वाइडबडी प्रकरण : सरकारले बनाएको छानविन आयोग अलपत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2019 | 06:16:17 PM मा प्रकाशित

laxmi  sunrise bank

वाइडबडी विमान खरिद सम्बन्धमा उत्पन्न विवाद र आरोपहरूबारे जाँचबुझ गर्न बनेको समितिले अझै काम सुरु गर्न सकेको छैन। नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणको जाँचबुझ गर्न सरकारले गठन गरेको उच्चस्तरीय समितिका पदाधिकारीले निर्णय भएको १३ दिन भइसक्दा पनि निर्णयको ‍औपचारिक जानकारी समेत आफूहरूले नपाएको बताएका छन्।

४५ दिनभित्र छानबिन प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको समितिले यसकारण पनि आफ्नो काम सुरु गर्न नै सकेको छैन। यसअघि वाइडबडी विमान खरिद सम्बन्धमा अनुसन्धान गरेको संसद्को सार्वजनिक लेखा समितिले छानबिनका लागि पठाएको पत्र प्राप्त गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने छानबिन आरम्भ गरिएको जनाएको छ।

नेपाल वायुसेवा निगमका लागि खरिद गरिएका दुईवटा ठूला आकारका ,वाइडबडी, विमानको खरिद प्रक्रिया विवादीत बनेपछि सरकारले विमान खरिद सम्बन्धमा जाँचबुझ गर्न समिति गठन गर्ने निर्णय गरेको थियो। संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदसम्बन्धी आफूले तयार पारेको प्रतिवेदन सार्वजनिक गरे लगत्तै सरकारी समिति पनि गठन भएको थियो।

पूर्व मुख्यन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित सो उच्चस्तरीय समितिले हालसम्म काम थालेको छैन। अध्यक्ष पराजुलीले भने "अहिले सम्म हामीलाई बोलाइएको छैन। समाचारहरुबाट थाहा पाए बाहेक यसबारेमा थप केही पनि जानकारी छैन मलाई। हामीले अहिले सम्म शपथ पनि खाएका छैनौ। काम पनि सुरु भएको छैन।" समितिमा पूर्व नायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर्ड एकाउन्टेन्ट मदन शर्मा सदस्य छन्।

हाल झापामा रहेका सदस्य पाठकले आफू निर्मला पन्त हत्यासम्बन्धी छानबिन गर्नका लागि बनेको आयोगमा रहेको भन्दै सम्भवतः आफू समितिमा नबस्ने बताएका छन्। उनले भने "यसमा मेरो समस्या छ। म अर्को जाँचबुझ आयोगको अध्यक्ष छु त्यसले गर्दा म यो समितिमा रहँदिन की जस्तो छ।"सरकारले आफूले गठन गरेको आयोगको प्रतिवदेन आउन बाँकी रहेको भन्दै संसदीय समितिले निलम्बनका लागि सिफारिस गरेका पदाधिकारीलाई हालसम्म कार्वाही गरेको छैन।

संसदीय उपसमितिले वाइडबडी विमान खरिद गर्दा चार अर्ब ३५ करोड भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved