बैंकहरु ब्याजदर बढाउने प्रतिस्पर्धा, के गर्दैछ अर्थ मन्त्रालय र राष्ट्र बैंक ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2018 | 03:10:21 PM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकहहरु ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिएपछि नियामक निकाय अर्थ मन्त्रालय र राष्ट्र बैंकले त्यसको समाधान खोज्न जुटेका छन् । बैंकर्स संघले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बैंकहरु आफैलाई तोक्न बाटो खुला गरिदिएसंगै ब्याजदर बढेको हो  । बैंकहरुले १३ प्रतिशतसम्म दर बढाएका छन् ।

ब्याज कै त्रासले शेयर बजारमा गिरावट देखिएको छ भने अर्थमन्त्री पनि संघको निर्णयबाट अशन्तुष्ट छन् । बैंकहरुलाई स्थानीय तहको ५० प्रतिशत पैसा चलाउन दिएको भोलिपल्टै बैंकहरुले ब्याजदरबारे नयाँ निर्णय गरेपछि अर्थमन्त्री अशन्तुष्टी बनेका हुन् । बैंकहरुले निक्षेप तान्न आकर्षक ब्याजदर दिंदा ऋणको पनि ब्याज  बढ्ने र यसले समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएकोले अर्थमन्त्री समस्या समाधान गर्न अग्रसर भएका हुन् । मन्त्रालयका सहायक प्रबक्ता जनक शर्माले यस बिषयमा अर्थमन्त्रीले आन्तरिक छलफल गरिरहेको र छिट्टै केहि निर्णय हुने बताएका छन् । 

उता लगानीकर्ताहरुले अर्थमन्त्रीको राजिनामा माग्दै आइतबारदेखि अनशन बस्ने तयारी गरेका छन् । मन्त्रालयले शेयरबजारको केहि माग पनि सम्बोधन गर्न सक्ने बताईएको छ ।

उता राष्ट्र  बैंकले पनि आफ्नो तर्फबाट समस्याको समाधानको लागि छलफल थालेको छ । राष्ट्र बैंकका प्रबक्ता नारायण पौडेलले यो गम्भीर बिषय भएकोले के गर्ने भन्ने बिषयमा अन्तरिक छलफल भईरहेको बताएका छन् । थप छलफल गरेर निर्णयमा पुगिने उनले बताए । 

बैंकहरुले तरलता अभाव भएको भन्दै निक्षेप संकलन गर्न आकर्षक ब्याजदर अफर गरेका हुन् । यसै बीचमा राष्ट्र बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्धती निक्षेप राख्नको लागि सूचना प्रकाशित गरेको छ । केन्द्रीय बैंकले आगामी पुस १ गतेदेखि २०७६ मंसिर ३० गतेसम्मका लागि त्रैमासिक रुपमा ब्याज भुक्तानी पाउने गरि सो रकम लगानी गर्न चाहेको हो । त्यसको लागि राष्ट्र बैंकले बैंकहरुसँग आफुले दिन सक्ने ब्याजदरको प्रस्ताव आह्वान गरेको हो  । 


कसले कति बढाए ब्याज ?

मंगलबार नै जनता बैंकले मासिक ब्याज पाँउने गरी जनता मुद्दती निक्षेपमा वार्षिक १२% ब्याज दर सार्बजनिक गरेको थियो  ।  यस मुद्दती योजनामा ग्राहकले न्यूनतम रु. १ लाखमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएको छ । साथै बैंकको सम्पूर्ण बचत खाताको ब्याजदर बार्षिक ७% कायम गरिएको बैंकले जनाएको छ । 

जनता बैंकपछि माछापुच्छ्रे बैंकले पनि ब्याज बढाएको छ । माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर साढे १२ प्रतिशत पुर्याएको छ। प्रकाशित ब्याजमा थप आधाप्रतिशतसम्म ब्याजदर बढी दिन सकिने भएकोले बैंकको ब्याज १३ प्रतिशतसम्म पुग्नसक्छ। 

आज बिहिबार थप ३  बैंकले नयाँ ब्याजदर सार्बजनिक गरेका छन् । जस अनुसार मेगा बैंकले न्युनतम १ लाखको व्यक्तिगत मुद्दती निक्षेपमा  १२.५० ब्याज दिने भएको छ।  प्रकाशित ब्याजमा थप आधाप्रतिशतसम्म ब्याजदर बढी दिन सकिने भएकोले बैंकको ब्याज १३ प्रतिशतसम्म पुग्नसक्छ।  त्यो भन्दा कमको बचतमा भने बैंकले १० प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै संस्थागत क्षिक्षेपकर्तालाई ९ प्रतिशत ब्याजदर सार्बजनिक गरेको छ ।  

त्यस्तै कुमारी बैंकले पनि न्यूनतंम मौज्दात रु १० हजारमा व्यक्तिगत निक्षेपकर्ताको लागि १३ प्रतिशत ब्याज घोषणा गरेको छ । प्रकाशित ब्याजमा थप आधाप्रतिशतसम्म ब्याजदर बढी दिन सकिने भएकोले बैंकको ब्याज १३.५० प्रतिशतसम्म पुग्नसक्छ।  

बैंक अफ काठमाडौँले व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत नयाँ ब्याजदर कायम गरेको छ । 

अन्य बैंकहरुले पनि ब्याज बढाउने अनुमान गरिएको छ ।  


यो पनि :

ब्याजदर बारे बैंकर्स संघको नयाँ निर्णय, बार्गेनिङ गरेर जति पनि तोक्न पाउने

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved