कपिलवस्तुको कृष्णनगरको कर्फ्यू १२ बजे सम्मका लागि हट्यो, जनजीवन सामान्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 22, 2018 | 09:10:30 AM मा प्रकाशित

laxmi  sunrise bank

कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा आइतबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यू हटाएको छ। सोमबार बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू हटाएको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जानकारी दिएको छ।

कर्फ्यू हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ भने शनिबारदेखि बढेको विवाद सोमबारदेखि सामान्य अवस्थामा आईपुगेको छ। 

विजया दशमीको भोलीपल्ट एकादशीमा पूजाको मूर्तिै विसर्जन प्रयास असफल भएपनि गएराति कडा सुरक्षाकाबीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको छ। 

भएको के थियो ?

कपिलबस्तुको कृष्णनगरमा नवदुर्गा पुजाको मुर्ति बिसर्जनको क्रममा उत्पन्न विवाद उत्कर्षमा पुगेपछी स्थानीय प्रशासनले कर्फ्यु लगाउन बाध्य भएको थियो। शनिबारदेखि सुरु भएको विवाद आइतबार दिनभर कायम रह्यो। 

स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार साँझ ५ बजेदेखि कर्फ्यू लगाएको हो। प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले भारतीय सीमा क्षेत्रको बजार कृष्णनगर  क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न ५ बजेदेखि कर्फ्यू लगाएको जानकारी दिए । 

प्रशासनले कात्तिक ४ गते साँझ ५ बजेदेखि कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल–भारत दशगजा, उत्तरतर्फ कृष्णनगर–१ शिवानगरको बढाया पोखरीक्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो ।

कर्फ्यूको समयमा कसैलाई पनि घर बाहिर निस्कन, आवत जावत गर्न, भेला हुन, जुलुस निकाल्न तथा हुलदंगा गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क (१) बमोजिम  आदेश जारी गरिएको थियो। 

कसरी बढ्यो विवाद ?

स्थानीयका अनुसार मूर्तिविसर्जनको बाटोलाई लिएर मुस्लिम समुदायका युवा र हिन्दु समुदायका युवाहरु बीच विवाद उत्पन्न भएको थियो। कृष्णनगरमा अवस्थित नैमिया मस्जिद अगाडीको बाटो हुँदै दुर्गा मुर्ति लैजाने क्रममा हिन्दु युवाहरुले भिडियो नखिच्न गरेको आग्रह मुस्लिम युवाहरुले नमानेपछि हिन्दु युवाहरु आक्रमणमा उत्रेपछि विवादले उग्ररुप लिएको बताईएको छ।         

हिन्दु समुदायले मूर्ति विसर्जनलाई सधैं प्रयोग गर्ने बाटो प्रयोग गर्न पाउनुपर्ने माग गरेका थिए। प्रशासनले सो बाटोको प्रयोग नगर्न आग्रह गरेपनि हिन्दु समुदायले नमानेपछि प्रहरी र हिन्दु समुदायबीच झडपको स्थिति सिर्जना भएको थियो।

विवादले उग्ररुप लिएपछि जिल्लाबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो । सामान्य विवाद साम्प्रदायिकतासँग जोडिन थालेपछि जिल्ला प्रशासन कार्यालयले सजकता अपनाएको छ। प्रशासनले राजनैतिक दल, भद्रभलाद्मीसँग बसेर सहमतिको बाटो खोज्ने प्रयास गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved