काँक्रो खान गएकी रमिला गोली खाएर फर्किन, 'अञ्जानवशको भूलले सधैँभरिलाई अपाङ्ग'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 28, 2018 | 01:18:32 PM मा प्रकाशित

laxmi  sunrise bank

अदानचुली गाउँपालिका-४ बिगुठी हुम्लाकी- १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन्। दुर्भाग्यवशः काँक्रो खान गएकी उनी छिनभरमै गोली खाएर फर्किन्। 

थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ हुन्छ भनेर। दिदी सुस्मिता बुमीसँगै कोदोबारीमा काँक्रो लिन जाँदा उनी गोलीको पासोमा परिन्। कोदोबारीमा छिमेकीले स्याल फसाउनका लागि भनेर थापेको जर्जन पड्कँदा (चलाउँदा बन्दुक पड्केर कुनै पनि प्राणीलाई गोली लाग्ने गरी थापिएको पासो) रमिलाको दाँया घुँडाको मुनि तीघ्रामा लागेर हड्डी र नसा छिनालिदियो। 

'ब्वाङ्ग आवाज आउने बित्तकै ढलेँछु', त्यो क्षणलाई सम्झँदै उनले भनिन्, 'उठ्न खोज्दा खुट्टा टेक्न सकिएन।' छाम्दा हड्डी भाँचिएको र मासुसमेत भ्वाङ परेको देखेर बेहोस भएको तीतो अनुभव बुमीले सुनाइन्।

दुर्घटनामा परेकी उनलाई त्यहाँ उपचारको कुनै विकल्प थिएन। तत्काल तीन लाख ५० हजारमा हेलिकोप्टर चार्टर गरेर सुर्खेत पुर्‍याइएको रमिलाका मामा ज्योति गिरीले दुखेको सुनाए। 'सुर्खेतमा समेत उपचार हुन नसकेपछि जीप बुक गरेर भारतको लखनउ लग्यौँ, गिरीले भने, 'गोली लागेको ३६ घण्टा नाघेकाले खुट्टा मरिसकेको रहेछ।पछि शल्यक्रिया गरेर खुट्टा काट्नुको विकल्प रहेन्।' बुमीको उपचार गर्न हालसम्म सात लाख खर्च भइसकेको उनले बताए।

लखनउमा खुट्टाको शल्यक्रिया गरेकी बुमीको यतिबेला भने ड्रेसिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा जुम्लामा भइहेको छ। सद्दे (सपाङ्ग) रमिला बुमीलाई छिमेकीको लापरवाहीका कारण अपाङ्ग भएर अब सधैंका लागि वैशाखीको सहारामा बाँच्नुपर्ने बाध्यता आइलागेको छ। 

सानो गल्तीले गर्दा आज रमिला सधैँभरिका लागि अपाङ्ग भएकी छन्। त्यही घटनालाई लिएर आमा पवित्रा र बुबा जनक बुमीले जिल्ला प्रहरी कार्यालय जुम्लामा आफ्ना छिमेकीविरुद्ध जाहेरी निवेदन हालेका छन्। 

अञ्जानवशः ठूलो भूल भएको भन्दै छिमेकीले क्षमायाचना गरेको र रमिलाको जीवनभर स्वास्थ्य अवस्थामा आउने समस्या तथा अहिलेसम्म भएको सबै उपचार खर्च तिर्न छिमेकी मञ्जुर भएकाले कानुनी प्रक्रियाभन्दा मेलमिलाप गर्ने कुरा भएको उनका आमाबुबाले बताए।

हुम्ला अदानचुली गाउँपालिकास्थित जनप्रिय आधारभूत विद्यालय कक्षा ५ मा अध्ययरत रमिला कक्षाका प्रथम विद्यार्थी हुन्। उक्त विद्यालयमा मेधावी छात्राका रूपमा नाम दर्ज गरेकी उनले आफ्नो एक महीनाको पढाइ छुटेकोमा चिन्ता गरेकी छन्। पढेर असल मान्छे बन्ने र आमाबुबाको सहयोगी बन्ने सपना लिएकी रमिलालाई अब भने उल्टै सहयोगी आवश्यक हुने भएको छ।रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved