सामान्य खोकीले बिग्रियो ओलीको दिनचर्या, प्रधानमन्त्री निवासमै मन्त्रीपरिषदको बैठक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 28, 2018 | 01:43:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सिंहदरबारमा बस्दै आएको मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सामान्य समस्या आएकाले प्रधानमन्त्री निवासमा नै मन्त्रिपरिषद्को बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

शुक्रबार बस्ने भनिएको बैठक आइतबारलाई (आज) सारिएको थियो। आज ३ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्रीओलीको अस्वस्थताका कारण बालुवाटारमा बस्न लागेको उनको सचिवालयको भनाई छ। 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार आयोजना गरेको चियापान कार्यक्रमको अघिल्लो दिन नै प्रधानमन्त्रीलार्इ खोकी लागेको र शनिबार खोकी झन् बढेकाले चियापान कार्यक्रममा सहभागी हुन नसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए। अर्यालका अनुसार चिकित्सकको सल्लाहबमोजिम प्रधानमन्त्री ओली अहिले बालुवाटारस्थित सरकारी निवासमा आराम गरिरहेका छन्।

'उहाँ आफैंमा मिर्गौला प्रत्यारोपण गरेको मान्छे हो, शरीर कमजोर हुने नै भयो', अर्यालले भने, 'त्यति ठूलो समस्या होइन, डाक्टरले धुलोधुँवा र भीडभाडमा नजानू भनेर सल्लाह मात्र दिएका हुन्।'

प्रधानमन्त्री सामान्य अस्वस्थ्यमात्र भएकाले सचिवालयले आधिकारिक वक्तव्य सार्वजनिक नगरेको अर्यालले बताए। उनका अनुसार मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सहभागी हुनेछन। 

प्रधानमन्त्री ओलीलाई भएको के हो ? 

प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ साल असारमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमि आएको र रुघाखोकीका कारण छातिमा संक्रमण बढ्ने खतरा देखेपछि चिकित्सकले उनलाई निवासमै आराम गर्न सुझाएका हुन्।

गतवर्ष पुस अन्तिम साता थाइल्यान्डको बैंककस्थित बुम्रुङग्र्याड अन्तर्राष्ट्रिय अस्पतालमा प्रधानमन्त्रीले फलोअप चेकअप भएको थियो। प्रधानमन्त्री  बनेपछि ओली फलोपअ चेकअपका लागि बैंकक जान पाएका छैनन। 

नेपाली चिकित्सकहरू डा.दिव्या सिंह र डा. दिलिप शर्माले प्रधानमन्त्रीको स्वास्थ्य जाँच गर्दै आएका छन्। डा.दीलिप शर्माकै सहल्लाहमा प्रधानमन्त्री अहिले आराम गरिरहेका हुन।  

प्रधानमन्त्रीका केहि कार्यक्रम रद्द

स्वास्थ्य अवस्था प्रतिकूल भएपछि प्रधानमन्त्री ओलीले आइतबार बिहानका केहि कार्यक्रम रद्द गरेका छन्। आइसीसी वान डे वर्ल्डकपको ट्रफी टु’ कार्यक्रमको सहभागिता पनि प्रधानमन्त्री अस्वस्थ भएसँगै रद्द भएको हो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved