नीति तथा कार्यक्रम आज, कसरी सम्बोधन होला बाम घोषणापत्रको बाचा ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 21, 2018 | 08:37:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारको आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रम आज सोमबार सार्वजनिक हुँदैछ । मन्त्रिपरिषदको आइतबारको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो  ।  सोहि अनुसार राष्ट्रपति भण्डारीले सोमबार दिउँसो बस्ने दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछिन् ।

नेकपा एमाले र माओबादी केन्द्र बीच एकिकरण भई बनेको नेकपा सरकारले ल्याउने नीति तथा कार्यक्रमलाई चासोका साथ हेरिएको छ   ।  नीति तथा कार्यक्रममा जलमार्ग, रेलमार्ग एवं केही ठूला आयोजना प्राथमिकतामा रहेको स्रोतले बताएको छ । त्यस्तै भौतिक पूर्वाधार, निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने, करको दायरालाई फराकिलो बनाउने, निजी क्षेत्रको आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने तथा विदेशी लगानी भित्राउने सवालमा ठूला आयोजनालाई प्राथमिकतामा पार्ने गरी नीति तथा कार्यक्रम आउने सम्भावना छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका साथसाथै सबै श्रमिक तथा कर्मचारीलाई स्वास्थ्योपचार, बेरोजगार भत्ता, आश्रित परिवारको हेरचाहदेखि निवृत्तिभरणजस्ता न्यूनतम सामाजिक संरक्षणका सुविधा प्रत्याभूति गरिने कार्यक्रम समाबेश हुने छन् ।

एकै घोषणापत्रका साथ चुनावमा उत्रेका २ दल अहिले एक भईसकेको साथै २ तिहाइ भन्दा बढी बहुमतका साथ सरकार संचालन गरिरहेकोले नीति तथा कार्यक्रमले घोषणापत्रका बाचा पुरा गर्न कस्ता कार्यक्रम ल्याउला भन्नेमा आम चासो छ  । 

नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही दिन छलफल हुने र त्यसमाथि सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले सदनमा दिनेछन् । त्यसपछि उक्त नीति तथा कार्यक्रम पारितका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत भई पारित हुनेछ । सोमबारै राष्ट्रपतिको सम्बोधनलगत्तै प्रतिनिधि सभाको बैठक साँझ साढे ५ बजे बस्नेछ । बैठकले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको स्वागत गर्ने र राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved