काभ्रेमा ६० प्रतिशतसम्म बढी भाडा असुल , सिडिओ भन्छन् 'ठगी मुद्दामा कारबाही हुन्छ'

व्यवसायी भन्छन् 'अझै १२ रुपैयाँ कम लिएका छौ'
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 01, 2018 | 02:28:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सार्बजनिक सवारीमा १० प्रतिशत भाडा वृद्धि गरेको भएपनि काभ्रेका यातायात व्यवसायीहरुले ६० प्रतिशतसम्म भाडा बढाएको पाईएको छ ।  काभ्रेको बनेपाबाट नेपालथोकसम्म सवारी संचालक गर्दै आएको हिमाल तराई यातायात सेवा समितिले ६० प्रतिशतसम्म भाडा बढाएको गुनासो बढेको छ। 

समितिले असोज ८ गतेदेखि यात्रुबाट बढेको भाडा असुल गरिरहेका छन् । पुरानो भाडादर अनुसार बनेपाबाट १४.५  किलोमिटरको दुरीमा रहेको पात्लेखेतको भाडा २५ रुपैयाँ थियो । तर अहिले त्यहि दुरीको लागि नयाँ भाडादर ४० रुपैयाँ कायम भएको छ । यो प्रतिशतका आधारमा ६० प्रतिशतले बढी हो । त्यस्तै बनेपाबाट भकुन्डेको भाडा ५० रुपैयाँ रहेकोमा १० प्रतिशतले बढ्दा ५५ रुपैयाँ हुनु पर्ने हो तर ६५ रुपैयाँसम्म असुल गरिरहेका छन् ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउत बढी भाडा लिईएको पाइए ठगि मुद्दा अन्तर्गत कारबाही हुने बताउछन् । तर त्यसको लागि यातायात ब्यबस्था बिभागबाट बढेको नयाँ भाडा दर आधिकारिक रुपमा जिल्ला प्रशासन आउनु पर्ने बताउछन् । उनले भने 'नयाँ लिस्ट आउनु पर्यो अहिलेसम्म लिस्ट आएको छैन, लिस्ट नआई कारबाही गर्न सकिदैन' । उनले अहिलेसम्म कसैबाट यस्तो गुनासो नआएकोले अनुगमन गर्ने प्रतिबद्दता जनाए । 

त्यस्तै काभ्रे प्रहरी प्रमुख एसपी रवी राज खड्काले पनि अहिलेसम्म कसैले पनि गुनासो नगरेको बताए । उनले अब गुनासो आएकोले अनुगमन गरी बढी भाडा लिएको भए कारबाही हुने प्रष्ट  पारे । 

यातायात ब्यबस्था बिभागले भने सबै जानकारी आफ्नो वेबसाइट मै रहेकोले कसैलेलाई पनि छुट्टाछुट्टै रुपमा नपठाएको स्वीकार गरेको छ । बिभागका प्रबक्ता गोकर्ण उपाध्यायले भने 'सबै विवरण आधिकारिक रुपमा वेबसाइट मै छ, त्यहिबाट सबैले हेरेर नयाँ भाडाडर लागु गर्ने हो'। यद्यपि उनले कसैले आधिकारिक रुपमा मै पठाउन आग्रह गरे त्यसरी समेत पठाउन आफुहरु तयार रहेको बताए । 

बढी भाडा लिएको सम्बन्धमा अनुगमन गर्ने र कारबाही गर्ने अधिकार जिल्लाको हकमा सिडिओको अध्यक्षतामा रहने यातायात ब्यबस्थापन समितिलाई रहेकोले त्यहि संयन्त्र मार्फत कारबाही गरिनु पर्ने उनले बताए । उनले भने 'हामी पनि अनुगमन गर्छौ, बढी भाडा लिएको पाइए कारबाही गर्छौ , तर जिल्लाको हकमा यातायात ब्यबस्थापन समितिले गर्छ ' । 

अर्कोतर्फ हिमाल तराई यातायात समितिले भने आफुहरुले हाल लिएको भाडा दर तोकिएको भन्दा कम भएको दाबी गरेको छ । समितिका अध्यक्ष आत्माराम थापाले बनेपादेखि भकुन्डेसम्मको रुटमा तोकिएको भन्दा १२ रुपैयाँ कम भाडा लिएको दाबी गर्दै अर्को पटक समायोजन हुँदा त्यो १२ रुपैयाँ लिने गरि सहमति भएको बताए । अध्यक्ष थापाले यसअघि सरकारीले तोकेको बनेपादेखि भकुन्डेसम्मको भाडा ६२ रुपैयाँ रहेको तर आफुहरुले ५० मात्र लिने गरेको स्मरण गराए । त्यहि दुरीको लागि अहिले ६५ रुपैयाँ कायम गरिएको तर सरकारले तोकेको भाडामा ७७ उल्लेख भएकोले अझै १२ रुपैयाँ कम लिएको उनको तर्क छ । उनले स्थानीय जनप्रतिनिधि र सरोकारवाला सहित बसेर नयाँ भाडा दर निर्धारण गरिएकोले बिरोध गर्नुको कुनै अर्थ नरहेको बताए। उनले आफुहरु बढी भाडा लिने पक्षमा नरहेको बताउदै किलोमिटरको हिसाबले भाडा निर्धारण गरिएको बताए । 

अध्यक्ष थापाले भनेको ७७ रुपैयाँ भाडाडर  Whellbase 4225 mm सवारीको लागि हो  । बिपी राजमार्गमा चल्ने सवारीको लागि सरकारले सवारीको पांग्राको आकारको आधारमा छुट्टै भाडा तोकेको छ । यसमा प्राय साना माइक्रो, हायस लगायतका सवारी पर्ने गर्छन  ।  तर बसहरुले पनि आफुलाई यहि वर्गमा राख्दै बढी भाडा लिइरहेका हुन् ।  यो प्राविधिक बिषय भएको र यस सम्बन्धि स्पष्ट मापदण्ड नहुँदा यात्रु मर्कामा पर्ने गरेका छन्  ।  

साथै यातायात ब्यबस्था बिभागले ग्रामिण भेगमा चल्ने गाडीकोहरुको लागि आफै भाडा तोक्ने अधिकार दिएको छ  । बिभागका प्रबक्ता उपाध्यायका अनुसार शहरको जस्तो सेवा सुबिधा नहुने भएकोले ग्रामिण भेगमा चल्ने गाडीहरुको हकमा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा भाडा दर निर्धारण हुन्छ। यसरी स्थानीय स्तर मै निर्धारण हुने भाडादर सरकारले तोकेको भन्दा बढी हुन् सक्ने उनले स्वीकारे । यसरी भाडा तोक्ने अधिकार व्यवसायीलाई नै दिंदा सरकारले अधिकतम सीमा नतोकेकोले पनि समस्या आएको सरोकारवालाहरुको बुझाइ छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved