सिन्धुलीमा 'नाकाबन्दी': ४ जिल्ला जाने मालबाहक गाडी रोकिंदा दैनिक उपभोग्य वस्तुको अभाव

निरोज कुमार थापा

निरोज कुमार थापा

May 21, 2018 | 01:35:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बीपी राजमार्गमा १० टनभन्दा बढी क्षमताका सवारी साधन सञ्चालनमा रोक लगाएपछि रामेछाप सहित ४ जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । सरकारी निर्देशन भन्दै सिन्धुली प्रशासनले गाडी चलाउन नदिएपछि दैनिक उपभोग्य सामानको ढुवानीमा समस्या परेको हो । सिन्धुली प्रशासनले तराईबाट दोलखा, रामेछाप, ओखलढुंगा र सोलुखुम्बु हिडेका गाडीलाई चार दिनदेखि सिन्धुली माडीमै रोकी राखेको छ । नाकाबन्दीको झल्को दिने गरी सिन्धुलीमा गाडी रोकिदा छिमेकी जिल्लामा खाद्यान्न सहित दैनिक उपभोग्य सामानको अभाव भएको छ । 

गाडी रोकिएपछि रामेछापमा दैनिक उपभोग्य सामान तथा निर्माण सामग्रीको अभाव सुरु भएको छ । तराईबाट आउने उपभोग्य सामान तथा निर्माण सामग्री जिल्ला भित्रन पाएका छैनन् । यातायात व्यवस्था विभागले १० टनभन्दा माथिका ढुवानीका साधन तथा १९ सिट भन्दा बढी क्षमताका यात्रुबाहक गाडी चलाउन नदिन भन्दै परिपत्र गरेपछि सिन्धुली प्रशासनले तराईबाट आउने गाडीहरुलाई सिन्धुलीमाडीमै रोकेको हो । विभागले सडकको भारबहन क्षमता कमजोर भएको देखाउँदै ठूला गाडी सञ्चालनमा रोक लगाएको हो । 

यस अघि पनि विभिन्न समयमा सिन्धुली प्रशासनले विभागको आदेश भन्दै मालबाहक र ठूला सवारी प्रवेशमा रोक लगाउँदै आएको थियो । यसपटक भने विभागले नै त्यस्तो निर्देशन दिएपछि तराईसँग आश्रित भएर खाद्यान्न र निर्माण सामग्री ल्याउनुपर्ने बाध्यात्मक अबस्थामा रहेका रामेछाप जिल्लाबासी विभागको यस्तो निर्देशन पछि मारमा परेका छन् । 

के भन्छ यातायात व्यबस्था विभाग ?

यातायात व्यबस्था विभाग अन्य कुनै राजमार्गमा भारबहन क्षमताका आरधारमा गाडी सञ्चालन गर्न पाउने नियम नभएपनि बीपी राजमार्गमा सो नियम भएको बताउँछ । विभागको निर्णयबाट अन्य जिल्लाबासी मारमा पर्नेभएपनि विभागका सूचना अधिकारी तुलसीराम अर्याल भने तोकिएको भारबहन क्षमताका गाडी चलाउन अनुरोध गर्छन् । “यो नियम पहिलेकै हो, अहिले त कडाईका साथ कारबाही मात्रै गरिएको हो, अन्य जिल्लालाई मार परेको छ, तर मार परेको छ भन्दैमा सडक नै भत्काउने गरी त प्रयोग गर्न पाईएन नि, तोकिएको भारबहन क्षमताका गाडी प्रयोग गर्नुपर्छ । गाडी चलाउनै नपाईने भनिएको होईन, सिमित क्षमताका गाडी चलाउन दिईएको छ । यात्रुको सुरक्षा र बाटो जोगाउन यो काम गरिएको हो” उनले भने । उनी निर्णयबाट पछि नहट्ने भन्दै तोकिएको क्षमताका सवारी चलाउन आग्रह गर्छन् । 

यातायात व्यबस्था विभागका मेकानिकल इन्जिनियर मोहन भट्टराई राजमार्ग सञ्चालनमा आएपछि जथाभावी गाडी सञ्चालन भएको र दुर्घटना बढेपछि २०६८/०६९ मा गठित समितीले दिएको प्रतिवेदनका आधारमा भारबहन क्षमता तोकिएको बताउँछन् । राजमार्ग सञ्चालन भएपछि सडक कमजोर भएर भत्किएको र सडक दुर्घटना बढेपछि जाईका, ट्राफिक प्रहरी र सडक विभाग सम्मिलित समिती मार्फत भारबहन क्षमता तोकिएको उनको भनाई छ । यातायात व्यबस्था विभागका तत्कालिन टेक्निकल डाइरेक्टर सरद अधिकारीको संयोजकत्वमा गठित समितीले राजमार्गको भौगोलिक अबस्थाले १० टन जीबिडब्लु (GBW) क्षमता भन्दा बढीका गाडी सञ्चालन गर्दा सडकले नथेग्ने भन्दै प्रतिवेदन दिएपछि विभागले यस्तो नियम बनाएको हो ।

विभागका अनुसार राजमार्गको खुर्कोट देखी सिन्धुली ३७ किलोमिटर खण्ड सबैभन्दा कमजोर खण्ड हो । बीपी राजमार्ग (बनेपा–सिन्धुली–बर्दिबास) मा यो नियम लागू भएको छैन् । विभागका मेकानिकल इन्जिनियर भट्टराई धुलीखेल देखी सिन्धुली कमजोर खण्ड भएकोले यस क्षेत्रमा ठूला सवारी सञ्चालन गर्न नदिईएको बताउँछन् । उनका अनुसार खुर्कोट सिन्धुली सडकखण्ड निर्माणमा त्यहाँको कुनैपनि संरचना नबिग्रीने गरी अन्यत्रबाट माटो ल्याएर त्यही माटो विछ्याएर वायो इन्जिनियरिङ प्रणालीमा जसरी निर्माण गरिएकोले सडक कमजोर भएकोले गाडी जोगाउन भन्दा पनि बाटो जोगाउन यो नियम लागू गर्नुपरेको बताउँछन् । खुर्कोट देखी सिन्धुली खण्ड निर्माण गर्दा जाईकाले प्रतिकिलोमिटर ५८ करोड लगानी गरेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved