आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा चल्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 21, 2018 | 07:57:21 AM मा प्रकाशित

laxmi  sunrise bank

यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले सोमबारदेखि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याउने भएको छ । यसअघि सरकारले २४सै घण्टा विमानस्थल सञ्चालन गर्ने बताए पनि साधन र स्रोतको व्यवस्थापन, जनशक्ति आदि कारणले तीन घण्टा कम अर्थात् २१ घण्टामात्रै सञ्चालन गर्न लागिएको हो । 

विमानस्थलमा बढ्दो यात्रुको चापलाई व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय उडानलाई थप प्रभावकारी बनाउन सञ्चालनमा नयाँ पन दिन लागिएको हो । 

एउटामात्रै विमानस्थल हुँदा सामान्य दुर्घटना हुँदा समस्या आउने, लामो समयसम्म जहाज आकाशमा नै होल्ड गर्नुपर्नेजस्ता जटिलताका कारण पनि सरकारले दिन, रात दुवै समयमा विमानस्थल सञ्चालनमा ल्याउन लागेको हो । 

हवाई ट्राफिक व्यवस्थापन तथा उडान र अवतरणमा देखिएका समस्या समाधानका लागि पनि सञ्चालन अवधि बढाइएको हो । 

हाल विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म जम्मा १८ घण्टा सञ्चालन भइरहेको छ । सञ्चालन अवधि २१ घण्टा पुर्याउँदा त्यो समय बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्मको हुनेछ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन अवधि लम्ब्याउन निर्देशन दिएका थिए । 

मन्त्री अधिकारीको १०० दिने कार्ययोजनाको उच्च प्राथमिकता परेको यो कार्यलाई सफल तुल्याउन सरोकार भएका निकाय तथा विज्ञसँग मन्त्री अधिकारीले पटक–पटक छलफल गरिसकेका छन्। 

विमानस्थल २१ घण्टा सञ्चालनको आवश्यक तयारीबारे नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का उच्च पदाधिकारी, विमानस्थल व्यवस्थापन तथा प्राविधिकलगायत क्षेत्रमा काम गर्ने सबै निकायका कर्मचारीसँग आज अन्तक्र्रिया गरी मन्त्री अधिकारीले विमानस्थललाई चुस्तदुरुस्त बनाउन यसअघि नै आग्रह गरिसकेका छन् । 

विमानस्थलको पूर्वाधार तथा जनशक्ति व्यवस्थापनका लागि सबै किसिमको तयारी गरिएको छ । त्यसका लागि अध्यागमन, सुरक्षाकर्मी, ग्राउण्ड ह्यान्डलिङलगायतमा समेत थप जनशक्ति व्यवस्थापन तथा सेवा सुविधासमेत बढोत्तरी गरिएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम विमानस्थल सञ्चालनको अवधि थपिएको र त्यसका लागि प्राधिकरणका तर्फबाट आवश्यक तयारी सम्पन्न भएको बताउँछन् । 

सुरक्षा निकायलगायत विमानस्थलका साझेदार सबै निकायसँग समन्वय गरी सेवालाई चुस्त र प्रभावकारी बनाउने तथा भविष्यमा आवश्यक पर्ने जनशक्ति व्यवस्थापनको सबै तयारी सकिएको प्राधिकरणले जनाएको छ । 

हाल विमानस्थलमा ६७ एटिसीले छुट्टाछुट्टै कार्य समयमा काम गर्छन् । विमानस्थल सञ्चालन २१ घण्टा पु¥याउँदा ८५ देखि ९० एटिसी आवश्यक पर्छ । प्राधिकरणसँग हाल २५० एटिसी छन् । 

विमानस्थलबाट अहिले आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक करीब ४०० उडान अवतरण हुने गरेको छ । जसमा आन्तरिकतर्फ हेलिकप्टरसहित करीब ३५० र अन्तर्राष्ट्रियतर्फ दुई नेपालीसहित ३० वटा वायु सेवा प्रदायकले दैनिक १०० भन्दा बढी उडान भर्दै आएका छन् । 

दैनिक एक हजार ३०० यात्रु व्यवस्थापनको क्षमता भएको अन्तर्राष्ट्रिय विमानस्थलमा हाल बढी व्यस्त समयमा दुई हजार ५०० भन्दा बढी यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । विमानस्थलमा सरकारी एवं निजी कम्पनीसहित करीब ८० निकाय सक्रिय छन् । सन् १९५० देखि उडान तथा अवतरण शुरु गरेको विमानस्थललाई सन् १९६४ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ नामाकरण गरिएको थियो । 

सहज छैन व्यवस्थापन 

सरकारले विमानस्थल सञ्चालनको समय बढाए पनि व्यावहारिक कार्यान्वयनका क्रममा आइपर्ने समस्यासँग जुध्नका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्ने जानकारको टिप्पणी छ । 

अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यासका आधारमा संवेदनशील उड्डयन क्षेत्रलाई सुरक्षित भरपर्दो बनाउँदै जनशक्ति व्यवस्थापनको पक्षलाई ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । 

प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दली भन्छन्, “नीतिगतरुपमा २१ घण्टा विमानस्थल सञ्चालन गर्ने विषय ठीक छ । तर कार्यान्वयनको योजना के कसरी बनाइएको छ र मन्त्रालय तथा प्राधिकरणले जनशक्ति व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गरेको छ । सोही आधारमा सञ्चालनको अवस्था निक्र्योल गर्नु पर्दछ ।” 

शुरुमा दैनिक १२ घण्टामात्रै सञ्चालनमा रहेको विमानस्थल नेपाल वायु सेवा निगमले ठूला जहाज ल्याएपछि करीब २२ वर्षपछि नियमित १८ घण्टा सञ्चालनमा ल्याइएको दलीको भनाइ छ । 

अन्तर्राष्ट्रिय विमानस्थलको अभ्यासअनुसार दैनिक तीनसत्रमा आठ/आठ घण्टाका दरले कर्मचारी व्यवस्थापन गरिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने दैनिक बिहान र बेलुका गरी छ/छ घण्टा मात्रै कार्य समय तोकिएको छ । 

विमानस्थलका पूर्वमहाप्रबन्धक देवानन्द उपाध्यायले साधन र स्रोत वृद्धि गरेर यात्रुलाई सेवा दिने तवरले नै काम गर्नुपर्ने टिप्पणी गर्छन् । उनले भने, “२१ घण्टा विमानस्थल सञ्चालन कुनै समस्या छैन ।” भूकम्प र टर्किस एयरको जहाज दुर्घटनाको समयमासमेत चौबिसै घण्टा विमानस्थल सञ्चालन गरिएको थियो । पूर्वाधारको विस्तार, कर्मचारीको क्षमतामा अभिवृद्धि तथा सञ्चालन क्षमतामा समेत बढोत्तरी गर्नुपर्ने उपाध्यायको भनाइ छ । 

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री विमानस्थल सञ्चालनको कार्य समय बढाउने सन्दर्भमा सबै तयारी भइसकेको बताउछन् । उनले अध्यागमन, भन्सार, सुरक्षा निकायलेसमेत सेवा विस्तारलाई स्वागत गर्दै आवश्यक समन्वयन गर्ने वचन दिइसकेको जानकारी दिए । 

विमानस्थल प्रस्थान गर्ने मुख्यद्वार (गोल्डेन गेट) बाट प्रवेश गर्नमात्रै दिइनेछ भने बाहिरिनका लागि सिनामंगलतर्फ निर्माण भएको नयाँ गेट प्रयोग गर्नुपर्नेछ । सोमबार नै सो गेट तथा पाकिङस्थलको समेत उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै अग्नि नियन्त्रणका लागि ‘कमाण्ड कार’ समेत सञ्चालनमा ल्याउने तयारी छ । 

मालसामान जाँचका लागि ‘सेक्युरिटी स्क्रिन प्रणाली’ सञ्चालनमा ल्याउन लागिएको छ । 
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved