विदेशिने नेपालीको संख्या घटेसंगै रेमिटेन्समा पनि गिरावट, पासपोर्ट बनाउने घटेनन

निरोज कुमार थापा

निरोज कुमार थापा

May 28, 2018 | 12:51:00 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय विदेश जाने नेपालीको संख्या घटेको छ । श्रम स्वीकृति लिनेको तथ्यांकलाई हेर्दा अहिले विदेशीने नेपालीको संख्या कम हुँदै गएको पाईएको छ । विदेश जानेको संख्या घट्नुमा व्यक्ति स्वयम् जान नचाहेको भन्दा पनि केही निर्देशिका थप र परिमार्जन भएका कारण विदेशीनेको संख्या घटेको वैदेशीक रोजगार विभागको अनुमान छ ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव प्रसाद रिसाल मलेशियाको पूर्व श्रम स्वीकृती रोकिएको कारण विदेश जानेको संख्या घटेको बताउँछन् । मलेशियामा पहिले नै श्रम स्वीकृती लिएका र सबै प्रक्रिया पूरा गरेका कामदार मात्रै गएका छन् । त्यहाँ नेपालीले भोग्नु परेको समस्यामा कमी नभएपछि नेपाल सरकारले कुटनीतिक पहल मार्फत नयाँ निर्णय नभएसम्म मलेशियामा नयाँ कामदार नपठाउने जनाएको छ । यसअघि पनि मलेशियामा हुने गरेका घटनाका कारण नेपाली कामदार त्यहाँ जान डराएका थिए । यस अघि मलेशियामा सबै भन्दा धेरै नेपाली जाने गरेका थिए ।

अहिले साउदी अरबमा पनि कामदारको माग निकै कम भएकोले पनि विदेश जानेको संख्यामा कमी आएको हुनसक्ने विभागका अधिकारीको अनुमान छ । विभागका सूचना अधिकारी रिसालका अनुसार विभागले हालै सम्बन्धित देशको दुतावासबाट सिफारिस गराउनुपर्ने बाध्यकारी निर्देशिका पनि जारी गरेको छ । सूचना अधिकारी रिसाल यो निर्देशिकाको प्रभाव देखिनसकेको तर केही समयमा यसको प्रभाव प्रष्ट देखिने बताउँछन् । “यो निर्देशिकाको प्रभाव देखिएको छैन, तर केही समयमा देखिने निश्चित छ । दुतावासबाट सिफारिस गराउनुपर्ने बाध्यता थिएन, अहिले त्यो पनि थपिएको छ । किनकी अब प्रक्रिया लामो हुन्छ, त्यसकारण केही समय अझ विदेश जानेको संख्या घट्ने देखिन्छ” उनले भने ।

नेपाल सरकारले वैदेशीक रोजगारीको लागी अनुमति दिएका जम्मा १ सय १० वटा देशहरुमा अहिले निर्वाध कामदार गईरहेका छन् । तर खाडीका ६ वटा देश र अन्य केही देशले जतिपनि कामदार लिने तर अधिकांश देशले निश्चित मात्रै कामदार मगाउने हुँदा खाडीका देशमा नेपाली कामदारको चर्को चाप छ । वैदेशिक रोजगार विभागको कार्यालय, ताहाचालका अनुसार अहिले विदेश जानको संख्या दैनिक १ हजार देखी १ हजार २ सयको हाराहारीमा छ । यसअघि दैनिक १ हजार ५ सयसम्म विदेश जाने गरेका थिए ।

सरकारले लिविया, अफगानस्तान र इराकमा कामदार पठाउन प्रतिवन्ध लगाएको छ । ताहाचल कार्यालयका अनुसार नेपाली नियोग भएका देशहरुबाट मात्रै कामदार पठाउनु पर्ने र दुताबासबाट सिफारिस भएर आएपछि मात्रै जान पाउने प्रावधानका कारण केही समयदेखी विदेश जानेको संख्या घटेको हो । मलेशियाको हकमा भने पहिले मेडिकल परीक्षण सकेका गएका छन् । अहिले नयाँ कामदार पठाउन रोकिएको छ ।

विदेशिनेको संख्या घटेपछि नेपाल आउने रेमिटेन्स पनि घटेको छ । राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार गत बर्ष चैत्र महिनासम्ममा रेमिटेन्स ६.३ प्रतिशतले बढेकोमा यस बर्ष चैत्र सम्म ५.६ प्रतिशतले मात्र बढेको छ । यसले रेमिटेन्स वृद्धि दर घटेको देखाऊछ । त्यस्तै चैत्रसम्मको अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) ६.८ प्रतिशतले घटेको छ ।

तथ्याङमा विदेश जानेको संख्या घटेको देखिएपनि राहदानी बनाउनेको संख्यामा भने कुनै कमी आएको छैन । राहदानी विभागका महानिर्देशक रामकाजी खड्का दैनिक २ हजार २ सयदेखी २ हजार ५ सयसम्म राहदानी वितरण भईरहेको बताउँछन् । उनले भने, “विभागमा राहदानी लिनेको भिड देख्दा विदेश जानको संख्या घट्यो भनेर पत्याउने अबस्था छैन, दैनिक २५ सयसम्म पासपोर्ट वितरण भईरहेको छ । विभिन्न जिल्ला र कुटनीतिक नियोगबाट सिफारिस भएर आएकाको संख्या हेर्दा घटेको जस्तो लाग्दैन ।” रोजागारीकै लागी विदेश जानेको संख्या घटेको हुनसक्ने भन्दै उनले थपे, “विभागबाट राहदानी लिनेको संख्यामा कुनै कमी आएको छैन । राहदानी लिएका सबैले रोजगारीको लागी विदेश जान नभई अन्य प्रयोजनका लागी पनि लिएको हुनसक्छ ।” विभागबाट राहदानी लिने मध्ये अधिकाँशले वैदेशिक रोजगारीकै लागी लिएका हुन्छन् । महानिर्देशक खड्का भन्छन्, “मेरो अनुमानमा राहदानी लिने मध्ये ९० प्रतिशत राहदानी वैदेशीक रोजगारीको लागी प्रयोग हुन्छ, बाँकी १० प्रतिशत भनेको घुम्न जाने, विदेशमा छोराछोरीले बोलाएर जाने र विदेशमा व्यापार गर्न जाने रहेका छन, बाँकी सबै कामकै लागी जाने हुन् ।”

राहदानी लिने मध्ये १७ वर्षदेखी ३० वर्षसम्म उमेर समूहका धेरै रहेका छन् । उनीहरु युवा हुनाले विदेशमा काम गर्नैको लागी राहदानी बनाउने गरेका छन् । सेप्टेम्बर, जुलाई र नोभेम्बर÷डिसेम्बरमा विदेशमा पढ्न जाने तयारी गरेका बढी विद्यार्थी राहदानीको लागी विभाग पुग्छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved