प्रधानन्यायधीशमा अस्वीकृत भएपछि जोशीले सुनाए संस्कृतको श्लोक, दिए यस्तो प्रतिक्रया

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 03, 2018 | 06:45:19 PM मा प्रकाशित

laxmi  sunrise bank

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले "सत्यको मुख सुनको भाँडोले छोपिएको" प्रतिक्रिया व्यक्त गरेका छन्। संसदीय सुनुवाइ समितिबाट आफ्नो नाम प्रधानन्यायाधीशका लागि अस्वीकृत भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले त्यसो भनेका हुन्। गत फागुन ३० गते न्यायपरिषद्ले गोपालप्रसाद पराजुली प्रधानन्यायाधीश पदमा बहाल नरहेको जनाएपछि वरिष्ठताका आधारमा जोशी कायममुकायम प्रधान्यायाधीश बनेका थिए।

    बिबिसीलाई दिएको प्रतिक्रियामा उनले संस्कृतको एउटा श्लोक सुनाएका हुन् । उनले भने 'सुवर्णमयेन पात्रेण सत्यस्यापिहितं मुखम्‌।' अर्थात् सुनको बिर्कोले सत्यको मुख छोपिएको छ। यो टिप्पणीको आशय के हो भन्ने प्रश्नमा त्यसबारे थप व्याख्या नगर्ने जनाउँदै उनले भने, "त्यो तपाईँहरू नै बुझ्नूस्।" सत्ता पक्षले जोशीको नाम अस्वीकृत गर्नु पर्ने आधार र विपक्षीले समितिको बैठक बहिष्कार गर्नु पर्ने कारण पेस गरेका छन्। 


    उनले उद्धृत गरेको जस्तै श्लोक ईशोपनिषद्‌ छ।

    पूरै श्लोक -

    हिरण्मयेन पात्रेण सत्यस्यापिहितं मुखम्‌

    तत् त्वं पूषन्नपावृणु सत्यधर्माय दृष्टये ॥

    अर्थ -

    सत्यको मुख सुनको बिर्कोले छोपिएको छ। त्यसैले (हे सूर्य) सत्य देखाउन तिमी त्यो बिर्को खोलिदेऊ!

    शुक्रवार संसदीय सुनुवाइ समितिको बैठकमा जोशीको नाम दुईतिहाई बहुमतबाट अस्वीकृत भएको हो। समितिमा नेपाल कम्युनिस्ट पार्टीबाट नौ र सङ्घीय समाजवादी फोरमबाट एक गरेर सत्तापक्षबाट कुल १० सदस्य छन्। तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट समितिमा सदस्य चार सांसदहरूले समितिको बैठक बहिष्कार गरेका थिए। 

    Share Your Thoughts

    Recent News

    Main News

    TRENDING

    Close in 7


    Bizpati.com © 2020. All Rights Reserved