गोबर ग्याँसले फेरिएको कान्छीको दैनिकी

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Jan 07, 2019 | 08:24:23 PM मा प्रकाशित

laxmi  sunrise bank

गोरखाको गण्डकी गाउँपालिका २ ताङ्लिचोककी कान्छी परियारको भान्छामा अहिले ग्यासमा खाना पाक्छ । त्यति मात्रै होइन बर्षौदेखि जंगलमा दाउरा कै लागि भौतारिनु पर्ने उनको बाध्यता पनि हटेको छ । तिन महिनाअघि घर मै गोबर ग्याँस निर्माण भएसंगै दाउरा खोज्न जंगल चहार्नुपर्ने समस्या हटेको हो । ‘हाम्रो नजिक जंगल पनि छैन, घरमा दाउरा नभइ पनि नहुने, साह्रै दुख झेलियो’ परियारले भनिन् ‘तिन महिना भयो गोबर ग्याँस जोडेको, साह्रै सजिलो हुने रहेछ ।’

ताङ्लिचोकको धनसिराकी कान्छी परियारलाई दाउराकै चिन्ता मात्रै सकिएको होइन अहिले उनलाई धूवाँमा उकुसमुकस भएर खाना पकाउनु पर्ने समस्या पनि छैन । पहिलेदेखि नै श्वासप्रश्वासमा समस्या भोग्दै आएकी उनलाई अहिले औषधी समेत खान परेको छैन । ‘धुवाँ मलाई पर्नै नहुने, बिरामी भइहाल्ने । अहिले त्यो समस्या छैन’ परियारले भनिन् ‘पहिलाको औषधी पनि खान परेको छैन, धूवाँको असरले रहेछ भन्ने अहिले बुझेको छु ।’ ग्याँसमा पकाउदा भाँडा समेत कालो नहुने भएकाले त्यसबाट समेत मुक्ति पाइएको उनको अनुभव छ ।

घरमा गोबर ग्याँस चलाउन थालेपछि समयको पनि बचत हुन थालेको उनि बताउछिन् । उनले जंगल गएर दाउरा खोज्ने समय अहिले घरबारीमा लगाएको तरकारी गोडमेल र हेरचाहमा बिताउने गरेकी छिन् । ‘बन–बनमा दाउराको लागि धेरै भौतारिएको छु, अहिले त्यो टेन्सन छैन, पहिलाभन्दा फुर्सदिलो पनि भएकी छु’ परियारले भनिन् ‘घरबारीमा तरकारी खेती थालेको छु अहिले त्यसकै हेरचाहमा दिन बित्छ ।’

सिलिण्डर ग्यास किन्ने क्षमता समेत नभएकी परियारको घरमा एकिकरण नामक संस्थाले गोबर ग्याँस जोडिदिएको हो । डेनमार्क इन्साम्लिङको आर्थिक सहयोगमा डिसिए र एकिकरण नेपालको साझेदारीमा संचालन भएको साहस परियोजना अन्तरगत परियार सहित ताङ्चिोकमा ५ घरपरिवारमा गोबर ग्याँस निर्माण गरिएको छ । वैकल्पिक उर्जा प्रवद्र्धन गर्ने उदेश्यले त्याहाका विपन्न परिवारलाई गोबर ग्याँस निर्माणमा सहयोग गरिएको परियोजना संयोजक चन्द्र बहादुर देवकोटाले बताए । गोबर ग्याँस जडानका लागि प्रतिपरिवार ६० हजार बराबरको रकम खर्च भएको समेत उनको भनाई छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved