नेकपा सरकारको कामगराइले लगानीकर्ता आतंकित भए: पुर्वअर्थमन्त्री महत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2019 | 08:16:19 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले देशको अवस्था नै नसुधारिकन खाली भाषण र विदेश भ्रमणले मात्रै लगानी आकर्षण नहुने बताएका छन। 

नेपालमा पछिल्लो समय लगानीकर्ताहरु आतंकित भएको अवस्था भएको आरोप लगाउदै महतले भने,‘लगानी गर्छु भन्ने मान्छेहरु पनि अहिले हच्किएका छन्, लगानी गरेकाहरुपनि उद्योग नै बन्द गर्नुपर्ने हो कि भन्ने अवस्थामा पुगेका छन् ।’

महतले मुलुकमा वैदेशि लगानी भित्र्याउनको लागि आकर्षणको वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘लगानी ल्याउनको लागि देशको स्थिति सुधार्नुपर्छ ।’ उनले सरकारले समयमै र सही ढंगले निर्णय गर्नुपर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिए । उनले भने,‘यसको लागि व्युरोक्रेसीलाई ईफिसेन्ट बनाउनुपर्छ ।’ 

सरकारले लगानी सम्मेलन गर्न लागेको विषयमा टिप्पणी गर्दै उनले भने,‘अढाई वर्ष अघि प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो , नविन्द्रराज जोशी उद्योगमन्त्री हुनुहुन्थ्यो, त्यतिवेला कि–नोट नै मैले सम्बोधन गरेको थिएँ, त्यतिवेला १४ मिलियन डलरको लगानी गर्छौं भनेर प्रतिबद्धता आएको थियो, लगानीकर्ताहरुले एम.ओ.यूमा हस्ताक्षर गरेर गए, सरकारले त्यतिवेला प्रतिबद्धता गरेका लगानीकर्ताहरुसँग फलो–अप गर्नुपर्छ, उनीहरु किन आएनन् भनेर सोध्नुपर्छ’

उनले प्रधानमन्त्री डाबोस जानू अत्यन्तै राम्रो कुरा भएपनि देशको अवस्था नै नसुधारिकन खाली भाषणमात्रै गरेर देश तथा विदेश घुमेरमात्रै अथवा लगानी सम्मेलन गरेरमात्रै लगानी आकर्षित हुने कुरो होईन। 

उनले पछिल्लो समय महँगीको चरम सिमा नाघेको र जताततै भ्रष्टाचार बढेको पनि आरोप लगाए । उनले भने,‘हजारौं विकास निर्माणका आयोजनाहरु बेवारिसे भएका छन् । बुहवर्षमा ठेक्का लागिसकेका आयोजनाहरु बेवारिसे भएका छन् । केन्द्रले सुरु गरेका योजनाहरु केन्द्रले नै सम्पन्न गर्नुपर्दथ्यो । होईन भने प्रदेशलाई हस्तान्तरण गर्नुपर्छ । त्यसको लागि आवश्यक बजेटको पनि व्यवस्था गरिनुपर्छ । तर, त्यो केही पनि गरिएको छैन् ।’

त्यस्तै उनले वार्डडबडी भ्रष्टाचार काण्डबारे पनि निश्पक्ष छानबिन हुनुपर्ने माग गरे । उनले भने,‘यसमा दोष कसको छ ? के छ ? भन्ने कुरा संसदीय समितिले बाहिर ल्याएको छ । यो रिपोर्टबारे निश्पक्ष तवरले छानबिन गर्नुपर्यो । अन्त्यमा त अदालत जान्छ ।  यसमा अविलम्ब निश्पक्ष तवरले छानबिन होस् । हामी यो अडानमा पछि परेका छैनौं ।’

वर्तमान लगानी बढाउँछु र दश वर्षभित्र मध्यम आय भएका राष्ट्र बनाउने र अर्थव्यवस्थालाई पर क्यापिटा ईन्कम दश हजार डलर पुर्याउनेजस्ता सरकारले अनेक अनेक हावादारी लक्ष्यहरु घोषणा गरिरहेको पनि उनले गम्भिर आरोप लगाए। 

उनले ईकोनोमिक फ्रन्टमापनि सरकार असफल भएको दाबी गरे । महतले थपे,‘खाली चाहीँ आकाशे कुरा, वायुपंखी घोडा चढ्नेमात्रै कुरो, हावादारी कुरामात्रै गरेर हुँदैन् । आफ्ना आचरण, व्यवहार, सही नीति र कार्यान्वयन कसरी भएको छ ? त्यसरी चाहीँ देशलाई अगाडि बढाउन सकिन्छ । हामी अहिले एउटा चूनौतिपूर्ण अवस्थामा छौं ।’

सरकार अहिले राजनीतिक स्वार्थलाई सर्वोपरि अघि बढेको आरोप लगाउँदै उनले यो स्थितिबाट सरकार मुक्त हुनुपर्ने सुझाव दिए । महतले भने,‘देश निर्माणमा सरकारले सबैलाई मोटिभेट गर्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने आजको आवश्यकत्ता हो ।’ विदेश नीतिबारे पनि नेपालले गलत कुरालाई गलत र सही कुरालाई सही भनेर आत्मविश्वासका साथ भन्न सक्नुपर्ने धारणा राखे । उनले भने,‘यस्ता कुराहरुमा निर्णय गर्दा विपक्षी दलहरुसँगपनि परामर्श गर्नुपर्यो ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved