बोटमै जुनार कुहिएपछि रामेछापका कृषकको जीवनस्तर ओरालो लाग्दै

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 14, 2018 | 04:17:23 PM मा प्रकाशित

laxmi  sunrise bank

जुनार खेतीका लागी कहलिएको जिल्ला हो रामेछाप । विगत वर्षमा सरकारले विभिन्न कृषि उपजको उत्पादन हुने क्षेत्रलाई पकेट क्षेत्रका रुपमा लिँदा रामेछाप जुनार पकेट क्षेत्रका रुपमा परेका थियो । तर ५ वर्षदेखी रामेछापका जुनार कृषकहरुले आम्दानी लिन पाएका छैनन् । उनीहरुको पोल्टो रित्तो भएको छ । 

कुनै समय राजधानी र तराई सहित देशका अन्य स्थानमा जाँदा रामेछापको जुनार कोसेलीका रुपमा लगिने गरिन्थ्यो । केही वर्ष अघिसम्म देशका विभिन्न जिल्लामा मनग्य निर्यात हुने रामेछापको जुनारको जुसको निर्यात अहिले घटेको छ । यसो हुनुमा जुनार कृषकको संख्या घटेर होईन । जुनारमा ५ वर्षदेखी एउटा रोग फैलिएर हो । 

रामेछाप जिल्लाका साविकका विभिन्न गाविसमा व्यवसायीक जुनार खेती हुँदै आएको छ । तर जुनारमा अनौठो संक्रमण देखिएपछि उत्पादन हुन छाडेको छ । जुनार फुल फुल्दा सम्म राम्रै हुन्छ । त्यसमा फल (चिचिला) लाग्दा पनि खासै असर देखिँदैन । तर बढ्दै गएपछि पाक्ने बेलासम्म बगैँचा नै रितिन्छ । 

सिट्रस ग्रिनिङ्ग रोगका कारण जुनार बोटबाटै झरेर सकिएको छ । असोजमा अलिअलि पहेँलो हुँदै कात्र्तिकसम्म जुनार पाकिसक्छ । तर बोटबाट दाना आफैँ झरेर सकिन थालेको आधा दशक भयो । सामान्यतः अमिलो जातको फलमा किरा लाग्दैन भन्ने गरिन्छ । तर केही वर्ष यतादेखि रामेछापको जुनारमा औसा पर्न लागेको छ । बाहिरबाट राम्रो देखिए पनि जुनारको भित्र औसा परेर जुनार विग्रिएको हुन्छ । 

जिल्लाको मन्थली नगरपालिकाको सालु, भलुवाजोर र रामेछाप नगरपालिकाको ओख्रेनी र सुकाजोर जुनार खेती हुँदै आएका गाविस हुन् । अहिले साविकका ती गाविसमा लगाईएका जुनार बगैँचाहरु रित्तै छन् । लागेका फल कुहिएर झरेपछि यतिबेला पहेँलपुर हुनुपर्ने जुनारका बगैँचा खाली भएका हुन् । 

जुनार मात्रै नभई कागती र निबुवा लगायत अमिलो जातको फलफुलमा पनि सिट्रस ग्रिनिङ्ग रोग देखिएको छ । अघिल्ला वर्षहरुको तुलनामा यसवर्ष रोगको प्रकोप बढेको छ । विगतका वर्षहरुमा जुनार खेतीबाट मनग्य आम्दानी गर्दै आएका किसानहरुले यसवर्ष निकै घाटा ब्यहोरेका छन् । 

जिल्लामा लगाईएको जुनारमा यो रोगले नछाएको कुनै ठाउँ नै छैन । सुरुका वर्षमा त महिनावारी भएका महिलाले फल लाग्ने बेलामा बोटमा छोएर यस्तो भएको भन्दै घरका महिलालाई गाली मसेत गरे कृषकहरुले । तर वर्षेनी यस्तो हुन थालेपछि भने रोग नै लागेको रहेछ भन्ने थाहा भयो । 

जिल्ला भरी नै रोग फैलिएपछि किसानले बगैँचाबाटै हरियोमा नै जुनार बेच्नु परेको छ । पाक्ने बेलासम्म कुहिएर सकिन्छ भनेर हरियोमा नै बेच्यो भने थोरै भएपनि पैसा हुन्छ भनेर यसो गरेको किसानहरु बताउँछन् । 

केही वर्षयता देखी नै जिल्लामा प्रकोपकै रुपमा यस्तो रोग फैलिएपनि यसको प्रकोप हटाउन सरोकारवाला निकायले कुनै पहल नगरेको जिल्ला जुनार विकास संघ रामेछापका पूर्व अध्यक्ष ढालबिक्रम कार्की बताउँछन् । कार्की सुकाजोरका जुनार कृषक हुन् । 

यसअघि दोलखामा रहेको कृषि ज्ञान केन्द्र अहिले रामेछापमा छ । सिन्धुली, रामेछाप र दोलखा जिल्ला हेर्नेगरी ज्ञानकेन्द्र रामेछापको सदरमुकाम मन्थलीमा छ । केन्द्रका ऋषीकुमार सुवेदीका अनुसार बगैँचामा इमिडा विषादी छर्किएका कृषकहरुले भने जुनार सुरक्षित राखेका छन् । तर संक्रमण भने भएको छ, तर ठूलो क्षति भने नहुने देखिन्छ । 

तत्कालिन राजा वीरेन्द्रले घोषणा गरेको जुनारको जिल्ला 

रामेछाप जिल्ला पहाडी, हिमाली र तराइको समेत हावापनी भएको जिल्ला हो । सदरमुकाम मन्थलीमा ज्यादा गर्मी हुन्छ । त्यसपछि उच्च भुभागमा हिमाली हावापनी पाईन्छ । 

रामेछापमा जुनारको व्यवसायीक खेती सुरु भएको धेरै भएको छैन । साविकको सालु गाविस ३ का शिवलाल अधिकारीले २०१७ सालमा केही बोट जुनारका बिरुवा ल्याएर रोपेका थिए । भलुवाजोरका गेहेन्द्र बहादुर थापा, फुलासीका ललितबहादुर पौडेल र हिलेदेवीका मोहन तामाङले यसको व्यवसायीक सुरुवात गरे । 

तत्कालीन राजा वीरेन्द्र २०४१ सालमा रामेछाप जिल्लाको भ्रमण निस्किएका थिए । उनको स्वागतमा त्यतिबेलाको जिल्ला सदरमुकाम रामेछाप डाँडामा पाकेका दाना सहितका जुनारका बोट गाडिएको थियो रे । त्यो देखेपछि वीरेन्द्रले सोही कार्यक्रममा रामेछापलाई जुनारको जिल्ला घोषणा गरेका थिए । 

त्यसपछि रामेछापमा व्यवसायीक जुनार खेती गर्ने कृषकहरुलाई सरकारले अनुदानमा मल, बिरुवा, तथा सस्तो व्याजमा ऋण समेत दिन थाल्यो । त्यसपछि जिल्लाको जुनार खेती फस्टाउन थाल्यो । 

सिट्रस ग्रिनिङ्ग रोग म्याक्स नामको झिंगाबाट सर्छ । यो रोग लाग्नासाथ जुनारको दानामा किरा पर्ने र पाक्ने बेला भएपछि बोटबाट कुहिएर झर्छ । यही रोगका कारण गत वर्षको तुलनामा यसवर्ष रामेछापमा जुनार उत्पादन ३० प्रतिशतले घट्ने अनुमान गरिएको छ । 

जिल्लामा गतवर्ष १ हजार ५ सय मेट्रिक टन जुनार उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालयले गतवर्ष जुनारमा लाग्ने रोग किरा विरुद्ध जुनार बगैंचा सुदृढिकरण कार्यक्रम पनि सञ्चालन गर्यो । त्यसको परिणम स्वरुप अघिल्लो वर्षको तुलनामा जिल्लामा गतवर्ष जुनार उत्पादन बढेको थियो । तर यसवर्ष कार्यक्रमले निरन्तरता नपाएपछि जुनार बगैँचा भरी बग्रेल्ती भएर झरेका छन् । बगैँचामा भएका रुख पहेँलपुर हुनुपर्नेमा भुईमा झरेका जुनारका दानाले टेक्ने ठाउँ नै नभएको किसानहरुको गुनासो छ । 

जुनारको जिल्लाको रुपमा पहिचान बनाएको रामेछापमा वर्षेनी उत्पादनमा ह्रास आउँदै जानुले पहिचान गुम्ने खतरा मात्रै निम्त्याएको छैन, जुनार खेती गरेर जीवन निर्वाह गरिरहेका कृषकहरुको जीवनस्तर ओरालो लाग्दैछ । जुनार बेचौँला र छाक टारौला, छोराछोरीलाई पढाउँला भनेर बसेका किसानहरुलाई चिन्ता थपिदिएको छ । विज्ञ सहितको टोलीले अनुसन्धान गरी यस रोगको निदान नगरे यो रोगले आफूहरुलाई गरिखान नदिने कृषकहरुको गुनासो छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved