नेपालीले भारतीय बजार रोजेपछि नेपालका व्यापारी निराश

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 18, 2018 | 08:42:40 PM मा प्रकाशित

laxmi  sunrise bank


दशैँ तिहारमा चहलपहल हुने पश्चिम नवलपरासीको सदरमुकाम परासीसहित सुनवल, भूमही, बर्दघाट बजारमा यस पटक खासै चहलपहल छैन ।दशैँका बेला राम्रो व्यापार गरौँला भनेर पसलमा लगानी बढाएका व्यापारीहरु यतिबेला निराश भएका छन। 

उपभोक्ताको रोजाइमा नेपाली बजारभन्दा सीमावर्ती भारतीय बजार पर्न थालेपछि यहाँका व्यापारीहरु चिन्तित भएका छन्। पश्चिम नवलपरासीको महेशपुरसँग जोडिएको भारतीय बजार ठुटिबारीमा अहिले नेपाली उपभोक्ताको घुइँचो नै लागेको छ तर नेपालको महेशपुर बजार भने सुनसान छ । त्यहाँ भारतीय नागरिकभन्दा नेपालीकै भीडभाड छ। 

भारतीय व्यापारीलाई सामान बिक्री गर्न भ्याई नभ्याई छ । खुल्ला सीमानाका कारण र सस्तो पाइने भ्रममा परेर नेपाली उपभोक्ता भारतीय बजारमा पुगेर दैनिक उपभोग्य सामानदेखि आवश्यक सबै प्रकारका सामान किनमेल गर्ने गरेका छन् । 

नेपाली उपभोक्ता सस्तो पाइने आशमा भारतीय बजार पुगेर गुणस्तरहीन, तौलमा कमी र मूल्यमा समेत ठगिने गरेको उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष रामजी ज्ञवालीले बताए। कतिपय नेपाली सामान भारतमा पुगेर भारतीय मूल्यमा किनेर ल्याउँदासमेत उपभोक्ताले आफू ठगिएको पत्तै नपाउने गरेको बताए। 

भारतबाट नेपाल भित्रिने फलफूल तथा तरकारी सस्तो पाइने भएपछि नेपाली उत्पादनलाई बजारमा प्रतिस्पर्धा गर्नसमेत समस्या परेको छ । बर्दघाट बजारमा कपडा पसल गर्दै आइरहेका आशिष न्यौपाने दशैँको समयमा पनि अन्य समयमा भन्दा कम व्यापार भएपछि चिन्तित देखिन्छन। 

न्यौपानेले दशैँलाई लक्षित गरी नियमितभन्दा तीनदेखि चार लाखको सामान पसलमा थप गरे तर व्यापार प्रायः शून्य भएपछि साहुलाई कसरी तिर्ने भन्ने चिन्तामा उनि परेका छन। नेपाली उपभोक्ताहरु कपडा खरिदका लागि भारतीय बजार जान थालेपछि स्थानीय बजारमा उपभोक्ताको सङ्ख्या घटेको र व्यापार पनि नभएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घका जिल्ला अध्यक्ष मेघराज गौतमले बताए । 

न्यौपाने मात्र होइन बर्दघाटमा किराना पसल सञ्चालन गर्दै आइरहेका अर्का व्यापारी लक्ष्मण भण्डारीको पनि पीडा उस्तै छ । अहिले उपभोक्ताहरु चिनी, चियापत्ती, मरमसला खरिद गर्न पनि भारतीय बजारमा जान थालेपछि आफूहरुको व्यापारमा कमी आएको उनि बताउछन।  

सामान किन्न भारतीय बजार पुगेका सुनवलका टङ्कनाथ आचार्यले चाडबाडको समयमा घरमा धेरै सामान चाहिने भएको र ठुठीबारी बजारमा नेपाली बजारमा भन्दा सस्तो पाइने भएकाले आफू ठुठीबारी आएको बताए। आचार्यले सामानको गुणस्तरका बारेमा आफूलाई थाहा नभएको तर सस्तो र लैजान कुनै रोकतोक नहुँदा आफू सधैँ भारतीय बजार आउने गरेको बताए। भारतको ठुठीबारी बजारमा नारायणगढदेखि नवलपुरसम्मका उपभोक्तासमेत किनमेलका लागि जाने गर्छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved