नेपाल अवश्य आउने राष्ट्रपति सीको प्रतिबद्दता, सात वर्षमा चिनियाँ रेल आईपुग्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 20, 2018 | 09:36:41 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भएको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको छ । 

चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आज सम्पन्न दुई नेताबीचको भेटवार्तासहित चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको यो भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण खुड्किलो सावित भएको बताउनुभयो । 

मन्त्री ज्ञवालीले भन्नुभयो, “यो भ्रमणको मुख्य उद्देश्य मित्रतालाई सुदृढ गर्ने थियो । दुई देशबीचको सहयोगका क्षेत्र पहिल्याउने विषयमा पनि विचारविमर्श भयो । चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री ओलीको सन् २०१६ को चीन भ्रमणका बेला भएका समझदारीको सुखद स्मरण गर्दै नेपालले यसबीचमा प्राप्त गरेको उपलब्धि र सक्षम नेतृत्वका लागि बधाई दिनुभएको थियोे ।” 

संविधानको कार्यान्वयन हुनु र तीन तहको निर्वाचन सम्पन्न भई मुलुक राजनीतिक स्थायित्वमा जानु चीनको निम्ति पनि सुखद भएको र यो नेपालको विकासका निम्ति अनिवार्य पूर्वाधार भएको विचार राष्ट्रपति सीले व्यक्त गर्नुभएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । 

मन्त्री ज्ञवालीका अनुसार राष्ट्रपति सीले नेपालको समृद्धिका लागि प्रधानमन्त्री ओलीले अगाडि बढाउनुभएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई पूरा गर्न चीन सदैव सहयोगी रहने वचनबद्धता व्यक्त गर्नुभयो । 

नेपालको स्वतन्त्र छनोटको अधिकारलाई चीनले सदैव समर्थन गर्ने प्रतिवद्धता राष्ट्रपति सीले व्यक्त गर्नुका साथै नेपालको विकासमा हरतरहले सहयोग गर्ने विश्वास दिलाउनुभएको पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । 

बेल्ट एण्ड रोड इनिसियटिभ र ट्रान्सहिमालयन कनेक्टिभिटीको परिधिभित्र रहेर नेपालले पूर्वाधार विकास गर्न चाहेको र त्यसमा चीन सहयोग गर्न तत्पर रहेको चिनिया राष्ट्रपतिलाई उद्धृत गर्दै मन्त्री ज्ञवालीले बताउनुभयो । 

अबको सात वर्षमा रेल 

अन्तरदेशीय रेलमार्गलाई नेपालले विशेष प्राथमिकतामा राखको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले अबको सात वर्षमा नेपाल र चीन रेलमार्गले जोडिने विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रपति सीसँगको भेटवार्तापछि मन्त्री ज्ञवालीले भन्नुभयो, “छिट्टै रेलमार्ग नेपाल पुग्दैछ । त्यसको अध्ययनका लागि दुवैतर्फ निर्देशन हुन्छ ।” 

उहाँले पूर्व सम्भाव्यता अध्ययन नेपाली प्रविधिज्ञसहितको टोलीले अगष्टसम्म सकिने र डिपिआर शुरु हुने विश्वास व्यक्त गर्दै नेपालको अर्थतन्त्रका लागि बहुआयामिक महत्वको रेलमार्ग विस्तारमा नेपालले पनि लगानी गर्ने बताउनुभयो । 

“चीनको रेल काठमाडौँ पुग्नेछ, यसले नेपालको विकासमा ठूलो सहयोग पुग्नेछ,” चिनिया राष्ट्रपति सीलाई उद्धृत गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो – “राष्ट्रपति सीले नेपालको चाहनालाई ‘इन्डोर्स’ गर्नुभएको छ ।” 

उत्तर दक्षिण करिडोर निर्माण, थप उडानको प्रवद्र्धन र तिब्बेतियन हाइवेको नाका प्रयोग गरी विभिन्न नाकामा पुग्ने विषयका प्रोटोकलमा हस्ताक्षर हुने जानकारी दिँदै चिनिया राष्ट्रपतिले पारवहनको सुविधाले नेपालको व्यापार विविधीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको पनि उहाँले जानकारी दिनुभयो । 

चिनिया पक्षबाट तातोपानी नाका छिट्टै खोल्ने आश्वासन प्राप्त भएको र नेपालको पूर्वाधार विकासको चाहनालाई पूर्णरुपमा साथ दिने वचनबद्धता पनि आएको मन्त्री ज्ञवालीले बताउनुभयो । 

त्यस अतिरिक्त नेपालका उच्च हिमाली जडीबुटीको बजार प्रवद्र्धन गर्न सघाउन चीन तयार रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले आगामी नोभेम्बरमा हुने संघाई एक्स्पोमा नेपाली व्यापारी सहभागी हुने जानकारी दिनुभयो । 

अन्तरदेशीय व्यापार क्षेत्र बनाउने, स्वतन्त्र व्यापार सम्झौतालाई टुङ्ग्याउने, ऊर्जा क्षेत्रमा सहयोग गर्ने र नेपालमा तेल र ग्यासको अन्वेषण तथा भण्डारणमा सघाउने चिनियाँँ पक्षको प्रतिबद्धता रहेको पनि उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपालमा शैक्षिक जनशक्ति उत्पादनका लागि मदन भण्डारी मेमोरियल इन्स्टिच्युट सघाउने प्रतिवद्धता पनि चिनिया पक्षबाट व्यक्त भएको छ । 

“नेपालले अन्य देशसँग घनिष्ट सम्बन्ध राख्दा चीनलाई कुनै पनि समस्या हुँदैन र नेपालको चीनसँगको घनिष्ट सम्बन्धबाट कोही चिन्तित हुनुपर्दैन, नेपालको त्यो स्वतन्त्र छनोटको कुरा हो, यसलाई स्वाभाविक रुपमा लिनुपर्छ,” राष्ट्रपति सीलाई उद्धृत गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो । 


म अवश्य नेपाल आउनेछु ः राष्ट्रपति सी 

भेटवार्ताका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गर्न दिनुभएको निम्तोको प्रत्युत्तरमा चिनिया राष्ट्रपति सीले ‘म अवश्य नेपाल आउँछु’ भन्नुभएको जानकारी मन्त्री ज्ञवालीले दिनुभयो । प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिँदै नेपाली जनता राष्ट्रपति सीलाई स्वागत गर्न चाहन्छन् भन्नुभएको थियो । 

“नेपाल भ्रमणका लागि यो उपयुक्त अवसर हो,” चिनिया राष्ट्रपतिलाई उद्धृत गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो । 

आपसी कूटनीतिक माध्यमबाट दुवै पक्षलाई अनुकूल हुने मिति तय गरेर चिनिया नेताको नेपालको भ्रमणको तयारी अगाडि बढाउने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । रासस 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved