'नेता मन्त्रीको त् के कुरा, पुर्वराजा ज्ञानेन्द्रले पनि निगमबाट सहुलियत लिंदा रहेछन'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2019 | 11:48:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमको ४९ औँ वार्षिकोत्सवमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले गरेको सम्बोधनको सम्पादित अंश: 

नेपाल आयल निगममा प्वाल नै प्वाल छन् । प्वाल परेपछि त चुहिन्छ, त्यो चुहिएको कुरा थाप्नलाई धेरैजना तँछाडमछाड गरिरहेका छन् । ढुवानीकर्ता, ड्राइभर, विक्रेता, मन्त्रालयका सचिव सबैले भाँडो थाप्ने चलन रहेछ । ढुवानीकर्ता, ट्याङ्कर चालक, प्रशासक, बिक्रेता, सचिव अनि मन्त्री पनि सबैले अलिअलि भाँडो थापेकै छन् । अनि जनता जहिले पनि मारमा परेको प¥यै । माथिकाले त्यै प्वालबाट भाँडो भर्ने तर जनतालाई सुख्खा हुने । धेरै नै प्वाल थिए, यता टाल्यो उता चुहिने, उता टाल्यो यता चुहिने । तर अहिले टाल्दा टाल्दा केही कम भएको छ । 

निगमको अहिलेसम्मको अवस्था हेर्दाखेरी आजसम्म यो देशमा आजसम्म सरकार थियो, कि थिएन भनेर  सोच्ने गर्दछु । तर पनि चोरको लागि ताला बेइमानको लागि तमसुक कि के भन्या जस्तो ताला लगाए पनि कहाँ पुरै चुहिन छाडेको छ र ?  त्यस्तै मधेसतिर भन्छन्, रजबुद्धि भन्दा चोरबुद्धि भारी । त्यही भएर त निगमका ताला लागेका ट्यांकरबाट २४-२५ सय लिटर तेल हराएका घटना आइरहेका छन् त । 

म मन्त्री भएदेखि मलाई दुईवटा चिजले साह्रै हैरानी बनायो, बदनाम बनाउने प्रयास पनि गर्‍यो । त्यो हो नेपाल आयल निगम र उखु मिल । यी ठाउँमा मैले अनावश्यक भनाई खानुपर्‍यो, आरोप खेप्नुपर्‍यो ।  

आज त निगमको वार्षिकोत्सव हो, सुखद दिन हो जस्तो लागेको थियो । शुभकामना नै सुनिन्छ जस्तो लागेको थियो । तर यहाँ त साथीहरुले च्यालेन्ज नै पो गरे ।  म आएदेखि जता पनि च्यालेन्ज नै च्यालेन्ज मात्रै छन्, यहाँ पनि आए । 

जिन्दगीभरि त लडियो, १२-१३ वर्षदेखि लडियो, जेल  गैयो । अब त मन्त्री भैयो अलि सुख मिल्ला कि भनेको फेरि च्यालेन्ज आइरहेका छन् । म त भन्छु विस्फोट मारमुंग्रीबाट केही हुँदैन । आउनुस् छलफल गरौँ, समस्याको समाधान त त्यसरी पो हुन्छ त । 

आयल निगमलाई हामीले सुधार गर्दैछौँ । बाहिरबाट सुधार गरेर मात्रै भएन, यहीँभित्रका विसंगति अन्त्य नगरेसम्म कसैको पनि कल्याण हुनेवाला छैन । देशको कल्याण त परैको कुरा । अनि अर्को कुरा अब ख्याल गर्नु, गडबडी गर्नेको पनि कल्याण हुनेवाला छैन । यहाँ त यस्तोसम्म पनि सुनिन्छ, मन्त्रीले पैसा मागेको छ, दिनुपर्‍यो रे भनेर निगममा केही मान्छे आउँछन  रे । 

 नौ महिनादेखि मैले पेट्रोलियम पदार्थको विक्रेता नियमावली बनाऔ भनेर बारम्बार भनिरहेको छु । तर अहिलेसम्म बनेको छैन । बल्ल हिजोअस्ति राय सुझावको लागि सार्वजनिक गरियो रे । नौ महिनादेखि मन्त्रीले कराएको करायै छ, तर कसैले टेर्दैन, अब त्यसलाई मन्त्री भन्ने कि के भन्ने ?

तपाईँहरु आफै सोच्नुहोस परिवर्तन गर्न कति गाह्रो छ, आएदेखि मैले कराएको छु, तर एउटा विनियमावली पनि बनेको छैन । 


नेपाल आयल निगमले सहुलियत बाँड्दा हैरान भैसकेको रहेछ । ग्यासमा पूर्व राजा ज्ञानेन्द्रले पनि सहुलियत लिँदा रहेछन् । अहिलेका प्रधानमन्त्रीले त लिने भैहाले । पूर्वप्रधानमन्त्रीहरुले पनि सहुलियतको ग्यास नै लैजाँदा रहेछन् । निगमले धेरैलाई पेट्रोलियम सहुलियत दिने रहेछ । धन हुनेहरुले सहुलियत लिँदा त लाज मान्नुपर्ने हो ।कम्तीमा पूर्वराजा ज्ञानेन्द्रले भन्दिनुपर्थ्यो नि, म त यो सहुलियत लिन्न भनेर । पूर्व प्रधानमन्त्रीहरुले पनि भन्नुपर्थ्यो । मैले पनि भन्नुपर्थ्यो तर भनेको छैन खै । 

अनि २० रुपैयाँको एक कप चिया बेच्नेले पनि त्यही मूल्यमा ग्यास किन्नुपर्ने अनि १ सय रुपैयाँको एक कप बेच्नेले पनि त्यहि मूल्यमा ग्यास पाउने ? खै त सर्वसाधारणलाई सहुलियत ? 

अब नयाँ जीएम आउनुभएको छ, उहाँले एक्सन लिनुपर्छ । सहुलियत त जसको कम आम्दानी छ उस्ले पो पाउने हो तर हुनेहरुलाई सहुलियत किन दिने ? ठूलाबडा भएर पनि सहुलियत लिएको छ भने अब मिडियामा नाम सार्वजनिक गरिदिनुपर्छ । अनि बल्ल थाहा पाउँछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved