दुखद २०१८: ठुला दुर्घटनामा मात्रै २०० को मृत्यु, ११ विशिष्ट व्यक्तिवको पनि निधन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2018 | 06:06:03 PM मा प्रकाशित

laxmi  sunrise bank

 सन् २०१८ मानवीय क्षतिका दृष्टिले नेपाल र नेपालीका दुःखद वर्ष बन्न पुग्यो । विमान दुर्घटनासँगै यही वर्ष भ्रमणमा हिँडेका सहकारीकर्मी, विद्यार्थी, काम विशेषमा हिँडेका एकै ठाउँमा काम गर्ने मजदूर, एउटै गाउँका स्थानीयवासी सवार गाडी दुर्घटनामा परेर थुप्रै नेपाली दाजुभाइ दिदीबहिनीको मृत्यु भयो । 
एउटै घरमा पुरिएर एकै परिवारका सदस्यले समेत अनाहकमा ज्यान गुमाउनु प¥यो सन् २०१८ मा । सडकको नाजुक अवस्था, चालकको लापरवाही, तीव्र गति, ओभरटेक लगायतका कारण सडक दुर्घटना हुने गरेका छन् । 

सबैभन्दा कहालिलाग्दो घटनाको रुपमा यो वर्ष बङ्गलादेशबाट आएको युएस एयर–बङ्गला विमान दुर्घटना भयो । गएको फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनाग्रस्त हुँदा ४९ जनाको मृत्यु भएको थियो । यो वर्षकै सबैभन्दा ठूलो दुर्घटना बन्न पुग्यो । 

यही पुसमा दाङको घोराहीस्थित शहीद कृष्णसेन इच्छुक प्राविधिक विद्यालयका विद्यार्थी चढेको गाडी सल्यान भ्रमणबाट फर्कने क्रममा तुलसीपुरमा दुर्घटना हुँदा शिक्षक–विद्यार्थी गरी २३ जनाको निधन भयो । दाङमै मङ्सिरमा चितवनबाट बेहुली लिएर बाँकेको शमशेरगञ्ज फर्कंदै गर्दा चाँडै घर पुगेर दुलही भित्र्याउने तयारी गर्न भनी जीपमा अगाडि हिँडेका दुलाहाका बाबुआमासहित छ जनाको दुर्घटनामा मृत्यु भयो । 

त्यस्तै, दुर्घटना मङ्सिरमा नुवाकोटमा पनि भयो । नुवाकोट दुप्चेश्वर गाउँपालिका १ घ्याङ्फेदीमा तामाङ जातिको मृत्यु संस्कारमा सहभागी भएर फर्कने क्रममा मिनिट्रक दुर्घटनामा एकै गाउँका २० सर्र्वसाधारणले ज्यान गुमाउन पुगे । 

असार महिनामा उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदूर निर्माणको काम रोकेर खाना खान टिपरको पछाडि बसेर आउँदै गर्दा दुर्घटनामा परेका थिए । 

जेठमा पाल्पा रम्भा गाउँपालिका ४ हुमिनमा तानसेनबाट रामपुरमा रहेको एक सहकारीको भ्रमणमा जाने क्रममा लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरु चढेको बस भिरबाट खस्दा १५ जनाको मृत्यु हुन पुग्यो । 

डडेल्धुराको उग्रतारा भगवती मेलाबाट डोटी जाँदै गरेको से १ प २९३ नम्बरको स्कुल बस गएको मङ्सिरमा अमरगढी नगरपालिका ११ रडुवा खोलामा दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाउनु प¥यो । 

कात्तिकमा डोल्पाको ठुलीभेरी नगरपालिका ९ कालागौंडास्थित बतासेबाट एउटा जीप भेरी नदीमा खस्दा १० जनाको मृत्यु भयो । भदौमा रौतहटको लालबकैया नदीमा डुङ्गा दुर्घटना हुँदा खेतबाट घाँस काटेर फर्कंदै गरेका १५ स्थानीयवासी बेपत्ता हुन पुगे । 

धेरै दुर्घटना हुने चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड सन् २०१८ सुखद बन्यो । तर गएको साउनमा चितवनको इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा काठमाडौँबाट स्याङजा जाँदै गरेको बस अर्काे गाडीसँग ठक्कर खाएर त्रिशूली नदीमा खस्दा आठ जनाको ज्यान गयो । साउनमा रुकुम पूर्वको सिस्ने गाउँपालिकास्थित मध्यपहाडी राजमार्गमा जीप दुर्घटना हुँदा सात जनाको अनाहकमा मृत्यु भयो । 

असोजमा दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको तीव्र गतिमा रहेको माइक्रोबस बाँकेको शमशेरगञ्जमा ट्रकसँग ठोक्किँदा छ जनाको मृत्यु भयो । गएको माघमा काठमाडौँबाट झापा जाँदै गरेकोे जीप धनुषामा दुर्घटना हुँदा ६ जनाको ज्यान गयो । उक्त दुर्घटना चालक निदाएका कारण भएको र सडक नजीकैको पोखरीमा डुबेकाले निस्सासिएर यात्रुको मृत्यु भएको प्रहरीको भनाइ थियो । 

मङ्सिरमा तीन वर्ष अघि मात्रै ट्रयाक खुलेको बाँके बहाकोट सडकको डाङ्ग्रे घुम्तीमा सुर्खेतबाट बाँके आउँदै गरेको जीप दुर्घटनाग्रस्त हुँदा पाँच जनाले ज्यान गुमाए । 

माघमा छोरा डा रञ्जनको बिहे छिनेर कपिलवस्तुबाट काठमाडौँ फर्कने क्रममा बा १ झ ३१४० नम्बरको सरकारी जीप धादिङको सलाङ्घाटबाट त्रिशूली नदीमा खस्दा सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव र भाञ्जी उन्नति गुप्ताको निधन भयो भने छोरा सन्तोष यादव बेपत्ता भए । 


पहिरोले पनि लग्यो ज्यान 

बाढीपहिरोबाट पनि सन् २०१८ को वर्ष दुःखद बन्न पुग्यो । सुतिरहेका बेला एकै घरका मानिस पहिरोमा पुरिन पुगे । 

राति सुतिरहेका बेला साउनमा रसुवाको टिमुरेमा पहिरोमा पुरिएर नौ जनाको मृत्यु भयो । भदौमा सल्यानको बागचौर नगरपालिका ४ स्थित रामबहादुर विकको घर भत्कँदा एकै परिवारका पाँच जनाको मृत्यु भयो । 

साउनमा वर्षासँगै आएको पहिरोले जाजरकोटको भेरी नगरपालिकाको ठाँटी बजारका दुई घर पुरिंँदा सात बालबालिका सहित ८ जनाको मृत्यु भयो । उक्त पहिरोमा एकै घरका ४ जना परेका थिए । 

यता, सन् २०१८ मा एयर बङ्गलाको विमान दुर्घटनासँगै अन्य दुई वटा दुर्घटना पनि भए । गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका १ मैलुङपाखामा भएको दुर्घटनामा ६ जनाको मृत्यु भयो । भाग्यवश एकजना बाँच्न सफल भए । यस्तै जेठमा मकालु एयर जहाज हुम्लामा दुर्घटना हुँदा चालक दलका दुई सदस्यको ज्यान गुम्यो । 


विशिष्ट व्यक्तिको निधन 

सन् २०१८ नेपालका केही विशिष्ट व्यक्तिको निधन भयो । पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश, राजनीतिज्ञ, चिकित्सक, कलाकार, साहित्यकार, गायक र सञ्चार उद्यमीलाई मुलुकले गुमाए । 


कलेजोसम्बन्धी रोगका कारण पुस ३ गते पूर्व प्रधानमन्त्री तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन भयो । विसं २०३२ सालमा प्रधानमन्त्री बनेका गिरी विसं २०१९ मा मन्त्रिपरिषद् अध्यक्ष थिए । पञ्चायती व्यवस्थाका सूत्रधार मानिने गिरी विसं २०१५ सालका वी पी कोईराला जननिर्वाचित प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री थिए । 


मङ्सिरमा पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीको उच्च उक्तचाप र निमोनियाका कारण निधन भयो । उनी २०६४ सालमा प्रधान न्यायाधीश बनेका थिए । उनी संसदीय सुनुवाइको सामना गर्ने पहिलो प्रधान न्यायाधीश थिए । 


सन् २०१८ मा नेपाली काँग्रेसका दुई नेतालाई मुलुकले गुमाए । करीब छ वर्ष अघिदेखि अर्धचेत अवस्थामा रहेका काँग्रेस नेता चक्रप्रसाद बास्तोलाको गएको असोजमा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भयो । विसं २०४८ सालमा भारतका लागि नेपालका राजदूत रहेका बास्तोला २०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनेका थिए । 


मिर्गौला, छाती र नशासम्बन्धी रोगबाट पीडित नेपाली काँग्रेसका अर्का नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको चैतमा निधन भयो । पञ्चायती शासनको अवसान र प्रजातन्त्र स्थापनामा उनको महत्वपूर्ण योगदान छ । 

कात्तिकमा मानवअधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको मस्तिष्काघातका कारण ७८ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भयो । कम्युनिष्ट आन्दोलन र शान्ति प्रक्रियामा उनको महत्वपूर्ण योगदान छ ।

यही वर्ष असारमा एशियाकै अब्बल न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भयो । पित्तथैलीको क्यान्सरबाट पीडित डा देवकोटाको न्यूरो अस्पताल बाँसबारीमा निधन भएको हो । पूर्व स्वास्थ्यमन्त्री रहेका देवकोटा लामो समय बेलायत उपचार गरे पनि स्वास्थ्य अवस्था सुध्रिएन । 

एयर बङ्गलाका विमान दुर्घटनामा चितवनका वरिष्ठ न्युरो सर्जन डा बालकृष्ण थापाको निधन भयो । बङ्गलादेशमा भएको चिकित्सासम्बन्धी गोष्ठीमा भाग लिएर नेपाल फर्कने क्रममा उनको निधन भएको थियो । 

नेपाली साहित्यमा लोकप्रिय कथाकारका रूपमा परिचित साहित्यकार मनु ब्राजाकीको यही वर्ष निधन भयो । माघमा बाज्राकीको ब्रेन स्ट्रोकका कारण निधन भएको हो । ब्राजाकीको सातवटा कथासङ्ग्रह र गजल सङ्ग्रहहरू प्रकाशित छन् । 

व्यावसायिक पत्रकारिताका अगुवा हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा असोजमा निधन हुन पुग्यो । उनी कान्तिपुर दैनिक र नेपाल रिपब्लिक मिडियाका संस्थापक थिए । 

साहित्यकार तथा सञ्चारकर्मी यज्ञनिधि दाहालको मिर्गौलासम्बन्धी रोगबाट साउनमा निधन भयो । विसं २०५७ सालमा दाहालको मिर्गौलाले काम नगरेपछि प्रत्यारोपण गरिएको थियो । 

वरिष्ठ कलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा जेठमा निधन भयो । ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडेका थापाले झण्डै एक सयवटा चलचित्र र टेली चलचित्रमा अभिनय गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved