रामेछापमा कृषिको बजेट दुरुपयोग, लाखौ रकम बिनियोजन भएकोमा १ रुपैयाँ नआएको दाबी

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 09, 2018 | 07:24:55 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनले रामेछाप जिल्लाको लागि बिनियोजन गरेको बजेट दुरुपयोग भएको पाईएको छ । परियोजनाले चालु आर्थिक बर्षको लागि रामेछापमा १ करोड ७० लाख रुपैयाँ बजेट पठाएको थियो । रामेछापका उमाकुण्ड, गोकुलगङ्गा, लिखु तामाकोशी, खाँडोदेवी, दोरम्बा र सुनापती गाउँपालिकामा संचालन हुने विभिन्न पकेट क्षेत्र तथा ब्लकको लागि परियोजनाले उक्त बजेट बिनियोजन गरेको थियो ।

जस मध्ये परियोजनाले लिखु तामाकोशी गाउँपालिकाको लागी ३ वटा पुराना पकेट, एउटा पुरानो ब्लक र एउटा नयाँ पकेटको लागी २१ लाख बजेट पठाएको जनाएको उल्लेख गरेको छ । तर उक्त गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काले भने परियोजनामार्फत कुनै पनि बजेट नआएको दाबी गरेका छन् । “परियोजनाले किन लेख्यो, हामीकहा एक रुपैयाँ पनि बजेट आएको छैन” उनले भने ।

तर गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहालले भने असार २५ भित्रै अधिबेशन सक्नुपर्ने बाध्यताले गर्दा समानिकरण वित्तीय अनुदानमा आएको बजेट अधिवेशनमै विनियोजन भएको स्वीकार गरिन् । “सर्तमा बजेट आएको रहेनछ, निसर्त आएको हुनाले पहिले नै विनियोजन भयो, त्यसकारण शिर्षकमा खर्च हुन पाएन, पछि खबर आयो” उनले भनिन् ।

यस विषयमा प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाका सुचना अधिकारीसँग कुरा गर्दा उनले भने, “सबै स्थानीय तहमा पैसा गएको छैन, तर परियोजनाले पठाएको भनी लिस्टिङ गरेका सबै स्थानीय तहमा गएको छ । पैसा आएको छैन भन्नु उहाँको गल्ती हो, पैसा गएको छ ।”

परियोजनाकू बजेटमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष बीचमा नै कुरा बाझिएको छ । ससर्त नआएपनि परियोजनाले पठाएको बजेट मन्त्रालयले दिएको मूल बजेटमै विनियोजन गरेर बजेट आएकै छैन भन्नु पालिका अध्यक्षको छलकपट हो ।

उता केही गाउँपालिकाले परियोजनाले पठाएको बजेट अपुग हुने भएपछि त्यसमा थपेर पनि खर्च गरेको बताएका छन् । उमाकुण्ड गाउँपालिकाले परियोजनाबाट निशर्त आएको २९ लाख रुपैयाँ अपुग हुने देखिएपछि ८२ लाख रुपैयाँ कृषि क्षेत्रमा खर्च गरिएको बताएको छ। गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले क्षेत्रको लागी बजेट आएको हो सोही क्षेत्रमा खर्च भएको दाबी गरेका छन् । ब्लक निर्माणको काम भईरहेको भन्दै उनले सल्लाहको लागी कृषि विज्ञहरुको खोजी गरिरहेको पनि सुनाए ।

त्यस्तै सुनापती गाउँपालिकाले पनि कृषिमा ५२ लाख ५० हजार बजेट छुट्याएको र केही बजेट मात्रै निकासा हुन बाँकी रहेको जनाएको छ । परियोजनाले निसर्त पठाएको ११ लाख रुपैयाँ ससर्त जसरी नै खर्च गरिएको गाउँपालिकाको दाबी छ । पालिकाले बेसारको पकेट क्षेत्र, गोलभेडाको पकेट क्षेत्र र अलैचीको पकेट क्षेत्रमा क्रमशः ५ लाख र ३÷३ लाख खर्च गरिएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष धावा लामाले भने “हामीले नयाँ पकेटको रुपमा गोलभेडा र अलैची थपेका छौँ । पुरानो पकेटको निरन्तरतामा बेसार पकेट क्षेत्र राखेका छौ । हामीले सुनसरीबाट ५० क्विन्टल बेसारको मूल विउ ल्याएर १ सय १० जना कृषकलाई प्रति कृषक ४० केजीका दरले वितरण गरिसक्यौ” ।

परियोजनाले खाडादेवी गाउँपालिकामा २५ लाख रुपैयाँ बजेट पठाएको थियो । त्यसमध्ये पालिकाको माडिफाटलाई तरकारी पकेट क्षेत्र निर्धारण गरी २० लाख र गागलभदौरेलाई खाद्यबाली पकेट क्षेत्र निर्धारण गरी गापाले ५ लाख बजेट खर्च गरेको जनाएको छ । माडीफाटलाई सिँचाई गरी तरकारी उत्पादन गर्न पानीको इनार खनिएको खाडादेवीबाट ३ नम्बर वडाका वडा अध्यक्ष पुष्कर कार्कीले जानकारी दिए ।

जिल्लाको गोकुलगङ्गा गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत तरकारी र सुन्तला पकेटको लागी गएको १४ लाख बजेट सोही क्षेत्रमा खर्च गरेको जनाएको छ । चालु आर्थिक वर्षमा २ करोड ५ लाख बजेट कृषिमा खर्च गरेको पालिकाले आगामी आर्थिक वर्षको लागी १ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । गापाका अध्यक्ष खड्ग बहादुर सुनुवारले तरकारी, आलु र किबी खेतीमा पालिका अब्बल रहेकाले उत्पादन बढाएर आत्मनिर्भर बन्ने गरी कार्यक्रम ल्याएको पनि सुनाए ।

त्यस्तै परियोजनाले दोरम्बा गापाका लागी तरकारी र जुनार पकेट क्षेत्र निर्धारण गरी १६ लाख बजेट पठाएको थियो । आर्थिक वर्ष २०७४÷०७५ का लागी परियोजनाले रामेछाप जिल्लाका ६ वटा गाउपालिकामा २५ वटा पुराना पकेट, २ वटा पुराना ब्लक, १० वटा नयाँ पकेट र २ वटा नयाँ ब्लकका लागी १ करोड ७० लाख बजेट पठाएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved