एसिया प्यासिफिक सम्मेलन: कम्युनिस्टको काँधमा टेकेर 'नक्कली' क्रिस्चियन फैलाउने अभियान

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 01, 2018 | 10:35:30 PM मा प्रकाशित

laxmi  sunrise bank

'एसिया प्यासिफिक समिट-२०१८' शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ। इन्टर्नेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीज (आइक्याप) आयोजना र विवादित धार्मिक आइएनजीओ युनिभर्शल पिस फेडरेशन (युपीएफ) को संरक्षत्वमा नेपालमा पहिलो पटक यो सम्मेलन भएको हो।

सम्मेलनमा बर्तमान तथा पूर्वराष्ट्राध्यक्ष, सरकार प्रमुखहरू, सभामुखहरू, सांसदहरू, राजनैतिक नेताहरू, विभिन्न धर्मका धार्मिक अगुवाहरू, महिला नेतृहरू, संचारकर्मीहरू, प्राज्ञिक ब्यक्तित्वहरू, ब्यवसायी, कलाकार तथा नागरिक समाजका अगुवाहरू गरी ४५ मुलुकका १५०० जना विशिष्ट दाबि गरिएका विदेशी पाहुनाहरुले सहभागिता जनाएका छन।

सम्मेलनको मुख्य आयोजक आइक्याप मौन रहंदा युपीएफ नेपाल च्याप्टर भने सल्बलाएको छ। एसिया प्यासिफिक सम्मेलन-२०१८ नाम दिइएको सम्मेलनको आवरणमा 'वर्तमान महत्त्वपूर्ण चुनौती सम्बोधन, परस्पर निर्भरता, पारस्परिक समृद्धि र सार्वभौमिक मुल्य' नामकरण गरिएको छ। सम्मेलनको मुख्य लक्ष्य 'गरिबी, आतंकबाद, खाद्यसुरक्षा र जलबायु परिवर्तन' रहने आयोजकको दाबि छ। 

आवरणमा चिल्ला राजनीतिक कुराहरु समेटीएपनि नेपाली जनताले भने सरकारले धर्म प्रचारमा साथ दिएको भनि सम्मेलनको कडा आलोचना भएको छ। क्रिस्चियन धर्मको प्रचार गर्न आयोजना गरिएको सम्मेलनलाई नेपाल सरकारले धेरै महत्त्व दिएको भन्दै नेताहरुको आलोचना गरेका छन।      

तामझाम, प्रचार प्रसार र तयारि हेर्दा पनि नेपाल सरकारको समर्थनमा सम्मेलन गरिएको जस्तो देखिएको छ। सम्मेलन आयोजना गरिएको होटल ह्यातको दृश्यले समेत नेपाल सरकारको नेतृत्त्व र सकृयतामा सम्मेलन गरिएको झलक देखिन्छ। 

होटल प्रवेशका क्रममा प्रधानमन्त्री केपी ओलीको फोटोसहित ‘सम्मेलनमा सहभागीलाई स्वागत’ लेखिएको ठूलो होर्डिङ बोर्ड, त्यसपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, सम्मेलन आयोजक समितिका अध्यक्ष माधवकुमार नेपाल, युनिभर्सल पिस फेडरेशन अन्तराष्ट्रियका अध्यक्ष डा. थोमस जी वाल्स, युपिएफ नेपालका अध्यक्ष एकनाथ ढकाल, फिलिपिन्सको प्रतिनिधिसभाका पूर्व सभामुख तथा आइक्याप संस्थापक अध्यक्ष साथै आइएपिपिका अन्तराष्ट्रिय सहअध्यक्ष जोसे डे भेनेसिया जुनियरलगायतका विशिष्ट ब्यक्तित्वहरूको फोटोसहित ‘सहभागीलाई स्वागत’ लेखिएका ठूला होर्डिङ बोर्डहरु हेर्दा जोकोहीले पनि नेपाल सरकारको सकृयतामा सम्मेलन भएको दाबी गर्ने ठाउँ छ। 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगायतका बिभिन्न राजनीतिक, धार्मिक लगायतका संस्थाहरुले सरकारलाई सहआयोजक बनाइएको प्रति बिरोध जनाएपछि आइक्यापले नेपाल सरकारलाई सहआयोजकबाट हटायो तर निम्तो र पुर्व तयारीमा फेरबदल गरेन। 

आवरणभित्रको कथा 

एसिया प्यासिफिक सम्मेलन २०१८ फिजीमा गर्ने प्रयास बिफल भएपछि नेपालमा सम्भव भएको हो। बिश्वका अधिकांश देशहरुले आयोजकहरुको भित्रि खेल बुझे र त्यहाँ यस प्रकारको सम्मेलन हुन दिएनन। तर युपीएफ नेपालका नेपाल च्याप्टरका अध्यक्ष तथा दुई दुई पटक मन्त्री बनिसकेका एकनाथ ढकालको प्रयास सफल भएपछि सम्मेलन नेपालमा सम्भब भयो। 

तत्कालिन परिवार दललाई तत्कालिन एमालेमा बिलय गराएका एकनाथ ढकालले २०६८ सालमा नै नेपालमा यस प्रकारको सम्मेलन गर्ने प्रयास गरे। अहिले एमालेमा बिलय भएपछि पैसाको आडमा नेकपा भित्र शक्तिशाली नेता बनेका ढकालले आफ्नै नेतृत्वको सरकार भएको मौका छोपी नेपालमा सम्मेलन गराए। त्यसो त परिवार दलको अध्यक्ष भएको बेला पार्टीका नेता तथा कार्यकर्तालाई क्रिस्चियन बन्न निर्देशन दिएपश्चात ढकाल विवादमा तानिएका थिए।

विवादित युनिफिकेसन चर्चको 'नेपाल कनेक्सन'

आइक्यापको आयोजना र युपीएफको संयोजकत्वमा यो सम्मेलन भएको हो। यसबाहेक युपीएफसंग सम्बन्ध रहेको अर्को संस्था कार्प (Collegiate Association for the Research of Principles (CARP) नेपालमा पनि सञ्चालनमा छ यो संस्थाले सन म्युङ मूनको कथित ‘डिभाइन प्रिन्सिपल’ लगायतको प्रचार गर्छ।

सन २००५ मा स्थापना भएको कार्पको संस्थापक अध्यक्ष मूनले आफुलाई क्रिस्चियन धर्मालम्बीले इश्वर मान्ने जिससको उत्तराधिकारी घोषणा गरे। उनले आफुलाई पर्खिएका जिसस (मसिहा) घोषणा गरे। सन २०१२ मा मूनको निधन भएको थियो। 

मुनको सञ्जाल जापान, उत्तर कोरिया, दक्षिण कोरियादेखि अमेरिकासम्म फैलिएको छ। मृत्युपछि मुनको साम्राज्य हाल उनकी श्रीमती र सन्तानहरूले सम्हाल्दै आएका छन्। मुनकी श्रीमती तथा युनिफिकेशन चर्चकी प्रमुख हक जा हन मुन विहिबार नै काठमाडौं आइपुगेकी छिन्। हक जा हन मुनले आफ्नो पितापछि आफु नै मसिया भएको घोषणा गर्दै आफुलाई 'जिससको छोरी' घोषणा गरिन। 

शताब्दीकै सबैभन्दा विवादास्पद धार्मिक अभियान

मुनले सञ्चालन गरेको युनिफिकेसन चर्च शताब्दीकै सबैभन्दा विवादास्पद धार्मिक अभियान हो। बिश्वका क्रिस्चियनहरुले मुनलाई मसिया मान्न अस्विकार गर्दछन र क्रिस्चियनहरुले मुनलाई झुटो मसिया 'फल्स मसिया' मान्छन। 

क्रिस्चियन धर्ममा आफ्ना अधुरा काम गर्न जिसस क्राइष्टको आगमन हुने बिश्वास छ। त्यहि बिश्वासलाई समातेर सन २००५ मा मुनले आफुलाई मसिया घोषणा गरेका हुन। मुनको छोरी भएकै कारण आफु जिससको छोरी भएको र सबैले आफूबाट आशिर्बाद लिनुपर्ने र अहिलेको इश्वर आफुनै भएको हक जा हन मुनको दाबि छ। थप जान्न यहाँ जानुहोस

प्रधानमन्त्री ओली लगायतका नेताहरुको सामुहिक आशिर्बाद ग्रहण र धार्मिक आस्था 

यस सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री पत्नी, पुर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधबकुमार नेपाल लगायतका दर्जनौं नेता तथा मन्त्रीहरु सामेल भएका छन। नेपालका प्रधानमन्त्री दम्पति लगायत कम्बोडियाका प्रधानमन्त्री, पाकिस्तानीका पुर्वप्रधानमन्त्री, म्यानमार, फिजी, अफगानिस्तानका उच्च अधिकारीहरुए यस सम्मेलनमा हक जा हन मुनबाट संयुक्त रुपमा आशिर्बाद लिने कार्यक्रम रहेको छ। 

यस अर्थमा हक जा हन मुनले बिश्वका कयौं देशका प्रधानमन्त्री, पुर्वप्रधानमन्त्रीहरुसामु आफुलाई अप्र्यक्ष रुपमा मसिया मान्न बाध्य बनाएकी छिन। संयुक्त रुपमा बिबाह गर्ने र संयुक्त रुपमा आशिर्बाद लिने कर्मकाण्ड मुनको धार्मिक शिक्षा भित्र पर्दछ। त्यस्तै नवविवाहित दम्पतिले सबैभन्दा पहिला ब्याटले एक अर्कालाई हान्नुपर्ने र त्यसपछि मुनको चित्र अगाडि बसेर निर्देशन दिइएका आसनमा बसेर तीन दिनसम्म यौन सम्पर्क गर्नुपर्ने निर्देशन समेत मुनको धार्मिक शिक्षा भित्र पर्दछ। यसबारे जान्न यहाँ जानुस्।

एसिया प्यासिफिक सम्मेलन: कम्युनिस्टको काँधमा टेकेर 'नक्कली' क्रिस्चियन बनाउने अभियान

सन २००५ मा आफुलाई जिससको उत्तराधिकारी घोषणा गर्ने मून कम्युनिस्टका कट्टर आलोचक हुन। संयोग मात्र होइन अचम्म नै मान्नुपर्छ, आफुलाई जिससको उत्तराधिकारी घोषणा गर्ने मूनकि श्रीमती हक जा हनले आफुलाई अहिले जिससको छोरी र अहिलेको समयको जिसस घोषणा गरेकी छिन। र तिनै हक जा हनको हातबाट आशिर्बाद लिन होटल ह्यातमा आयोजित सम्मेलनमा कम्युनिष्ट नेताहरुको लामो ताँती नै छ। 

परराष्ट्र मन्त्रालयका सहप्रवक्ता रामबहादुर ढकालले यो सम्मेलन एउटा नितान्त एनजीओको कार्यक्रम भएको दाबि गरेपनि, यस सम्मेलनको समितिको संयोजक रहेका पुर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधबकुमार नेपालले धर्मप्रचारको बिषय होइन भनेर अस्विकार गरेपनि सम्मेलनको भित्रि आवरण धर्म प्रचार नै देखिन्छ। त्यति मात्र होइन, पुर्वप्रधानमन्त्री झलनाथ खनाल र कांग्रेस नेत्री सुजाता कोइराला आयोजक आइक्यापको स्थायी सदस्य हुनुले यो सम्मेलन मात्र सम्मेलन भन्न नमिल्ने बिज्ञहरुको भनाई छ।    

नेपालका क्रिस्चियनहरुको प्रतिनिधित्व गर्ने ख्रिष्टियन सरोकार अभियानका एनसीएफएन र एनसीएस नामक संस्थाले बिभिन्न देशहरुले अस्वीकृत गर्दै आएको यो सम्मेलनमा आफ्नो कुनै पनि भूमिका नरहेको भन्दै प्रेस बिज्ञप्ती नै जारि गरेका छन। एनसीएफएनका अध्यक्ष पादरी सुर्यबहादुर बल तामाङ र एनसीएसका अध्यक्ष पादरी कृष्णबहादुर श्रेष्ठद्वारा हस्ताक्षरित बिज्ञप्तिमा यस सम्मेलनमा आफुहरुको कुनै संलग्नता नरहेको उल्लेख छ।

क्रिस्चियन पादरीहरुका अनुसार हक जा हनले आफुलाई मसिया घोषणा गर्नु क्रिस्चियन धर्मको मर्म बिपरित हो।   जिसस क्राइस्ट आउनेमा क्रिस्चियनहरुको बिश्वास भएपनि जिससको छोरी भन्ने कुरो नहुने उनीहरुको तर्कछ। 'सम्मेलन क्रिस्चियन धर्म फैलाउन गरिएको जस्तो देखिएको  छ तर यथार्थमा यो  सम्मेलन  कम्युनिष्टहरुको काँधमा टेकेर नक्कली क्रिस्चियन फैलाउने अभियान मात्र हो' पादरी भन्छन 'क्रिस्चियन धर्मावलम्बीले समेत अस्विकार गरेको यो सम्मेलनलाई कम्युनिष्ट सरकारले बुझेर महत्त्व दियो या नबुझेर यति महत्त्व दियो त्यसको तथ्य खुल्दै जानेछ तर दृश्यलाई आधार मान्ने हो भने नेपालका धेरै नेताहरु यो अभियानको जालमा परिसकेका छन'।      

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved