चीनबाट एक खर्ब सात अर्ब लगानी प्रतिबद्धता प्राप्त

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 18, 2018 | 04:16:35 PM मा प्रकाशित

laxmi  sunrise bank

एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागका अनुसार हालसम्म चीनबाट एक हजार २९९ उद्योग स्थापनाका लागि रु ७९ अर्ब ४० करोड ५१ लाख ९० हजारबराबरको प्रतिबद्धता आएको छ । 

कृषि तथा वनजन्य उद्योग १००, निर्माण दश, ऊर्जासँग सम्बन्धित १८, सञ्चार प्रविधि १०, उत्पादनमूलक उद्योग २६५, खानीजन्य उद्योग ४७, सेवा क्षेत्र ४०३ र पर्यटन उद्योगसँग जोडिएका ४४६ उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको हो । ती उद्योगबाट करीब ६० हजारले रोजगारी पाउनेछन् । उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले पछिल्लो दिनमा चिनियाँ लगानी बढ्दै गएको बताए  । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि गर्न लागेको चीन भ्रमणका क्रममा केही ठूला भौतिक पूर्वाधारका योजनामा चिनियाँ सहयोग उपलब्ध गराउन आग्रह गर्ने तयारी गरिएको छ । हिमालय सीमापार रेलमार्ग, विभिन्न सडक करिडोर निर्माण, ऊर्जा जलस्रोत क्षेत्रमा साझेदारी र लगानीका विषयमा प्रधानमन्त्रीको भ्रमणका क्रममा द्विपक्षीय सहमति गरिने बताइएको छ । 

आगामी आर्थिक वर्षमा आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको सरकारले स्वदेश्ी तथा विदेशी लगानीलाई विशेष प्राथमिकता दिएको छ । यस्तो सन्दर्भमा पछिल्लो दिनमा चिनियाँ लगानीको प्रतिबद्धता गुणात्मक र मात्रात्मकरुपमा समेत बढेको प्रवक्ता भुसालको भनाइ छ । 

विभागका अनुसार चीनको हङ्कङबाट ४० उद्योग स्थापनाका लागि रु २७ अर्ब ३६ करोड ६६ लाखबराबरको लगानी प्रतिबद्धता आएको छ । त्यसमा निर्माण दुई, ऊर्जा, दुई, सञ्चार प्रविधि एक, उत्पादनमूलक सात, सेवामूलक १४ र पर्यटनका १४ उद्योग स्थापनाका लागि प्रतिबद्धता प्राप्त भएको हो । ती उद्योगबाट करीब पाँच हजार जनाले रोजगारी पाउनेछन् । 

यस्तै चीनको ताइवानबाट १९ उद्योग स्थापनाका लागि रु ४० करोड ४६ लाख २० हजारबराबरको प्रतिबद्धता प्राप्त भएको छ । ती उद्योगले करीब एक हजारजनालाई रोजगारी प्रदान गर्नेछ । कृषि, सञ्चार प्रविधि, उत्पादनमूलक र सेवामूलक उद्योग र पर्यटनमूलक उद्योग स्थापना हुनेछन् । 

चीनबाट ठूला ३९, मझौला १०४ र साना एक हजार एक हजार १५६ उद्योग स्थापनाका लागि प्रस्ताव आएको विभागको भनाइ छ । यस्तै हङ्कङबाट ठूला ११, मझौला नौ र साना २० उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको हो । विभागले दिएको जानकारीअनुसार चीनको ताइवानबाट एक ठूला उद्योग, चार मझौला र १४ साना उद्योग स्थापनाका लागि प्रस्ताव आएको छ । प्राप्त भएका प्रस्तावलाई आवश्यक प्रक्रिया पु¥याएर उद्योग स्थापनाका लागि स्वीकृति दिइसकिएको छ । 

पछिल्लो समयमा चिनियाँ लगानीकर्ता जलविद्युत्, सिमेन्ट, पर्यटन तथा सेवामूलक क्षेत्रमा आकर्षित भएका छन् । रु ३६ अर्ब लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योगले उत्पादन शुरु गरिसकेको छ । यस्तै रु १५ अर्ब लगानीको अर्को सिमेन्ट उद्योग स्थापनाका लागि चिनियाँ कम्पनी हुवाजिनले लगानी बोर्डसँग प्रारम्भिक सम्झौता गरिसकेको छ । 

यस्तै पछिल्ला दिनमा निजी क्षेत्रको सहकार्यमा विभिन्न जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ लगानीकर्ता आकर्षित भएका छन् । सुपर साञ्जेन, रसुवा भोटेकोशी, खिम्ती दुई, त्रिशूली गल्छीजस्ता आयोजनामा चिनियाँ लगानी आकर्षित भएको छ । 

प्रधानमन्त्री ओलीको भ्रमणपछि थप लगानी भित्रने निजी क्षेत्रको विश्वास छ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा सरकारी र निजी क्षेत्रको साझा प्रयत्नमा विकास निर्माणका योजना अगाडि बढाउन भ्रमणबाट थप बल पुग्ने विश्वास व्यक्त गर्नुहुन्छ । उनले प्रधानमन्त्रीको भ्रमणपछि केही ठूला परियोजनामा चिनियाँ लगानी भित्रने बताए  । यस्तै बुटवल पावर कम्पनीको साझेदारीमा करीब एक हजार मेगावाट क्षमताको आयोजना निर्माणका लागि चिनियाँ लगानी भित्र्याउने तयारीसमेत गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved