विद्यार्थी बेच्ने कारखानावालाले डा केसीलाई उचाले : योगेश भट्टराई

रासस

रासस

Jan 17, 2019 | 10:54:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले काठमाडौंमा विद्यार्थी बेच्ने कारखाना रहेको र त्यस्ता कारखानावालाले डा केसीलाई उचालेको आरोप लगाएका छन्।

बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त आरोप लगाएका हुन्।‘विदेशका मेडिकल कलेजमा कमिसन लिएर विद्यार्थी बेच्ने काम भइरहेको छ’, उनले भने, ‘त्यस्ता गिरोहले डा केसीलाई उचालेका छन्।’चिकित्सा शिक्षा विधेयकमा डा. केसीको ९९ प्रतिशत माग सम्बोधन गरिएकाले हठ त्यागेर अनशन तोड्न उनले आग्रह गरेका छन्।

‘चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना गर्ने कुरा डा. केसीकै माग हो’, २०६९ सालमा पहिलो पटक डा. केसी अनशन बसेको स्मरण गराउँदै उनले भने, ‘विसं २०७० पुस २७ गतेयता पटक–पटकको अनशनमा चिकित्सा शिक्षा विश्वविद्यालय स्थापनाको माग उहाँले गर्दै आउनुभएको छ।’ 

केसीले हठ त्यागेर अनशन तोड्नु पर्ने उनले बताए।उनले भने, ‘डा केसीसँग सरकारले छलफल र वार्ता गरेर ‘विन विन’को वातावरण सिर्जना गर्छ, सरकार लचिलो हुन्छ, अघि–पछि हट्छ, हठी हुँदैन।’डा केसीकै मागअनुसार जाने हो भने आगामी १५ वर्षसम्म मुलुकमा मेडिकल कलेज स्थापना गर्न नसकिने उनको भनाइ थियो।

चिकित्सा शिक्षा अध्ययनका लागि वार्षिक अर्बौं रुपैयाँ विदेशिने भएकाले त्यसलाई रोक्न जरूरी रहेको र चिकित्सा विधेयक पास भएपछि त्यस्तो अवस्थाको अन्त्य हुने उनले उल्लेख गरे। 

‘अहिले मापदण्ड नपुगेका मेडिकल कलेज पहुँचको भरमा चलिरहेका छन्, त्यस्ता कलेजको सम्बन्धन खारेज हुन्छ’, भट्टराईले भने, ‘चिकित्सा विधेयक पास भएपछि कुनै दलको नेता भएकै भरमा मेडिकल कलेज चल्दैन।’

मेडिकल कलेज सञ्चालनका लागि मापदण्ड पुगेको तीन सय शैय्याको अस्पताल तीन वर्ष चलेको हुनुपर्ने प्रावधान चिकित्सा विधेयकमा उल्लेख गरिएको समेत उनले जानकारी  दिए। 

विसं २०४८ मा काङ्ग्रेस नेतृत्वको सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा गरेको फोहोर वर्तमान सरकारले सफा गर्ने काम गरिरहेको नेता भट्टराईले उल्लेख गरे। ‘काङ्ग्रेसले स्वास्थ्य र शिक्षा क्षेत्रमा विकृति भएको भन्नुअघि आत्मालोचना गर्नुपर्छ’, उनले भने, ‘काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन।’काङ्ग्रेसले आफ्नो खस्किँदो राजनीतिक प्रभावलाई जोगाउन भुल्काहरुको सहारा लिइरहेको नेता भट्टराईको भनाइ छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved