'............तर, निर्मलालाई राम्रोसँग चिन्दिन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2019 | 05:33:23 PM मा प्रकाशित

laxmi  sunrise bank

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार हत्या काण्डमा आफूहरुको कुनै संलग्नता नरहेको बम दिदिबहिनीले स्पष्ट पारेका छन् । उनीहरुले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरु जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताए । सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूलाई मानव अधिकारकर्मी भन्नेहरुले चरित्र हत्या गर्नेगरि स्थलगत अध्ययन तथा अनुशन्धान नै नगरी गलत प्रतिवेदन बाहिर ल्याएको पनि आरोप लगाए । निर्मलाकी साथीसमेत रहेकी रोशनी बमले भनिन्,‘निर्मला मेरी साथी हुन् । यो प्रकरणमा मिडियाले पनि सत्य कुरा बाहिर ल्याउनुपर्छ ।’

प्रहरी अनुशन्धानले आफूहरुलाई दोषी सावित गरि नसकेको अवस्थामा असोज महिनातिर नेपाल मानव अधिकार संगठनको नामबाट चरित्र हत्या गर्नेगरि र आफूहरुलाई उक्त हत्याको मतियार भन्दै प्रतिवेदन बाहिर ल्याएको भन्दै उनले कडा आक्रोश पोखिन् ।

उनले भनिन्,‘नेपाल मानव अधिकार संगठनको नामबाट हाम्रो चरित्रहत्या गर्नेगरि र हामीलाई त्यस हत्याको मतियार भन्दै उक्त संगठनका अध्यक्ष ईन्द्र प्रसाद अर्याल, संस्थाका महासचिव महामुनीश्वर आचार्य र कञ्चनपुर जिल्ला अध्यक्ष त्रिभुवन भट्टले प्रतिवेदन सार्वजनिक गरे।’

अर्यालले आफूहरुसँग एक वचन पनि नसोधेको उनले जिकिर गरिन् । उनले भनिन्,‘न हामीलाई भेटे, न हाम्रा छिमेकीहरुलाई नै सोधे यसलाई कसरी प्रमाणित गर्छन् ? मेरी दिदी अहिलेसम्म त्यो होटेलमा गए नगएको उनीहरुले बुझ्न समेत चाहेनन् ।’ आफ्नो प्रतिवेदनमा दावी गरेको कुरालाई सार्वजनिक रुपमा पुष्टि गर्नु पर्ने नेपाल मानव अधिकार संगठन र यसका पदाधिकारी इन्द्र अर्याल, महामुनिश्वर आचार्य र त्रिभुवन भट्टको दायित्व रहेको उनको भनाई छ ।

रोशनीले भनिन्,‘उनीहरुको प्रतिवेदन सार्वजनिक भएपछि हामी वहिष्कृत, अपमानित र नारकीय सामाजिक जीवन विताउन वाध्य भएका छौं । हाम्रो पढाई छुटेको छ, सामाजिक वेइज्जति भएको छ । आफन्त र विद्यालयका साथीहरुले हामीलाई अपराधी र अनैतिक चरित्रका मानिसका रुपमा हेर्ने गर्न थालेको छन। उक्त झुटो प्रतिवदेनले गर्दा हाम्रो व्यक्तिगत जीवनमा पारेको क्षतिको क्षतिपूर्ति हुनुपर्छ । उनीहरुको प्रतिवेदनले गर्दा हामीमाथी परेको शारिरिक, मानसिक र सामाजिक क्षतिको क्षति पूर्ति दिलाइ दिन आम सञ्चार माध्यम, पत्रकार दाजुदिदी, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी र बालअधिकारकर्मीहरु समक्ष हार्दीक अनुरोध गर्दछु ।’

पत्रकार सम्मेलनको सुरुमै उनले आफूहरु घट्नाक्रम बताउनको लागि नभएर आफ्नो कुरा राख्नको लागि आएको स्पष्ट पारेकी थिईन् । उनले भनिन्,‘ईन्द्र अर्यालले काठमाडौैंको एक घरको कुनामा बसेर प्रतिवेदन लेखेका हुन् । फेस–टु–फेस कुरा गर्न हामीले आज उनलाई यही पत्रकार सम्मेलनमा बोलाएका थियौं । तर, उनी आएनन् । यदि उनी सत्य थिए भने उनी आउनुपर्दथ्यो । एकोहोरो प्रतिवेदन बनाउने काम भयो । अर्याल सही छन भने प्रमाण दिनुपर्यो ।’

पत्रकारले उक्त दिन निर्मला तपाईको घरमा आउँदा के–के कुरा भयो ? त्यो दिनको बारेमा केही बताईदिनुहोस भनेर सोधेपछि रोशनीले भनिन्,‘त्यो दिन निर्मला मेरो घरमा आएकी थिई । होमवर्क गरेर फर्किएकी थिई । उ आउँदा हातमा ग्रिज लागेको थियो । सावुन पानीले धो भनें । अनि हामीबीच पढाईसम्बन्धी कुरा भयो ।’

प्रहरीले अनुसन्धानका लागि भन्दै आफूहरुलाई दुईपटक पक्राउ गरेको सुनाउँदै उनले थपिन्,‘म ७ दिन र दिदी २० दिन हिरासतमा बस्यौं । प्रहरीले हामीमाथि अनेक तरहले अनुसन्धान गर्यो । कतिपय बेला आरोप स्वीकार गर्न शारीरिक र मानसिक यातना समेत दियो ।’

प्रहरीले आफूहरुको मोवाइलको कल डिटेलपनि चेक गरेको र एक महिनासम्म दिदीको मोवाइल प्रहरीको नियन्त्रणमै राखेको तर, कुनैपनि कोणबाट घटनामा आफूहरुको संलग्नता पुष्टि नभएपछि प्रहरीले छोडेको उनले स्पष्ट पारिन् । तर, प्रहरीले घट्नामा आफूहरुको संलग्नता पुष्टि हुने कुनै तथ्य फेला नपरेको भन्दै छोडे पनि समाज, राष्ट्रिय मिडिया र सामाजिक सञ्जालले आफूहरुलाई अपराधीको रुपमा चित्रित गर्न नछोडेको उनको गुनासो छ । अनुशन्धानको लागि काठमाडौंबाट अहिलेसम्म प्रहरीको ७ टोली कञ्चनपुर गैसकेको सुनाउँदै उनले आफूहरु दोषी भएको भए प्रहरीले किन प्रमाणित नगरेको त भन्दै प्रश्न गरिन् ।

कार्यक्रममा दिदी बबिता बमले आफूहरु दोषी प्रमाणित भए जेल जान तयार रहेको बताईन् । उनले थपिन्,‘दोषी को हो भनेर राज्यले छानबिन गर्ने हो । यो सरकारको काम हो । ईन्द्रप्रसाद अर्यालले आफ्नो प्रतिवेदनमा लेखेका सबै कुरा झुटो छन् । उनले झुटो कुरा लेखेर हाम्रो बद्नाम गरे । एउटा कुरा पनि सत्य छैन । यदि उनले लेखेको कुरा प्रमाणित भए हामी जेल जान तयार छौं ।’

बिना आधार र प्रमाण, र सत्य तथ्य नबुझी एकपक्षीय रुपमा आफूहरुको चरित्र हत्या गर्ने प्रतिवेदन ल्याएको नेपाल मानव अधिकार संगठनविरुद्ध अदालत जाने समेत उनले चेतावनी दिईन् । साँचो कुरा के हो ? त भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्,‘कञ्चनपुरमा गएर सोध्नुहोस । छरछिमेकलाई थाहा हुन्छ ।’ आफूले निर्मला पन्तलाई राम्रोसँग नचिनेको पनि उनले स्पष्ट पारिन् । उनले भनिन्,‘निर्मला हाम्रो घरमा एक/दुई चोटी आएकी हुन् । तर, म राम्रोसँग चिन्दिन् ।’

त्यस्तै कार्यक्रममा रोशनी र बबिताकी आमा ईन्द्रा बमले यो प्रकरणमा आफ्ना छोरीहरुको नाम मुछेर चरित्र हत्या गर्ने काम भएको गुनासो पोखिन् । उनले भनिन्,‘निर्मला पनि मेरी छोरी हुन् । उनले न्याय पाउनुपर्छ । दोषी पत्ता लगाउनुपर्छ ।’

कार्यक्रममा सामाजिक अभियन्ता सावित्री सुवेदीले बम दिदिबहीनीहरुलाई मानव अधिकारवादीहरुले यो प्रकरणमा मुछेर चरित्र हत्या गर्न खोजेको भन्दै सत्य, तथ्य छानबिन गर्नुपर्ने माग गरिन् । उनले भनिन्,‘मानव अधिकारकर्मीहरुले जिउँदा निर्मला बम दिदि बहिनीलाई न्याय दिनुपर्छ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved