४ गुणाले बढ्यो स्विस बैंकमा नेपालीहरुको कालोधन, यी ३ बाटोबाट पुर्याइन्छ अरबौंको अकुत सम्पति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 03, 2018 | 09:27:51 AM मा प्रकाशित

laxmi  sunrise bank

स्विस बैंक, स्विट्जरल्यान्ड र कालोधन पर्यायवाची नै भईसकेका छन। जहाँ कालोधनको चर्चा हुन्छ त्यहाँ स्विट्जरल्यान्ड र स्विस बैंकको चर्चा हुनेगर्छ। त्यसमा पनि पछिल्लो पटक स्विट्जरल्यान्डको बैंकमा कालोधनको बिषयमा कुरा उठ्दा नेपालको समेत नाम जोडिन थालेको छ। 

हालै मात्र स्विट्जरल्यान्डको केन्द्रिय बैंकले स्विस बैंकमा अबैध ढंगले आर्जित गरि लुकाएर राखिएको पैसाको बारेमा तथ्यांक सार्वजनिक गरेको छ। सार्वजनिक तथ्यांक अनुसार विश्वका २०० मुलुकमा स्विस बैंकमा सम्पति लुकाएर राख्ने देशमा नेपाल १०९ औं नम्बरमा छ। स्विस बैंकमा अकुत सम्पति राख्ने देशहरुमा अमेरिका, बेलायत, वेस्ट इन्डिज, फ्रान्स र जर्मनी टप फाइभमा छन।

नेपालीहरुले स्विस बैंकमा लुकाएर राखेको सम्पति चार गुणाले बढेको तथ्यांकले देखाएको छ। सन २००८ मा नेपालीहरुले स्विस बैंकमा ९ अर्ब ५२ करोड भएपनि २०१७ सम्म आइपुग्दा यो अकुत सम्पति चार गुणाले बढेर ३६ अर्ब भन्दा बढी पुगेको छ। 

नेपालजस्ता अति कम बिकसित मुलुक देखि अमेरिका जस्ता बिकसित राष्ट्रहरुका विभिन्न तप्कामा (नेता, व्यवसायी, कलाकार लगायतका) मानिसहरुले अकुत सम्पति स्विस बैंकमा थुपार्ने बिषय नौलो होइन। तर पछिल्लो दिनमा अकुत सम्पति स्विस बैंकमा थुपार्ने क्रम बढिरहेको तथ्यांकले देखाएको छ। नेपालजस्ता देशहरुबाट स्विस बैंकमा अकुत सम्पति किन र कसरि थुपारिन्छ भन्ने जन चाँसो पनि उत्तिकै छ। 

पहिलो कुरा, स्विट्जरल्यान्डका बैकहरुले आफ्ना ग्राहकहरु र उनीहरुले जम्मा गरेको सम्पति विवरणमा गोपनियता कायम राख्छन। यहि कारणले पनि नेपाल लगायतका देशहरुका नेता, ब्यापारी र ठुला घरानाका व्यक्तिहरुले स्विस बैंकमा कालो धन थुपार्ने गर्छन। 

वास्तविक अभ्यासकै कुरा गर्ने हो भने स्विस बैंकहरुले पनि अन्य देशका बैंकहरुले झैं काम गर्छन तर स्विस बैंकहरुले आफ्ना ग्राहकहरुको सूचना कसैलाई दिंदैनन। त्यहि कारणले पनि विश्वभरका मानिसहरुको कालोधन लुकाउने अड्डा स्विस बैंक बनेका छन्। 

भनिन्छ, पछिल्ला तीन सय बर्षदेखि स्विस बैंकहरुले आफ्ना ग्राहकहरुको गोपनीयतालाई लुकाउदै आएका छन। सन १७१३ मा काउन्सिल अफ जेनेभाले बनाएको आफ्नो ग्राहकको विवरण राख्न दिएको निर्देशन अनुसार नै स्विस बैंकहरुले ग्राहकको जानकारी राख्दै आएका छन। तर यहि नियममा आफ्ना ग्राहकहरुको विवरण सिटि काउन्सिल बाहेक अरु कसैलाई दिन नपर्ने उल्लेख छ। 

स्विट्जरल्यान्डमा बैंकरले आफ्नो ग्राहकसंग जोडिएका जानकारी कसैलाई दिनु अपराधको रुपमा लिइन्छ। गोपनियता सम्बन्धि यहि नियम स्विजरल्याण्डलाई कालोधन लुकाएर राख्ने सुरक्षित अड्डाको रुपमा लिइन्छ।

स्विस बैंकमा कालोधन कसरि पुर्याइन्छ ?

नेपाल लगायत विश्वका देशहरुबाट स्विस बैंकमा कालोधन पुर्याउने क्रम बढिरहेको छ। तर नेपाल लगायतका मुलुकबाट स्विस बैंकमा पैसा कसरि पुग्छ भन्ने सर्वत्र चाँसोको बिषय बनेको छ। 

१८ बर्ष पुगेका जो कोहिले स्विस बैंकमा सहजै खाता खोल्न सक्छन। तर बैंकलाई कुनै बिषयमा शंका भएमा उनीहरुले सुरुमै खाता खोल्ने प्रकृया खारेज गरिदिन्छन। 

बिजनेश स्ट्यान्डर्डका अनुसार स्विट्जरल्यान्डमा साना ठुला गरि करीब ४०० बैंकहरु छन्। यिनीहरु मध्ये युबीएस र क्रेडिट सुइस ग्रुप सबै भन्दा ठुला बैंकहरु हुन। कुल बैंकहरुको ब्यालेन्स सिटको आधा हिस्सा यी दुई बैंकले ओगटेका छन।  

जुन खातामा सबै भन्दा बढी गोपनियता हुन्छ त्यसलाई नम्बर खाता भनिछ। यो खातासंग जोडिएका सबै जानकारी एकाउन्ट नम्बरको आधारमा हुन्छ। यो खातामा ग्राहकको नाम उल्लेख हुँदैन। यस्तोमा बैंकमा उच्च तहका कर्मचारी बाहेक अन्यलाई यो कसको खाता हो भन्ने बारे कुनै जानकारी नै हुँदैन। नम्बर खाता लिनेहरुले आफ्नो पहिचान लुकाउनकै लागि बैंकले दिने क्रेडिट, डेबिट कार्ड वा चेक समेत लिंदैनन। यो खाता खोल्न जति सहज छ त्यो भन्दा पनि बन्द गर्न सहज छ। 

'मध्यस्थ ठेकेदार'

नेपाल लगायतका देशहरुमा स्विस बैंकमा पैसा पुग्ने बाटोहरु धेरै छन। स्विस बैंकमा कालोधन पुर्याउने बाटो मध्ये सबै भन्दा बढी प्रयोग हुने भनेको 'हवाला कन्ट्रयाक्टर' अर्थात 'मध्यस्थ ठेकेदार' हो। यो तरिकामा ठेकेदारहरुले तपाईसंग पैसा लिन्छन र तपाईबाट केहि कमिशन लिएर तपाईले जुन देशमा जुन व्यक्तिको बैंक खातामा पैसा पठाउन चाहेको हो त्यस खातामा पैसा पुर्याउने काम गर्छन। यिनीहरुसंग अत्यन्त गोप्य र बलियो संजाल हुन्छ। जस कारण यिनीहरुले सहजै कामलाई अन्जाम दिन्छन। 

जस्तो कुनै राम भन्ने व्यक्तिसंग नेपालमा १०० करोड कालोधन छ। जुन उसले स्विस बैंकमा रहेको आफ्नो आफन्त वा कुनै एबीसी 'हरि' भन्ने व्यक्तिको खातामा पठाउन चाहन्छ। यस्तोमा राम भन्ने व्यक्तिले नेपालमा रहेको 'मध्यस्थ ठेकेदार' लाई सम्पर्क गर्छ र उसले 'मध्यस्थ ठेकेदार' लाई १०० करोड र स्विजरल्याण्डमा रहेको हरि भन्ने व्यक्तिको पुरा विवरण दिन्छ। 

'मध्यस्थ ठेकेदार' ले स्विट्जरल्यान्डमा भएको आफ्नो सम्पर्क व्यक्तिलाई सम्पर्क गर्छ र उसलाई 'हरि' भन्ने व्यक्तिलाई नेपाली ९० करोड रुपैयाँ बराबरको स्विस फ्र्यांक दिन भन्छ र कमिशन बापत १० करोड लिन्छ। स्विट्जरल्यान्डमा भएको 'हरि' भन्ने व्यक्तिले ९० करोड रुपैयाँ बराबरको प्राप्त गरेको स्विस फ्र्यांक त्यहाँ स्थित युबिएस, क्रेडिट स्विस, जुलियस बेयर लगायतका बैंकहरुमा खाता खोलेर सो पैसा डिपोजिट गर्छ। 

माथि उल्लेख उदाहरण पढ्दा जति सहज छ त्यो भन्दा व्यवहारमा उतार्न कयौं गुणा गाह्रो छ। यद्दपी कालोधन स्विस पुर्याएर त्यहाँको बैंकमा राख्ने कार्यका लागि ठुलो र बलियो संजाल रहेको हुन्छ। नेता तथा शक्तिमा भएका व्यक्तिहरुसंग उनीहरुको राम्रो सम्बन्ध हुनेगर्छ। जस कारण उनीहरुले यो कार्यलाई सहजै अन्जाम दिन्छन।          

नेपाल स्थित मध्यस्त ठेकेदारले नेपालमा लिएको १०० करोड के गर्छ भन्ने तपाइँको प्रश्न हुन सक्छ। 'मध्यस्त ठेकेदार' नेपालमा ठुला व्यक्तिहरुसंग उठबस हुन्छ, त्यसैले पनि उसले त्यो पैसा सहजै कालोबाट सेतो बनाउन सक्छ। नेपालमा कालोधनलाई सेतो बनाउने धेरै उपायहरु अपनाइएका छन। बिमाका महंगा पोलिसी किन्नेदेखी लिएर बिभिन्न कम्पनीका शेयरहरु खरिद गर्ने लगायतका धेरै बाटोहरु छन कालोधनलाई सेतो बनाउन। 

पीएन नोट

अर्को तरिकामा पीएन नोटलाई लिइन्छ। जुन नेपालमा अभ्यासमा छैन। यद्दपी धेरै नेपालीहरुले भारतिय बजारबाट यसको भरपाई गर्दै आएका छन। पीएन भनेको स्विस बैंकले तपाईले पैसा राखेपछी दिने एक प्रकारको नोट हो। त्यहि नोट स्विस बैंकको खातासंग जोडिएका हुन्छन। त्यो खातामा आफ्नो परिचय नखुलाई तपाईले पैसा राख्न सक्नुहुन्छ र त्यसमा भएको ब्यालेन्स अनुसार नै भारतीय बजारमा त्यसको प्रयोग गर्न सकिन्छ। उक्त नोट प्रयोग गरि भारतीय बजारमा शेयर किन्न समेत खुला छ। भारतमा पीएन नोट मार्फत भएको आम्दानिमा कर समेत छुट छ। 

मोदी सरकार आएपछी पीएन लिनेहरुलाई पनि केवाईसी लिनुपर्ने व्यवस्था गर्न लगाइएको थियो तर तिब्र दबाबपछि अहिलेसम्म पनि उक्त कार्य सफल हुन सकेको छैन। त्यसैले पनि पीएन नोटको प्रयोग आम बनेको छ बिशेष गरि भारतीय बजारमा। कतिपय नेपालीहरुले पीएन नोट लिएर भारतीय बजारमा त्यसको प्रयोग गर्दै आएको अनुसन्धानले देखाएको छ।  

ट्याक्स फ्रि मुलुकमा नक्कली कम्पनी

कालोधन स्विस पुर्याउने अर्को तरिका भनेको ट्याक्स फ्रि मुलुकमा नक्कली कम्पनी खडा गरि त्यस कम्पनीबाट फाइदा भएको भनेर नेपालमा पैसा भित्र्याउने। सामान्यतया यो तरिका स्विस बैंकमा पैसा थुपार्न भन्दा पनि नेपालको कालोधनलाई सेतो बनाउन प्रयोग गरिन्छ। 

जस्तो कि ट्याक्स हेभेन मुलुकमा कुनै नक्कली कम्पनी खडा गर्ने। जस्तो 'श्याम' भन्ने व्यक्तिसंग विदेशमा ३ अर्ब कालोधन छ। अब उसले मौरिसस, पानामा, आइसल्याण्ड जस्ता ट्याक्स फ्री मुलुकमा बस्तु तथा सेवा प्रदायक नक्कली कम्पनी खडा गर्छ। श्याम भन्ने व्यक्तिले विदेशबाट नेपालमा सिधैं कालोधन ल्याउन सक्दैन वा गाह्रो पर्छ। त्यसैले उसले त्यहाँ खडा गरिएको कम्पनीबाट नाफा भएको देखाउछ वा शेयर बेचेको देखाउछ। 

ट्याक्स फ्री मुलुक भएकाले श्याम भन्ने व्यक्तिले त्यहाँ अत्यन्त न्यून कर तिर्छ। र विदेशको कम्पनीमा मुनाफा गरेको भनेर नेपालमा केहि कर तिरेर सेतोबाटो बनाएर उसले त्यहि पुरानो ३ अर्ब कालोधन नेपाल भित्र्याउन सफल हुन्छ। यस्तो कार्यका लागि अधिकांस व्यक्ति तथा संस्थाहरुले विदेश स्थित अफ्सोर्स कम्पनीको सहयोग लिन्छन।    



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved