११ वर्षीय बालकको कसरी भयो अपहरणपछि हत्या ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 06, 2018 | 08:17:18 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिका–३२, काँडाघारी टाउन प्लानिङबाट अपहरण गरी भक्तपुरको मध्यपुरथिमिमा ल्याइएका बालकको अपहरणकारीले हत्या गरेका छन् । 

बालक अपहरण गरी हत्या गर्ने दुई अपहरणकारीको भने सूर्यविनायक जंगलमा प्रहरीसँगको भिडन्तमा मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए । महाशाखाबाट खटिएर आएका प्रहरी नायब उपरीक्षक रुगम कुँवरको नेतृत्वको प्रहरी टोलीसँगको भिडन्तमा अपहरणकारी नुवाकोट सामरीका २४ वर्षीय अजय तामाङ र सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय गोपाल तामाङको मृत्यु भएको छ । 

सिन्धुपाल्चोकको मेलम्ची स्थायी घर भई हाल टाउन प्लानिङमा बालकको आमा चमेली खड्काले सञ्चालन गरेको खाजा पसलबाट आइतबार साँझ ६ बजे अपहरणमा परेका ११ वर्षीय निशान खड्काको अपहरणकारीले हत्या गरी गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको छ । 

प्रहरीले मध्यपुरथिमि नगरपालिका– ७ नगदेश बुद्ध विहारको तल एक निर्माणाधीन घरको हिलामा तीन फिट तल गाडिएको अवस्थामा शव फेला पारेको हो । अपहरणकारीले बालकका मुखमा रुमाल कोचेको र घाँटीमा पनि रुमालले बाँधेको अवस्थामा मध्याह्न १२ बजे शव भेटिएको हो । वरिष्ठ प्रहरी उपरीक्षक सिंहका अनुसार अपहरणकारी सूर्यविनायक जंगलमा लुकेर बसेको जानकारी पाएलगत्तै घटनामा खटिएका महाशाखाका पाँच टोलीले सूर्यविनायक जंगल क्षेत्रमा केन्द्रित भएर खोजी गरेको थियो । 

यसरी भयो अपहरणकारीसँग प्रहरीको जम्काभेट

गणेश मन्दिरबाट अपहरणकारीको खोजी गर्ने क्रममा सूर्यविनायक नगरपालिका–८ स्थितपाइलट बाबा आश्रम जाने बाटो नजीकै जंगलमा अपहरणकारीसँग जम्काभेट भएपछि भीडन्त भएको थियो । सिंहले भने, ‘सूर्यविनायक जंगलमा अपहरणकारी लुकेर बसेको अवस्थामा जम्काभेट भयो, पक्राउ गर्न खोज्दा अपहरणकारीले गोली चलाए, त्यसपछि प्रहरी टोलीले जवाफी फायर ग¥यो, प्रहरीसँगको मुठभेडमा दुवै अपहरणकारी मारिए ।’ 

घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल, दुई राउण्ड गोली र मोबाइल बरामद गरेको उनले जानकारी दिए । अपहरणकारीको शव मुचुल्का गरेर काठमाडौं लैजाने तयारी भइरहेको छ । 

घुम्न जाने बहानामा गरिएको थियो अपहरण

खड्काले सञ्चालन गरेको पसलमा आइरहने तामाङले आइतबार पसलमा आएर बालकसँग केहीबेर खेलेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । साँझ बालकलाई घुम्न जाने बहानामा फकाएर लगिएको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरीवृत्त थिमिको प्रहरी टोलीले बताएको छ । साँझ छ बजे हराएको बालक राति ८ बजेसम्म घर नआएपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए । 

४० लाख रुपैयाँ फिरौती मागिएको थियो

प्रहरीले ८ बजेदेखि नै बालकको खोजी गरे पनि राति ९ बजे दुईपटक अपहरणकारीले बालकको आमालाई फोन गरेर रु. ४० लाख फिरौती माग गरेपछि बालक अपहरणमा परेको खुलासा भएको थियो । 

प्रहरीका अनुसार बालक अपहरण भएको जानकारी पाएलगत्तै काडाँघारी प्रहरी प्रभागका प्रहरी टोली, महानगरीय प्रहरी परिसर भक्तपुर र वृत्त थिमिका प्रहरी तथा अपराध महाशाखाका करीब १५० जनाको प्रहरी टोली राति नै परिचालन भएर अपहरणकारीको खोजी गरेको थियो । 

आज बिहान अपहरणकारी थिमि धुञ्चेपाखा, नगदेश क्षेत्रमा रहेको जानकारी पाएपछि प्रहरी त्यसक्षेत्र परिचालन भएको थियो । प्रहरीले बालकको हत्या गरी गाडेको अवस्थामा शव फेला पारेपछि फरार अपहरणकारीको खोजी गर्ने क्रममा सूर्यविनायक जंगलमा लुकेको सुराकी पाएलगत्तै प्रहरीका पाँच टोली त्यसतर्फ गएका थिए । मृतकका बाबु गणेश केही वर्षदेखि मलेसियामा कार्यरत छन् भने बालक टाउन प्लानिङस्थित हाइल्याण्ड सेकेण्डरी स्कूलमा कक्षा ६ मा अध्ययनरत थिए । रासस


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved