पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु, १५ जिल्लामा यसैवर्ष वितरण गरिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2018 | 11:01:50 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आजबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने भएको छ । पाँचथरबाट राष्ट्रिय परचयपत्र वितरण सुरु गर्न लागिएको हो । पाँचथर फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र दिएर वितरणको सुरु गर्ने छन् । यसअघि भण्डारीबाटै विवरण संकलन थालिएको थियो । गृहमन्त्री थापा बिहान ११ बजे फिदिम पुग्ने कार्यक्रम छ । पाँचथरका ५० जनालाई पनि आजै परिचयपत्र वितरण गरिनेछ ।
परिचयपत्र वितरणलाई राष्ट्रिय उत्सवको रूपमा मनाउन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पनि आज पाँचथर पुग्दैछन् ।
राष्ट्रिय परिचयका लागि पाँचथरमा ५२ हजारभन्दा बढीको विवरण संकलन गरिएको थियो । तर अहिले २ हजार ४ सय कार्ड मात्रै जिल्लामा पुगेको छ ।
जैविक परीक्षण गरेर मात्रै परिचय पत्र
सरकारले राष्ट्रिय परिचयपत्र वितरणलाई वैज्ञानिक बनाएको जनाएको छ । नागरिकता जस्तो सिफारिस गरिएकै आधारमा राष्ट्रिय परिचयपत्र नपाईने जनाईएको छ । जैविक परीक्षण गरेर मात्रै विवरण संकलन गरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वितरण पनि जैविक परीक्षण गरेर मात्रै गर्नेछ ।
राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाका छाप र व्यक्तिगत विवरण हुनेछ । ‘राष्ट्रिय परिचयपत्र बोकेपछि नागरिकता, मतदाता परिचयपत्र केही पनि बोक्नुपर्दैन,’ विभागका महानिर्देशक दीपक काफ्लेले भने ।
३ वर्षभित्र सबै नेपालीको राष्ट्रिय परिचयपत्र
सरकार आगामी ३ वर्षभित्र सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजनामा छ । विभागले पनि सोही लक्ष्य पूरा गर्नेगरी काम भईरहेको जनाएको छ । विभागले चालु आर्थिक वर्ष भित्रै १ नम्बर प्रदेशका झापा र संखुवासभामा परिचयपत्र वितरण गरिसक्ने जनाएको छ ।
२ नम्बर प्रदेशको महोत्तरी र सप्तरी, ३ को ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जा ५ को कपिलबस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछामका नागरिकलाई पनि यही आर्थिक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गर्ने विभागको तयारी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved