निगम अध्यक्ष खरेलद्वारा पदभार, कंसाकारले गरे स्वागत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 18, 2018 | 08:01:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सोमबार साँझ पदभार ग्रहण गरेका छन् । निगमको कार्यालय नयाँ सडक पुगेर उनले पदभार ग्रहण गरेका हुन्  । अध्यक्ष खरेललाई निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले स्वागत गरेका थिए । 

आइतबारको मन्त्रिपरिषद्को बैठकले खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । पदभारपछि अध्यक्ष खरेलले निगमलाई थप व्यावसायिक बनाउन आफूले सबैसँग मिलेर काम गर्ने बताए  । उनले हरेक विषयमा समेत विवाद गर्ने प्रवृत्तिबाट मुक्त भएर निगमलाई थप भरपर्दो बनाउन प्रयत्नशील रहने विश्वास व्यक्त गरे । 

निगमले गत असार र साउनमा ल्याएको दुईवटा ‘वाइडबडी’ जहाजको कुशल सञ्चालन र थप जहाज खरीदको प्रक्रिया अगाडि बढाएको छ । दुर्गम क्षेत्रमा हवाई सेवा पु¥याउने दायित्वसमेत निगमको नै रहेको सन्दर्भमा थप व्यावसायिक कार्ययोजनाका साथ निगमका सम्पूर्ण कर्मचारीसँग मिलेर काम गर्ने आफ्नो योजना रहेको अध्यक्ष खरेलको भनाइ छ । 

अध्यक्ष खरेललाई निगमका कर्मचारीले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । महाप्रबन्धक कंसाकारले निगमलाई थप प्रभावकारी र व्यावसायिक बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताए  । 

सरकारले पर्यटन प्रवद्र्धनलाई प्रमुख प्राथमिकतामा राखेकाले त्यसैलाई केन्द्रविन्दुमा राखेर काम गर्ने जानकारी दिँदै महाप्रबन्धक कंसाकारले सेवा विस्तारका लागि समेत थप लगानी गरिने उल्लेख गरे  । 

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अध्यक्ष खरेल, महाप्रबन्धक कंसाकार तथा निगमका कर्मचारीलाई समन्वयात्मक तवरले काम गर्न निर्देशन दिएका छन्। उनले सरकारको चाहना र मुलुकको आवश्यकतालाई ख्याल गरेर व्यावसायिक कार्ययोजनाका साथ काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved