चामलमात्र होइन, रक्सि र तासमा पनि विदेशकै भर, १० महिनामा १० खर्ब बाहिरियो

भावना लामा

भावना लामा

Jul 04, 2018 | 03:05:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सुन्दा अनौठो लाग्छ, नेपालीहरुले विदेशबाट मगाएर १० महिनामा २४ अर्बको चामल र २२ अर्बको मदिरा उपभोग गरेका छन् । यसले 'समृद्ध नेपाल र सुखी नेपाली' को नारालाई केहि हदसम्म सम्बोधन गरेको जस्तो  देखिएपनि नेपालीहरु परनिर्भर बन्दै गएको देखाएको छ।

कृषि प्रधान देशको रुपमा चिनाइएको देशमा नै विदेशबाट १० महिनामा २४ अर्बको चामल निर्यात हुन्छ भन्दा सायदैलाई बिश्वास नलाग्न सक्छ। तर  १० महिनामा २४ अर्बको चामल आयात भएको कृषि विकास मन्त्रालयका सूचना अधिकारी मनिरत्न अर्यालले जानकारी दिएका छन। उनका अनुसार गत बर्ष २५ अर्बको चामल आयात भएकोमा यो बर्ष १० महिनानै २४ अर्बको चामल आयात भएको छ। यसले पनि नेपाल चामलमा समेत विदेशकै भरमा निर्भर भएको पुष्टि हुन्छ। 

विदेशमा रहेका ५० लाख भन्दा बढी नेपालीहरुले पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानिएको भनिएपनि रेमिट्यान्स भन्दा बढी रकम विदेश नै गएको तथ्यांकले देखाएको छ।   नेपाल राष्ट्र बैंकका अनुसार २०७५ बैशाख मसान्तसम्म नेपालमा ६ खर्ब ६ अर्बको रेमिट्यान्स भित्रिएको छ। तर यस अवधिमा बिभिन्न १५२ मुलुकबाट नेपालमा ९ खर्ब ८२ अर्बको सामान आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। उपलब्ध तथ्यांकले विदेशकै बस्तु तथा सामानमा नेपालीहरुको निर्भरता बढ्दै गएको देखाएको छ।

त्यसमा पनि स्वदेशको मदिरा उद्योगलाई निरुत्साहित गर्दा विदेशबाट आउने रक्सि 'दारु' को मात्रा बढी रहेको छ। १० महिनामा मात्रै २६ देशबाट नेपालमा २२ अर्ब ३८ कारोड को मदिरा आयात भएको छ। यसले विदेशबाट आउने रेमिट्यान्स नेपालको उत्पादन क्षेत्रमा प्रयोग नभई कुन क्षेत्रमा खर्च भएको भन्ने देखाउछ। 

नेपालमा मदिरा आयात हुने देशरुमध्ये फ्रान्स, अष्ट्रेलिया, नेदरल्यान्ड, भारत, अमेरीका,मेक्सिको, इटालि लगाएतका देशहरु रहेका छन् । उक्त देशरुबाट आयात हुने पेया पदार्थहरुमा वाइन, रम, जीन, भोड्का,बियर, ह्रिस्की रहेका छन। महँगो रक्सि खाने नेपालीहरुको परनिर्भरता कसरि बढिरहेको छ भन्ने बिषयलाई यस १० महिनाको अवधिमा तासमा भएको लगानीले झनै उदांगो बनाएको छ। विदेशकै चामल, विदेशकै रक्सिमा लत बसेका नेपालीहरुले १० महिनाको अवधिमा ११ करोड ९५ लाख मूल्यको तास मगाएका छन।

रक्सि संगसंगै जुवा घरमा खेलिने तासको खपत पनि झन्डै चामलको मूल्यको आधा भाग रहेको छ । बार्षिक रुपमा करोडौंको मूल्यमा आयात हुने तास १० महिनाको अवधिमा ६ वटा मूलुकबाट आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । ११ करोड ९५ लाख मूल्यको तास नेपालीले १० महिनाको अवधिमा उपभोग गरेको छ। गत बर्षमा कुल १२ करोड ६१ लाख रुपैयाँको १ कारोड ११ लाख प्याकेट तास आयात भएको थियो । १० महिनामा मात्रै १ करोड १ लाख ६२ हजार प्याकेट तास आयात भैसकेको छ । नेपालमा हाल चीन, भारत, हङकङ, मलेसिया, ताइवान, र बेलायतबाट तास आयात भैरहेको छ । 

नेपालले कुनै पनि चिजमा आत्मनिर्भर बन्न नसकेको बिडम्बना त छँदै छ त्यसमाथी पनि यस्ता विलासी सामानहरुको अधिक आयातले देशको व्यापार घाटा झन बढाईरेको देखिन्छ । नेपालले सियो देखी ठुलठुला गाडीहरु समेत गरी लगभग २२ हजार ५ सय २८ थरीका सामान आयात गर्ने भन्सार विभागको तथ्याङ्कमा रहेको छ ।      

बर्षेनी आयातको मात्रा बढिरहँदा नेपालको ब्यापार घाटा झनै बढेको छ। यस अवधिमा व्यापार घाटा बढेर ९ खर्ब १५ अर्ब पुगेको छ। १० महिनाको  अवधिमा नेपालले ९ खर्ब ८२ अर्बको सामान आयात गर्दा ६६ अर्ब ६४ करोड ५६ लाखको मात्र निर्यात गर्न सकेको छ। आयात र निर्यातबीचको यो खाडलले नेपालको आर्थिक समृद्धिको लक्ष्यलाई प्रभावित गरिरहेको स्पष्ट हुन्छ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved