गोबिन्द केसी प्रकरणमा प्रधानमन्त्रीको जवाफ: असन्तुष्टि साधारण हो, धेरै चिन्तित भइरहनुपर्दैन !

'स्विट्जरल्यान्ड गएको बैंक खाता हेर्न होइन'
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 26, 2019 | 11:59:13 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली स्विट्जरल्यान्डमा भएको आर्थिक दृष्टिकोणले विश्वशक्ति आर्जनको रस्साकस्सी चल्ने विश्व आर्थिक मञ्च (ओल्र्ड इकोनोमिक फोरम) अर्थात डावोसमा भाग लिएर ६ दिनपछि स्वदेश फर्किएका छन। दुई मन्त्री (परराष्ट्र र अर्थ) अनि दुई मन्त्रीस्तरका सल्लाहकार (राजनीतिक र परराष्ट्र) लाई लिएर स्विजरल्याण्ड गएका प्रधानमन्त्री ओलीको  'डावोस सहभागिता' व्यापक चर्चामा रह्यो। 

पाँच दशकदेखि प्रत्येक बर्ष हुने यस कार्यक्रममा स्विजरल्यान्डको जेनेभामा स्थायी नियोग खोलेर बसेका मुलुक निम्तालु हुन कहिल्यै छुट्दैनन।  यसअघिका सरकारले कूटनीतिक संयन्त्रका प्रतिनिधि, राजदूत, योजना आयोगका उपाध्यक्षलाई पठाउने गरेपनि नेपालको कार्यकारी प्रमुखको डाबोसमा सहभागिता यो नै पहिलो हो। 

विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय विश्वास आर्जन गर्ने चर्चित थलो ‘एलिटहरूको चिर्यस’ क्लब को रुपमा लिईने यस फोरममा प्रधानमन्त्रीको उपस्तिथीलाई केहिले आलोचना गरेपनि सरकार समर्थकले भने प्रधानमन्त्रीको उपस्तिथीलाई 'उपलब्धिमुलक' भनेका छन।

प्रधानमन्त्री ओली डाबोसमा सकृय रहँदैगर्दा नेपालमा ४ वटा महत्त्वपूर्ण घटना घटे। पहिलो प्रमुख प्रतिपक्षको असन्तुष्टिमाझनै चिकित्सा शिक्षा बिधेयक पास। दोस्रो- पश्चिमा राष्ट्रहरुले संयुक्त राष्ट्र संघको ब्यानरमा जारि गरेको संयुक्त वक्तव्य। तेस्रो -भेनेजुएलाको सन्दर्भमा नेकपा अध्यक्ष प्रचण्डले जारि गरेको वक्तब्य। चौथो-नेपाल लिक्स प्रकरण। 

स्वदेश फर्केका प्रधानमन्त्रीलाई नेपाली सेनाको टोलीले सलामी अर्पण गर्यो। प्रधानमन्त्रीलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतका नेताहरुका साथै नेकपाका कार्यकर्ताहरु समेत विमानस्थलमा देखिन्थे। तर नेकपा अध्यक्ष प्रचण्ड भने प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थलमा देखिएनन् । उनी भाइरल ज्वरोका कारण निवासमै आराम गरिरहेकाले विमानस्थल नआएका हुन् । प्रचण्डकी धर्मपत्नी सीता दाहाल सुमेरु अस्पतालको आइसीयुमा छिन।

पत्रकार सम्मेलन 

विमानस्थलमा प्रधानमन्त्री ओलीले बोल्नुपूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिखित प्रेस विज्ञप्ति पढेर डावोस भ्रमणका उपलब्धीबारे पत्रकारलाई जानकारी गराए। मन्त्री ज्ञवालीले बिज्ञप्ती पढेर सुनाएलगत्तै डाबोस भ्रमणसंग सम्बन्धित रहेर प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्न पत्रकारलाई समय छुट्याइयो। 

प्रश्न 'सेसन' सुरु भएको जानकारी पुरा हुन नपाउदै पत्रकार ऋषि धमलाले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे।   सम्माननीय प्रधानमन्त्री ज्यू, तपाईं स्वीटजरल्याण्ड जानु भयो तर नेपालको राजनीति बिग्रिरहेको छ ? तपाईं विदेशमा हुँदा गोविन्द केसीसंग तपाइँले गरेको सहमति बिपरित चिकित्सा शिक्षा विधेयक पारित भएको छ, केसीले तपाईंको राजीनामा मागिसक्नु भएको छ, र, काँग्रेसले अब सडकदेखि सदनसम्म आन्दोलन गर्ने घोषणा गरिसकेको अवस्थामा के हुन्छ अब, ठ्याक्कै बताइदिनुस् जनता जान्न चाहन्छन्।

प्रधानमन्त्री ओलीले तत्कालै प्रश्नको उत्तर दिएनन, बरु उनले थप प्रश्नको लागि अनुरोध गरे। त्यसपछि अर्का एक पत्रकारले सोधे, 'स्वीट्जरल्याण्डमा रहँदाखेरि सेपीङ द फ्युचर अफ डेमोक्रेसीको सत्रमा सम्बोधनमा तपाईंले अंगिकार गर्नु भएको सुरक्षा र संचार नीतिका विषयमा केही अन्तर्राष्ट्रिय जगतले प्रश्न उठाएका छन ?

त्यसपछि अर्को प्रश्नपनि प्रधानमन्त्रीलाई सोधियो भर्खरै सार्वजनिक भएको नेपाललिकसंग जोडिएको बिषय, नेपालको लागि नयाँ कुरा के के ल्याउनु भएको छ र स्वीस बैंकमा नेपाली ५५ जनाले इलिगल पैसा राखेका छन्, त्यसका बारेमा के के कुरा भयो ?

त्यसपछिपनि प्रधानमन्त्रीले थप प्रश्न भए सोध्न भने तर अरु केहि प्रश्न नआएपछि उनले जवाफ दिन सुरु गरे। 

प्रेस स्वतन्त्रताको कुरा

एउटा त मैले डावोसमा सेपीङ द फ्युचर अफ डेमोक्रेसी अर्थात लोकतन्त्रको भविष्य त्यसलाई कस्तो आकारमा लाने भन्ने कुराको सन्दर्भमा जुन विचारहरु राखें त्यस सम्बन्धमा मैले विचार राख्नु भन्दा अगाडि वास्तविकता थाहा नपाएर गलत सुचना वा प्रचारको प्रभावको आधारमा अलिकति स्पस्ट हुन खोजेको हुनसक्छ ।  

मैले स्पस्ट पारिसकेपछि त्यसमा कुनै प्रकारको अन्यथा बुझाइ रहने सम्भावना नै थिएन् । मैले लोकतन्त्रलाई राजनीतिक, आर्थिक र सामाजिक सबै क्षेत्रमा जनतालाई अधिकार सम्पन्न बनाउनु पर्दछ, निर्वाचन मार्फत जनताले आफ्ना प्रतिनिधि स्वच्छ निर्वाध ढंगले छान्ने प्रणालीलाई लोकतान्त्रिक प्रणाली भनिन्छ । तर लोकतान्त्रिक प्रणाली त्यतिमा मात्रै सिमित हुदैन् । आ–आफ्ना प्रतिनिधि छान्ने, सार्वभौमसत्ता सम्पन्न जनताको सार्वभौम अधिकारको सिमितता होइन्, व्यापकता हुन्छ, सार्वभौमिकता हुन्छ । सार्वभौम जनता भनेको भोट दिने अधिकार राख्ने सार्वभौम जनता मात्रै होइन । सम्पूर्ण अधिकार, अवसर, सुरक्षा, सम्मानको उत्तिकै हकदार हुन्छ र सार्वभौमसत्ता सम्पन्न हुन्छ । 

प्रेसको सम्बन्धमा मैले प्रेस स्वतन्त्रताको कुरा गरे । प्रेस एउटा सम्मानित क्षेत्र हो, जनतालाई सुसुचित गर्ने, शिक्षित गर्ने यस्तो क्षेत्र हो र यस क्षेत्र माथि कुनै प्रकारको थिचोमिचो, अधिकारको कटौती वा बन्देज हुनु हुदैन भन्ने कुरा राखें । र, प्रेस अत्यन्त महत्वपूर्ण कुरा भएको हुनाले प्रेसले त्यही महत्वका साथ जिम्मेवार भूमिका, अरुको अधिकारको सम्मान, सम्मानको पनि सम्मान, अरुका हितहरु प्रति अनुचित ढंगले गलत सुचना दिएर दु्ष्प्रभावित नगर्ने, व्यक्ति, परिवार वा समाजलाई गलत सुचनाबाट हानी नपार्ने, जसलाई एउटा पीत पत्रकारिता भन्ने गरेका छन् । त्यस्तो पीत पत्रकारिता नगर्ने, मर्यादित त्यस्तो प्रेस, त्यस्तो मिडिया आवश्यक हुन्छ भन्ने कुरामा कसैको दुईमत रहनु पर्ने न कुनै ठाउँ छ, न त्यहाँ महत्व घटाइएको छ, न स्वाधीनता, स्वतन्त्रता त्यस्ता कुरालाई सिमित वा नियन्त्रण गर्ने कुरा गरिएको छ । त्यसकारण कुनै त्यसमा भ्रम पर्ने कुरा छैन् । 

अर्को यताका कुराहरु भर्खर भर्खर म आज आइपुग्दै छु । यताका कुराहरु मैले अलिक राम्ररी बुझ्नु पनि पर्छ । संवाद गर्नु, संवादबाट समस्याका समाधान गर्नु र तर्क तथ्यमा आधारित हुनु र आवेश उत्तेजनाबाट होइन देशको हितलाई सर्वोपरी राखेर, संविधान, कानुन र संस्थाहरुका मर्यादाहरुलाई सर्वोपरी राखेर । संविधान भन्दा माथि, कानुन भन्दा माथि कोही हुदैनन् । कानुनका नजरमा सबै बराबर छन् र संस्थाहरुको हामीले मर्यादा गर्न सिक्नु पर्दछ भन्ने कुरा छदैछ । र, अरु थप मैले अहिले भन्नु पर्ने जस्तो लाग्दैन् । 

स्वीटजरल्याण्ड गएको बैंकका खाताहरु हेर्न होइन

अर्को म स्वीटजरल्याण्ड गएको बैंकका खाताहरु हेर्न गएको थिइन । म स्वीटजरल्याण्ड गएको डाभोसमा अन्तर्राष्ट्रिय आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन गएको थिए । यी हल्लाहरुको सम्बन्धमा कति सही ढंगले, कति गलत ढंगले, कति के कारणले उठाइएका छन् । त्यसमा सत्यता कति छ, त्यो समयक्रममा अगाडि आउँछ त्यो । सरकारले संचार माध्यममा आएका कुराहरुको जानकारी लिएको छ ।

डाभोसबाट कुनै फाइदा लिन गएको होइन

तत्काल डाभोसबाट कुनै फाइदा लिन, कुनै सन्धि सम्झौता गर्नका लागि संसारको कुनै डेलिगेसन पनि गएको हुदैन । त्यहाँ आजका राजनीतिक प्रवृत्तिहरु, आजका आर्थिक प्रवृत्तिहरु, आजका विभिन्न प्रकारका समस्याहरुको सम्बन्धमा छलफल गर्ने, दुनियाँ कहाँ छ, कस्तो अवस्थामा छ, हाम्रा हिजोका नीतिहरु वा निर्णयहरु वा तरिकाहरुको सफलता कति मिल्यो  तिनीहरुबाट  र अब भविष्यमा हामीहरुले कसरी अगाडि बढ्नु पर्छ ? दुनियाँ कसरी अगाडि जानुपर्छ भन्ने सम्बन्धमा विचार विमर्श गर्ने त्यो थलो हो । त्यसै प्रसङ्गमा हामीले विभिन्न व्यक्तित्वहरु संग भेट्यौं, छलफल गरेको कुरा त परराष्ट्र मन्त्रीजीले राखी सक्नु भयो । त्यस बाहेक दक्षिण एशियाको अवस्था खुद नेपालको अवस्था दक्षिण एशिया सम्बन्धी हाम्रा दृष्टिकोणहरु, हाम्रा अपेक्षाहरु र हामी कसरी अगाडि बढ्छौ भन्ने संकल्प । त्यसैगरी लोकतन्त्रलाई कसरी बुझ्नुपर्छ अबको समयमा, लोकतन्त्र भनेको शक्तिको प्रर्दशन वा शक्तिको संचय र त्यसको प्रयोग हो कि ? लोकतन्त्र भनेको जनताका सार्वभौमसत्ता र जनताका लागि गरिने काम हुन् । त्यसलाई कसरी बुझ्ने, भन्ने विषय र अबको लोकतन्त्र कस्तो हुनुपर्छ भन्ने विषय देखि अबको अर्थतन्त्र । चौथो औधोगिक क्रान्ति र अबको विश्वव्यापार र विश्वव्यापारमा देखा परेका प्रवृत्तिहरु । तिनीहरुको सम्बन्धमा अब कसरी अगाडि बढ्नुपर्छ ? आदि विषयहरुमा गहन छलफल भएका छन् र हामीले ती विषयहरुमा आफ्ना दृष्टिकोणहरु प्रस्तुत गरेका छौ । जुन दृष्टिकोणहरु महत्वपूर्ण छन् । सही छन् । यति भने पुग्छ 

प्रधानमन्त्रीले ‘यति भने पुग्छ होला’ भनेर बिट मार्नै लाग्दा पत्रकारले भेनेजुएलासम्बन्धी प्रचण्डको विज्ञप्तिबारे प्रश्न सोधे, नेपाल कम्युनिष्ट पार्टीका को-पाइलट पुष्पकमल दाहालले भेनेजुएलाको विषय र अमेरिकाको भूमिकाको विषयमा असन्तुष्टि जनाउँदै विज्ञप्ति जारी गर्नुभएको छ । यसमा सरकारको भनाइ के हो ? यहाँलाई त्यो अवगत छ कि छैन ? छ भने यहाँको टिप्पणी के हो ?’ 

प्रचण्डको बिज्ञप्ती, भट्टराई लडेर घाइते भएजस्तै! 

मैले सुनेको छु अलिकति तर म भर्खर मात्र आएको छु । नेपाल कस्तो देश हो भने एक पल्ट कोही भट्टराई लडेर घाइते हुनु भएछ, भट्टराई लडेर घाइते भनेपछि त्यस बेला कृष्ण प्रसाद भट्टराईजी प्रधानमन्त्री हुनुहुन्थ्यो । भट्टराई भन्ने वित्तिकै उहाँलाई बुझिने अवस्था, अब भट्टराई लडेर घाइते भनेपछि धुमधाम भयो, हामी पनि चिन्तित भयौ । के भएछ भनेर बुझ्नु त प¥योे, हतार हतार बुझ्दाखेरि त भट्टराई जीलाई त केही पनि थाहा छैन , भट्टराई त भट्टराई अर्कै भट्टराई पो हुनुहुदो रहेछ ।  तर संकेत के त्यस्तो हुन्छ ।  त्यस कारण अब मिडियामा अस्ति मेरो फोटो समेतको  जीप दुर्घटनामा संखुवासभामा निधन भन्ने तपाईंले पढ्नु भएको होला । यस्ता देशमा राम्ररी नबुझिकन, नपढिकन प्रतिक्रिया दिनु वाञ्छनीय होला जस्तो मलाई लाग्दैन् ।

गोबिन्दकेसीको अनसन र मागबारे पटक पटक सोधिएको प्रश्नबारे जवाफ नआएपछि प्रधानमन्त्री ओलीलाई पत्रकारले फेरी सोधे,गोविन्द केसीको बारेमा प्रतिक्रिया आएन नि ? वहाँले त राजीनामा मागिसक्नु भएको छ । विधेयकमा सबै कुरा समेटिएको छ, पास भयो नि, त्यसमा तपाईंको सहमति छ कि छैन् ?

उक्त प्रश्न सकिन नपाउदै प्रश्नमा थप प्रश्न थपियो, तपाईं नै संलग्न भएको, तपाईंको नेतृत्वले त्यतिबेला सम्झौता गरेको थियो । अहिले हामीले त्यो किन एक्सपेक्ट गरिराखेका छौ भने अहिले सिचुएसन संसददेखि सडकसम्म । त्यसले गर्दा मुडमेडको स्थिती सिर्जना हुने पनि संम्भावना छ । त्यसैले हामी उत्तरको अपेक्षा गछौं ।

केसी प्रकरणमा चिन्तित हुनुपर्दैन

यसमा धेरै चिन्तित भइरहनु पर्दैन् । कुनै पनि चिजको प्रक्रिया हुन्छ । सरकारले गर्ने कामको पनि प्रक्रिया हुन्छ, अरुको पनि प्रक्रिया हुन्छ । तपाईंहरुले जस्तो एउटा चिन्ता जाहेर गरिराख्नु भएको छ नि, त्यो चिन्ता जाहेर गरिरहनु पर्ने स्थिती छैन् । यत्रो देशमा तीन करोड मान्छे भएका ठाउँमा केही मानिसहरुमा असन्तुष्टिहरु अलिअलि हुन सक्छन्, केही चित्त नबुझेको हुन सक्छ । यस्तै कुराहरुलाई केही हामीले उधुम अब के के न असन्तुष्ट भयो, अब लोकतन्त्रमा पक्ष–विपक्ष, अलिकति मतमतान्तर जस्ता कुराहरु साधारण हुन् । त्यसलाई त्यस्तै ढंगले, ठिकै ढंगले बुझ्न पर्छ भन्ने मलाई लाग्छ । म साथीहरुलाई धन्यवाद भन्न चाहन्छु धन्यवाद !



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved