शृङ्खला खतिवडाले पटकपटक सम्झिरहने अविन को हुन् ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Dec 05, 2018 | 12:59:02 PM मा प्रकाशित

laxmi  sunrise bank

मिस नेपाल शृङ्खला खतिवडाले सोमबार मिस वर्ल्डको मल्टिमिडियातर्फको विधा र 'ब्यूटी विथ पर्पस' को अवार्ड जित्दै मिस वर्ल्डको अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित गरेकी छन्। त्यस लगत्तै खतिवडाले आफ्नो इन्स्टाग्राममा राखिएको भिडिओमा सबै नेपालीलाई धन्यवाद दिँदै एउटा नाम लिन छुटाइनन्, त्यो नाम थियो, अबिन भो। जसले खतिवडाका लागि परिचयात्मक भिडिओ बनाइदिएका थिए।

शृङ्खलाले आफ्नो इन्स्टाग्राम पोष्टमा अबिनलाई धन्यवाद दिँदै लेखेकी छन्, "हामीले गर्न सकेका छौं। सबैको माया र साथका लागि धेरै-धेरै धन्यवाद। यो हाम्रो देशका लागि र हामीले देखाएको एकताको लागि हो।" आभार सन्देशमा शृङ्खला भन्छिन्, "म खासगरी अबिन भोलाई धन्यवाद दिन चाहन्छु जसले मेरो परिचयात्मक भिडिओ बनाइदिए, जुन अहिले प्रत्येक नेपालीको मुटुमा छ। उल्लेख्यमात्रामा समर्थन हासिल गर्न यो भिडिओले धेरै भूमिका निर्वाह गरेको छ। तिमी उत्कृष्ट भाइ हौ।"

मिस नेपाल खतिवडाले यसरी आफ्नो सफलताको श्रेय दिएका अबिन, युवा पुस्तामाझ आफ्ना भिडिओका कारण चर्चित छन्। २० वर्षीय अबिनलाई सानै उमेरदेखि निकट रुपमा चिनेका निशोन शाक्यले भने, "साथीहरूको सानो सर्कलमा रमाउने अबिन सानैदेखि कम्प्यूटरमै धेरै समय बिताउने गर्थे। उनले भिडिओ बनाउने कला पनि कम्प्यूटरबाट आफैँ सिकेका हुन्।"

काभ्रेको बनेपामा जन्मिएका अबिन एक कक्षा पढ्दा उनको परिवार बसाईँ सरेर पोखरा पुगेको थियो। पोखराकै गण्डकी बोर्डिङ स्कुलबाट ए लेभेल पढेका उनी अहिले भिडिओ बनाउने काममै ब्यस्त छन्। ए लेबलमा आफ्नो कक्षामा पहिलो भएका उनी १३ वर्षको हुँदादेखि नै स्कुलमा साथीहरूसँग मिलेर भिडिओ बनाउने गर्थे। 

भिडिओका लागि आवश्यक वातावरण आफ्नो बुवाबाट पाएको बताउने अबिनका अनुसार उनको भिडिओ बनाउने 'प्यासन' अहिले 'प्रोफेसन' बनेको हो। सन् २०१६ मा ए लेबल पूरा सिद्धयाए यता सक्रिय रुपमा भिडिओमा काम गरिरहेका अबिनले यसअघि पहिलो हिमालयन रोडिज कार्यक्रममा दोस्रो बनेको अनिमेस शाहीको 'द शो डाउन' नामक सानो एक्सन फिल्म पनि बनाएका थिए। 

अहिले बुद्ध एयरका लागि व्यापारिक विज्ञापन बनाउने काम गर्ने अबिनका बुवा यादवदास भोछिभोया पनि भिडिओमै काम गर्छन्। आफ्नो यूट्यूबमा २८ हजार भन्दा बढी सब्स्क्राइबर भएका अबिनका इन्स्टाग्राममा पनि झण्डै १५ हजार फलोअर छन्। उनले बनाएको शृङ्खला खतिवडाको परिचयात्मक भिडिओ अहिलेसम्म करिब २० लाखले हेरिसकेका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved