारीता छोडेर राजनीतिमा लागेका रविन्द्र मिश्र एमाले माओवादी एक भएपनि आचरण उही भएको तर्क गर्छन् । पहिला साझा पार्टी र त्यसपछि उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलसँग पार्टी एकता गरी विवेकशील साझाको संयोजक बनेका उनी सामाजिक सञ्जाल टुईटरमा यस्तो लेख्छन् : “एमाले, माओवादी एकता प्रकरण: शक्ति बदलियो । सोच र आचरण बदलिएको छैन । पात्र तिनै हुन्, प्रवृत्ति तिनै हुन् । खराब प्रवृत्तिहरू एक ढिक्का हुँदा त्यो झन् जब्बर बन्न सक्छ । यो एकताले सबैका खराब प्रवृत्तिलाई इतिहास बनाइदेओस् र असल प्रवृत्ति उजागर गरोस् (नेपालको जय होस् ! धेरैधेरै शुभकामना !” 

केही राजनीतिक विश्लेषकहरु पनि लामो छलफल नै नगरी पार्टी एकता गरेकाले दिगो हुनेमा आशंका रहेको बताउँछन् । पार्टी एकता गर्ने भनेर निर्वाचनमा होमिएका दुई दल (एमाले/माओवादी) ले जनताबाट पार्टी एकताको नारालाई अनुबन्धित स्वरुप मत पाए । त्यसै अनुरुप हिजो जनतामाझ गरिएका बाचा पूरा गर्ने क्रममा पार्टी एकता भएको छ । यो राम्रो सुरुवात हो भन्ने आम नागरिकको बुझाई छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved