संसदमा ‘प्रश्नोत्तर कार्यक्रम’ शुरु, कुन मन्त्रीको पालो कहिले ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 03, 2018 | 01:53:17 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभाको चालु महाधिवेशनमा ‘प्रश्नोत्तर कार्यक्रम’ शुरु भएको छ । सांसदले मौखिक प्रश्न सम्बन्धित मन्त्रीसमक्ष राख्ने र मन्त्रीले जवाफ दिनेक्रम आजदेखि शुरु भएको हो । पहिलो दिनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल प्रश्नोत्तर कार्यक्रममा सहभागी भए  । मन्त्री पोखरेललाई सांसद सञ्जयकुमार गौतमले “आर्थिक रुपमा विपन्न सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन लागि पाँच प्रतिशत अनुदानमा शैक्षिक कर्जा उपलब्ध कहिलेसम्म उपलब्ध गराइन्छ ?” भनी प्रश्न गरेका थिए  

जवाफमा मन्त्री पोख्रेलले पाँच प्रतिशत अनुदानमा शैक्षिक कर्जा उपलब्ध गराउन कार्यविधि तयार भई कार्यान्वयनको क्रममा रहेको जानकारी दिए । उनले भने, “विद्यालयल शिक्षा निःशुल्क भएपछि उच्च शिक्षालाई अझ गुणस्तरीय बनाउन सो प्रावधान ल्याइएको हो । यो कार्यान्वयन हुन्छ । यसमा शङ्का नगरे हुन्छ ।” सो प्रश्नमाथि सांसद प्रेम सुवाल, विरोध खतिवडा, तेजुलाल चौधरी र राजेन्द्रकुमार केसीले पूरक प्रश्न गरेका थिए । 

प्रतिनिधिसभाको बैठकमा सांसदले विषयगत मन्त्रालयमाथि प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीलाई प्रश्न गर्ने र प्रधानमन्त्री एवं मन्त्रीले जवाफ दिने बारको निर्धारण गरिएको छ । सचिवालयद्वारा जारी सूचीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबारे प्रश्न सोध्नका लागि आइतबार निर्धारण गरिएको छ । 

त्यसैगरी रक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित प्रश्न सोध्नका लागि सोमबार तोकिएको छ । सांसदले स्वास्थ्य तथा जनससङ्ख्या, कानून, न्याय तथा संसदीय मामिला, सङ्घीय मामिला तथा सामान्य प्रशासन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित प्रश्न मङ्गलबार सोध्न सक्नेछन् । 

गृह, कृषि तथा पशुपक्षी विकास, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण र अर्थ मन्त्रालयसँग सम्बन्धित प्रश्न सोध्नका लागि बुधबार निर्धारण गरिएको छ । बिहीबार सांसदले परराष्ट्र, शहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र युवा तथा खेलकूद मन्त्रालयसँग सम्बन्धित प्रश्न सोध्न सक्नेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सञ्चार तथा सूचना प्रविधि, खानेपानी र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयसँग सम्बन्धित प्रश्न सोध्नका लागि शुक्रबार निर्धारण गरिएको छ  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved