सरकारले ल्याएको बजेट कार्यान्वयन हुँदैन : डा. महत

निरोज कुमार थापा

निरोज कुमार थापा

May 30, 2018 | 02:40:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा.रामशरण महतले आर्थिक वर्ष २०७५/७६ को बजेट कार्यान्वयन हुन नसक्ने दाबी गरेका छन् । डा. महतले सरकारले ल्याएको बजेट आश्वासन र उद्देश्य राम्रो भएको तर कार्यान्वयनका आधार नै नभएको बताएका हुन् । उनले सरकारले लिएका अधिकांश लक्ष्य विरोधाभास रहेको समेत आरोप लगाए । पाँच वर्षमा प्रतिव्यक्ति आय दोब्बर गर्ने र आर्थिक वृद्धिदर भने ८ प्रतिशत पुर्याउने भन्ने योजनाबीच तालमेल नमिल्ने उनको दाबी छ । 

उनले भने, “५ वर्षमा प्रतिव्यक्ति आय दोब्बर बनाउन वार्षिक रुपमा २० प्रतिशतका दरले आय बढ्दै जानुपर्छ । तर आर्थिक वृद्धिदरको लक्ष्य ८ प्रतिशत छ । यसमा तालमेल मिल्दैन । किनकी ८ प्रतिशत आर्थिक वृद्धिदर पुर्याउन कूल ग्राहस्थ उत्पादनको ४३ प्रतिशत लगानी गर्नुपर्छ । सरकारको लगानी गर्ने क्षमता २० प्रतिशत मात्रै छ । निजी क्षेत्रको लगानी ८० प्रतिशत छ । तर निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरिएको छैन । यसकारण कुनै पनि लक्ष्य हासिल हुन कठीन छ ।” 

राजश्व वृद्धिको लक्ष्य ३० प्रतिशत भएपनि त्यो सम्भव नहुने महतले बताए । करको अधिकार प्रदेश र स्थानीय तहमा गएको अवस्थामा राजश्व पनि बाँडफाँट हुने भएकाले संघमा ३० प्रतिशत राजश्व उठाउन नसकिने महतको जिकिर छ । सातवटै प्रदेशलाई बजेट छुट्टयाईएको तर संयन्त्र, प्राविधिक र प्रशासनिक क्षमता वृद्धिप्रति बेवास्ता गरिएको महतको आरोप छ । 

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा नहुने महतको दाबी छ । “अहिले १० लाख पर्यटन नेपाल आउँछन् । वार्षिक वृद्धिदर बढिमा १७ प्रतिशत छ । विमानस्थल र अन्य पूर्वाधार छैन । दुई वर्षभित्रमा सतप्रतिशत कसरी बढ्छ ?” उनले प्रश्न गरे । कृषि उत्पादन पाँच वर्षमा दोब्बर बनाउने लक्ष्यपनि पूरा नहुने महतले बताए । महतले भने,“पाँच वर्षमा कृषि उत्पादन दोब्बर नेपालमा मात्रै होइन, विश्वका जुनसुकै देशमा पनि सम्भव छैन ।” प्रधानमन्त्री कार्यालयलाई पाँच लाख रोजगारी सृजना गर्ने जिम्मा दिनु गलत भएको महतको भनाई छ । उनले भने,“प्रधानमन्त्रीको कार्यालायलाई अहिलेसम्मकै धेरै बजेट दिनु उचित थिएन । अनुगमन गर्ने निकायलाई काम गर्ने जिम्मा दिनु गलत छ ।”

अधिकांश कार्यक्रम विगतकै सरकारले ल्याएकोलाई निरन्तरता दिइएको भन्दै उनले नयाँ आशालाग्दा कार्यक्रम बजेटमा नभएको बताए । बजेटको २५ प्रतिशत रकम वैदेशिक सहायतामा भर परेपनि त्यो रकम प्राप्त हुन कठिन हुने महतले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved