न्याय दिलाउने प्रतिबद्धतासहित प्रधानमन्त्रीले भने, 'निर्मला मेरी पनि छोरी हो'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 17, 2018 | 09:51:39 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तलाई न्याय दिलाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका निर्मलाका बाबु यज्ञराज र आमा दुर्गादेवीलाई प्रधानमन्त्रीले अपराधी पहिचान गरी कानुन अनुसार कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

'निर्मला दुर्गादेवी र यज्ञराजकी मात्र छोरी होइनन्, राष्ट्रकै छोरी हुन्, मेरी पनि छोरी हुन्, ', प्रधानमन्त्रीलाई उद्‍धृत गर्दै उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने, 'तपाईँहरूलाई कुनै पनि हालतमा न्याय दिलाउन हामी प्रतिबद्ध छौँ। म यस विषयमा अत्यन्त संवेदनशील छु। न्याय पाउने कुरामा पूर्ण विश्वस्त हुन अनुरोध छ।'

बालुवाटारमा बिहान आधा घण्टा भएको भेटमा निर्मलाका बाबुआमासँगै प्रदेश ७ का प्रमुख राजनीतिक दलका नेताहरू सहभागी थिए। नेताहरू भीम रावल, लेखराज भट्ट, दीपकप्रकाश भट्ट, रमेश लेखकसहित नेकपा र कांग्रेसका प्रमुख नेताहरू भेटमा थिए।

प्रधानमन्त्रीले घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको विश्वास गर्नु सरकारको बाध्यता भएको र त्यही विश्वासका कारण धोका भएको बताएको डा. अर्यालले जानकारी दिए।

'सुरक्षाको जिम्मेवारी लिएको प्रहरीले छानबिन गर्छ भन्नेमा विश्वास गर्‍यौँ। तर पछि उनीहरूको गल्ती कमजोरी गरेको महसुसर गर्‍यौँ', प्रधानमन्त्रीलाई उद्‍धृत गर्दै अर्यालले भने, 'अहिले उनीहरूको छानबिनमाथि पनि छानबिन गरेका छौँ। प्रहरीले त्रुटिमात्र गरेको हो कि बदमासी नै गरेको हो, छानविन गर्छौँ। कुनै ओहोदामा बसेको भए पनि, कुनै दलको भए पनि, धनको बल भए पनि कारबाही गरेर छोड्छौँ। नयाँ शिराबाट अनुसन्धान थालिएको छ, न्याय पाउने कुरामा विश्वस्त हुनुस्।'  

निर्मलाका बाबुआमाले प्रहरीले बदमासी गरेको र प्रहरीकै नेतृत्वमा प्रमाणहरू मेट्ने काम भएको प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए। डा. अर्यालका अनुसार उनीहरूले 'प्रहरी र प्रहरीकै मानिस घटनामा संलग्न भएको आफूहरूले भन्दै आएको र त्यसमा आफूहरू दृढ रहेको' जानकारी प्रधानमन्त्रीलाई गराएका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा हेलचेक्र्‍याइ भएको स्वीकार्दै प्रधानमन्त्रीले 'जटिलताका बीच पनि घटनाको अनुसन्धान गरी न्याय दिनेमा सरकार प्रतिबद्धत रहेको' बताए। 'म, गृह मन्त्रालय र प्रहरी सबै लागेका छौँ, न्याय दिने कुरामा कुनै कमजोरी हुन दिन्नौँ', प्रधानमन्त्रीले भने।


   फोटोहरूः कृष्ण पौड्याल/प्रम निजी सचिवालय

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved