यस बर्ष तिहारको माला महँगो पर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 22, 2018 | 08:14:40 PM मा प्रकाशित

laxmi  sunrise bank

गत बर्षको तुलनामा यस बर्ष तिहारको माला महँगो पर्ने भएको छ। यस बर्ष तिहार ढिला परेकाले स्थानीय फूल फुलेर सुकिसकेकाले पात्रो हेरेर फूल लगाउने व्यवसायीको मात्रै फूल प्रयोग गर्न मिल्ने अवस्थामा रहेकाले स्वदेशी उत्पादनमा कमी देखिने हुँदा पहिलेभन्दा फूलको मूल्यमा केही वृद्धि हुने विश्लेषण गरिएको हो। 

गत बर्ष ५० देखि ६० रुपैयाँभन्दा बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएपनि यस बर्ष ६० देखि ७० सम्म बढी तिर्नुपर्ने फ्लोरीकल्चर एशोसिएशनले जनाएको छ । गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १७ लाख मालाको माग रहेको बताइएको छ। तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ ।

प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरे पनि माग बढेकाले यस वर्षको तिहारका लागि दुई लाख बढी माला आयात गरिने एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए।  

श्रेष्ठका अनुसार यस वर्ष भारतबाट ३० लाख बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइँदै छ। तिहारमा मात्रै एक करोड फूलको कारोवार हुनेछ। अहिले स्वदेशमा नै ९० प्रतिशत फूल उत्पादन हुन थालेकाले १० प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाई छ। यसअघिका वर्षमा १८ प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । 

६० प्रतिशत माला खपत 

काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत भएको छ । स्वदेश र विदेशमा गरी गत वर्ष एक अर्ब ८५ करोडको फूलको कारोवार भएको थियो । तिहार र अन्य मौसममा गरी ११ करोड बराबरको फूल वर्षिक रुपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ । 

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । अष्टे«लिया र मलेसियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताए। 

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिक रुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५३ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् । 

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ। -राससको सहयोगमा  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved