दैनिक ५ सय स्मार्ट लाईसेन्स छाप्दै बिभाग, कहिले पाउलान सेवाग्राहीले ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 03, 2018 | 02:15:26 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले सवारी चालक अनुमति पत्र (लाईसेन्स) लिन धेरै झन्झट नभएपनि लाईसेन्स हातमा पर्न भने महिनौ लाग्ने गरेको छ । परीक्षा दिएको महिनौ सम्म पनि लाइसेन्स नआएपछि सार्वजनिक तथा नीजि सवारीका चालकहरु राजस्व तिरेको रसिदको भरमा काम चलाउँदै छन् । राजस्व तिरेको रसिदको पनि लाइसेन्स सरह मान्यता हुने भएपनि असजिलो भने पक्कै महशुस गर्छन चालकहरुले । 

निजी सवारी (मोटरसाईकल) को लाइसेन्सको लागी परीक्षा दिएर उत्तिर्ण भएका एक जना व्यक्ति ७ महिनासम्म पनि आफूले लाइसेन्स नपाएको भन्दै राजस्व तिरेको रसिद बोक्न बिर्सिएको बेलामा पटक पटक ट्राफिकको फन्दामा परेको बताउँछन् । उनी भनछन्, “लाइसेन्स भए सजिलो हुन्थो, सधै पकेटमै हुन्थ्यो ।”

चार पाङ्ग्रे गाडीको लाइसेन्सको परीक्षा उत्तिर्ण गरी राजस्व तिरेको रसिदको भरमा गाडी चलाउँदै आएका सितल माझि लाइसेन्स समयमै नआइदिँदा आफूलाई यातायात व्यबस्था विभागले दिएको कागज च्यातिन लागिसकेको बताउँछन् । “यो कागज त साह्रै झन्झटिलो छ । यि हेर्नुस् न पट्याउँदा पट्याउँदा झुत्रो हुन लागिसक्यो, लेमिनेशन पनि उक्किन लागिसक्यो” उनले भने ।

के भन्छ विभाग ?

तर यातायात व्यबस्था विभागका सूचना अधिकारी तुलसीराम अर्याल अहिले यति समय लाग्छ भन्न नसकिएको तर ५ देखी ६ महिनासम्म चालक अनुमति पत्र प्रदान गरिरहेको बताउँछन् । उनले अब चाँडै नै स्मार्ट लाइसेन्स वितरण गरिने पनि बताए । उनले थपे, “यस अघि हामीसँग प्रविधि थिएन, भारतबाट छपाउनु पथ्र्यो, अहिले मेसिन हामीले ल्याइसक्यौ अब ढिला हुँदैन ।” गतवर्ष नै स्मार्ट लाइसेन्स छापने मेसिन ल्याउने तयारी भएपनि गतसाल टेन्डर भएर अहिले विभागले मेसिन आफैँ झिकाएको छ । 

विभागका सूचना अधिकारी अर्यालका अनुसार अहिले विभागसँग ९ वटा मेसिन छ । त्यसमध्ये ४ वटाले काम गरिरहेको छ । उनका अनुसार अहिले दैनिक ५ सय लाइसेन्स छापिँदै आएको छ । “विहान १० बजेदेखी बेलुका ५ बजेसम्म मेसिन चलाउँदा ५ सय वटा लाइसेन्स छापिन्छ, हामीले विहान ७ बजेदेखी नै चलाउँदै आएका छौँ । जति समय चलाउन सक्यो, त्यति नै धेरै छापिन्छ” उनले भने ।

विभागका अनुसार अहिले २ लाखभन्दा धेरै सेवाग्राही रसिदकै भरमा छन् । यही हप्ताबाट सबै मेसिन सञ्चालनमा ल्याएर बीचमा मेसिन नबिग्रिए आगामी २ महिना भित्रमा रसिद लिएर काम चलाउँदै आएकालाई स्मार्ट लाइसेन्स वितरण गरिसक्ने विभागको लक्ष्य छ । त्यसपछि आउने ग्राहकलाई भने बढीमा २ महिना भित्रमा स्मार्ट लाइसेन्स वितरण गर्न सक्नेगरी काम गरिरहेको विभागको भनाई छ । 

निजी क्षेत्रको योगदान कस्तो छ ?

स्मार्ट लाइसेन्स वितरण प्रक्रिया ढिलाई भइरहँदा नीजि क्षेत्रले पनि त्यस आवश्यकतालाई पूर्ति गर्न थालेको छ । केही दिन अघि मालिका इन्कर्पोरेटले स्मार्ट लाइसेन्स, एटीएम, लगायतका डिजिटल स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि नेपालमा भित्र्याएको छ । सरकारी तथा नीजि क्षेत्रले जारी गर्ने लाईसेन्स तथा कार्डहरु नेपालमा तयारी हुन नसकिरहेको सन्दर्भमा नेपालमै यस्तो प्रविधि भित्रिएको हो । 

भारतमा आधार कार्ड, लाइसेन्स, एयरफेर्सको सेक्युरिटी लगायत क्षेत्रमा सेवादिंदै आएकोे जेब्रा ब्राण्डलाई मालिकाले नेपाल प्रवेश गराएको हो । यसले स्मार्ट लाइनेन्स, राष्ट्रिय परिचयपत्र, एटीएम लगायतका डिजिटल कार्डहरु नेपालमै बनाउनेछ । यो प्रविधि नेपाल भित्रिएसँगै स्मार्ट लाइसेन्स बितरणमा भईरहेको ढिलासुस्तीको अन्त्य हुने विश्वास लिईएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved