'निर्मला प्रकरणमा कुनै कमजोरी देखिए संसदमा राखेर मेरो बर्दी खोल्दिनुस'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2018 | 04:01:36 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी गराएका छन् । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताए । 

महानिरीक्षक खनालले भने , “हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौँ, अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो तर यो घटनामा कसैको दबाब छैन र कसैको दबाबले अनुसन्धान प्रभावित हुँदैन, प्रमुखका रुपमा कुनै कमजोरी देखिए संसद्मा राखेर मेरो बर्दी खोलिदिए हुन्छ ।” 

कञ्चनपुरकी बालिका पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता नलागेको विषयमा आवाज उठिरहेको सन्दर्भमा समितिले आज प्रहरी प्रमुखलाई आमन्त्रण गरेको हो । 

महानिरीक्षक खनालले घटना अनुसन्धानमा गैर व्यावसायिकता प्रदर्शन गरेको देखिएपछि केही प्रहरी अधिकृतलाई बर्खास्त गर्ने काम भइसकेको र अनुसन्धान जारी रहेको बताए । उनले अनुसन्धानका लागि नियन्त्रणमा लिइएका केही व्यक्तिको नाम हतारमा दिइएका कारण अनुसन्धानमा कमजोरी भएको आशङ्का देखिएको उल्लेख गरे  । 

महानिरीक्षक खनालले ९७ दशमलव ५ प्रतिशत घटनाको अनुसन्धान भई कानूनको दायरमा ल्याइएको र जघन्य अपराधका घटनामा सफलता हात पारेको दाबी गरे  । राष्ट्रविरोधी र अवाञ्छित गतिविधि गर्नेलाई पक्राउ गरी कारवाही गरिएको पनि उनले जानकारी दिए   । 

“कुनै अप्रिय घटना नहुन दिनका लागि सुरक्षालाई दृढताका साथ सबै सतर्कता र सक्रियता अपनाइएको छ, महिला र बालबालिकालाई बाहिर निस्कनै गाह्रो छ भन्ने होइन, सहज परिस्थिति छ”, महानिरीक्षक खनालले भने  । 

उनले समग्र शान्तिसुरक्षा र सुशासनका सम्बन्धमा आफूले मात्र नभई गृह मन्त्रालयको नेतृत्वले जवाफ दिँदा उचित हुने बताए   ।  
प्रहरी महानिरीक्षकको भनाइ सुनेपछि बैठकले पन्तको घटनामा संलग्न दोषीलाई चाँडो सार्वजनिक गरी कानूनी कारवाहीको दायरामा ल्याउन निर्देशन दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved